बिहीबार २९ साउन, २०८२
Thursday, August 14, 2025

इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु

रोम- बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा एक डुंगा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर ) ले जनाएको छ ।

यो दर्दनाक घटना भूमध्यसागरको केन्द्रीय मार्गमा भएको हो, जहाँ विशेष गरी गर्मी याममा यूरोप पुग्ने आशामा धेरै आप्रवासीहरू अत्यधिक भीड भएका वा जीर्ण डुंगामा यात्रा गर्ने गर्छन् ।

यूएनएचसीआरका प्रवक्ता फिलिपो उङ्गारोले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने ,“लाम्पेदुसा नजिक फेरि एकपटक यस्तो पीडादायक दुर्घटना भएको छ । हालसम्म २० शव फेला परिसकेको र झण्डै यति नै संख्यामा मानिसहरू अझै हराइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।” 

इटालीका गृहमन्त्री मातेओ पियान्तेदोसीले पनि यो घटना पुष्टि गर्दै उक्त डुंगा लाम्पेदुसाबाट १४ नौटिकल माइल टाढा दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

प्राप्त विवरणअनुसार, उक्त डुंगामा जम्मा ९७ जना आप्रवासी सवार थिए ।

इटालीको समाचार संस्था अन्साले जनाएअनुसार, मृतकमध्ये एक नवजात शिशु, तीन बालबालिका, दुई महिला र दुई पुरुष रहेका छन्, जसको शवलाई लाम्पेदुसा स्थित शवगृहमा लगिएको छ ।

उद्धार भएकाहरूका अनुसार, मंगलबार साँझ लिबियाको त्रिपोलीबाट दुईवटा डुंगा प्रस्थान गरेका थिए । तीमध्ये एक डुंगा डुब्न थालेपछि त्यसमा रहेका केही यात्रुहरू अर्को डुंगामा सरेका थिए । अत्यधिक भारका कारण त्यो डुंगा पनि डुब्न थालेको हो ।

लाम्पेदुसास्थित आप्रवासी आश्रय केन्द्रकी सह–निर्देशक क्रिस्टिना पाल्माका अनुसार, हालसम्म ६० जना जीवित उद्धार गरिएकालाई सो केन्द्रमा लगिएको छ ।

सम्बन्धित अधिकारीहरूका अनुसार, समुद्रमा आप्रवासीहरू सङ्कटमा परेका देखेर इटालीको अर्थसम्बन्धी सुरक्षानिकायको विमानले उद्धारको सूचना दिएको थियो ।

यूएनएचसीआरले दिएको जानकारीअनुसार, चालु वर्षको आरम्भदेखि हालसम्म भूमध्यसागरको केन्द्रीय मार्गमा ६७५ जना आप्रवासीले ज्यान गुमाइसकेका छन् ।

इटालीको गृहमन्त्रालयका अनुसार, यस वर्ष अहिलेसम्म ३८ हजारभन्दा बढी आप्रवासी इटालीको समुद्री किनारमा पुगेका छन् ।

गृहमन्त्री पियान्तेदोसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै भने,“यस्ता जोखिमपूर्ण समुद्री यात्राहरूलाई प्रस्थानस्थलमै रोक्न आवश्यक छ, साथै मानव तस्करीमा संलग्न निर्दयी समूहहरूको विरुद्धमा कडा कारबाही गर्नुपर्छ ।”

प्रधानमन्त्री श्रीमती जियोर्जिया मेलोनी नेतृत्वको सरकारद्वारा उत्तर अफ्रिकी मुलुकहरूसँग सहकार्य गरी आप्रवासन नियन्त्रणका लागि सहयोगस्वरूप तालीम तथा आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ । (एएफपी)