शनिबार ३१ साउन, २०८२
Saturday, August 16, 2025

एसएसपी अधिकारी पशुपतिनाथ सफाइ अभियानमा सहभागी

काठमाडौँ- पशुपतिनाथ मन्दिर क्षेत्रको सरसफाइ, फोहोर व्यवस्थापन तथा हरियाली प्रवर्द्धनको उद्देश्यसहित सुरु गरिएको दिव्य पशुपतिनाथ सफाइ अभियान अन्तर्गत शनिबार ठूलो संख्यामा प्रहरी, स्वयंसेवक र सामाजिक अभियन्ताहरू सहभागी भई सफाइ कार्य सम्पन्न भएको छ।

क्लाइमेट स्मार्ट सिटिजसँगको सहकार्यमा मैना देवी फाउन्डेसनद्वारा आयोजना गरिएको उक्त सरसफाइ कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारी स्वयं सहभागिता जनाउँदै सयौँ संख्यामा नेपाल प्रहरी परिचालित भएको हो।

अभियन्ता केपी खनालका अनुसार बिहानैदेखि सुरु भएको सरसफाइ अभियानमा नेपाल प्रहरी, मैना देवी फाउन्डेसन, क्रेसन नेपाल लगायत संस्थाहरूका सयौँ स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो

‘पशुपतिनाथजस्तो पवित्र धार्मिक क्षेत्रलाई स्वच्छ, हरित र दिव्य बनाउन यस्तो अभियान आवश्यक छ, र यसमा सबैको सहकार्य अझ जरुरी हुन्छ’ अभियन्ता खनालले भने । 

सफाइ अभियानको क्रममा ४५० केजी भन्दा बढी फोहोर संकलन गरिएको बताइएको छ ।