बिहीबार २९ साउन, २०८२
Thursday, August 14, 2025

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो

जलेश्वर(महोत्तरी)- महोत्तरीमा यस वर्ष ढिलो गरी धान रोपाइँ सुरु भए पनि किसानले धमाधम रोपाइँ गरेपछि अहिले जिल्लाको ७० प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ ।

साउनको दोस्रो साता (साउन १५) बितिसक्दा पनि जिल्लामा पानी नपर्दा रोपाई सुरु नभई खडेरीको अवस्था सिर्जना भइसकेको अवस्थामा एक्कासी ३/४ दिनसम्म लगातार पानी परेपछि किसानले रोपाइँ सुरु गरेकामा अहिले जिल्लामा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले बताए । 

जिल्लामा लामो समयसम्म पानी नपर्दा धान रोपाइँ गर्न नपाएका किसानहरु चिन्चित भइरहेको अवस्थामा प्रधानमन्त्री केपीशर्मा ओलीले गत साउन ९ गते जिल्लाको मटिहानी नगरपालिकामा पुल उद्घाटन र प्रसुति गृह उद्घाटन गर्न आउनुभएका बेला यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा र तत्काल ५०० डीप बोर्डिङ्ग जडानका लागि सम्बन्धित निकायलाई आदेश दिएर गएका थिए ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको खडेरीको अवस्थालाई हेलिकप्टरबाट निरीक्षणसमेत गरेर गएको एक सातापछि नै जिल्लामा पानी पर्न सुरु भएको थियो भने त्यसपछि यहाँका किसानले ढिलै भए पनि रोपाइँ सुरु गरेका थिए ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा रहेकामा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यस वर्ष ४० हजार हेक्टर जग्गामा धानखेती हुने अनुमान गरिएको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख रायका अनुसार जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानहरुले मोटर, डिजेल पम्प, नदीनाला, ईनार, कुवा र स्यालो ट्युबेलको सहयोगमा यसअघि धेरैथोरै रोपाइँ गरे पनि जिल्लाभरि साउन १५ पछि पानी पर्दा मात्रै रोपाइँ भएको थियो ।

कार्यालय प्रमुख रायले साउन १५ गतेसम्म पनि जिल्लामा पानी नपर्दा किसानले खेतमा लगाएको धानका बेर्ना बुढो भइसकेको अवस्थामा एक्कासी जिल्लामा ३/४ दिनसम्म परेको पानीले यहाँका किसानहरुका लागि वरदान सावित भएको थियो र किसानले धमाधम रोपाइँ गरेर अहिले ७० प्रतिशत जग्गामा धानबाली लगाइसकेको बताए । जिल्लाका विभिन्न पालिकाका विभिन्न गाउँ टोलमा अझै पनि धान रोपाइँ जारी रहेकाले यो प्रतिशत अझै बढेर जाने कार्यालय उनले बताए ।

उहाँले  यहाँका किसानहरुले भदैया, हर्दिनाथ, मुसलिम, कतरनी, बासमती जातका धानले खेत रोपाइँ गरेको बताए । गत वर्ष समयमा पानी पर्दा जिल्लाको कुल ४२ हजार ५०० हेक्टर जग्गामा धानखेती गरिएकामा एक लाख ५० हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष समयमा पानी नपर्दा धान उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।