आइतबार ०१ भदौ, २०८२
Sunday, August 17, 2025

विद्यार्थीलाई आत्मनिर्भरता र जीवनोपयोगी सीप सिकाउँदै नेसनल ओपन स्काउट

 काठमाडौँ- नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको आठौँ फ्रेण्डसिप लन्च हाइक उत्साहपूर्वक सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकास्थित दिव्यश्री एकेडेमी, महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालय, कान्ति भैरव मा.वि. र ओरिएन्टल एकेडेमीमा अध्ययनरत स्काउटका विद्यार्थीहरूको सहभागितामा भक्तपुरको निलबाराही क्षेत्रमा एक दिने हाइक सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालले यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमता अभिवृद्धिमा ठूलो योगदान पुर्‍याउने बताए । उनका अनुसार स्काउटको माध्यमबाट विद्यार्थीहरूले शैक्षिक ज्ञान मात्र नभई जीवनोपयोगी सीप, आत्मनिर्भरता र आपसी सहकार्यको महत्त्व पनि सिक्ने अवसर पाउँछन् ।

विशेष अतिथि शिक्षाविद् तथा महाकवि देवकोटा मेमोरियल मा.वि.का प्रिन्सिपल रमेश शर्माले स्काउट कार्यक्रमलाई व्यवहारिक जीवन सीपसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण अभ्यासको रूपमा वर्णन गरे । उनले पुस्तकको ज्ञानसँगै व्यवहारिक दक्षता र सामाजिक मूल्यमा पनि आजको पुस्ता पारंगत हुनुपर्ने आवश्यकता औंल्याए ।

दिव्यश्री एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्र चौलागाईले स्काउट कार्यक्रमले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, सहकार्यमा रमाउन र भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताए ।

कार्यक्रमका सभापति तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउट हाइकले विद्यार्थीलाई आत्मविश्वासी र व्यवहारिक बन्न प्रेरणा दिने धारणा राखे । उनका अनुसार स्काउटले सानै उमेरदेखि “आफ्नो काम आफैं गर्ने” संस्कार विकास गर्न सहयोग गरिरहेको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले दाउरामा खाना पकाउने अभ्यासदेखि विभिन्न साहसिक खेलसम्मको अनुभव लिए । साथै, स्काउटका पूर्व कार्यसमिति सदस्य देवदूत अधिकारीले कला प्रस्तुति दिएर विद्यार्थी र उपस्थित स्काउट मास्टरलाई मनोरञ्जन समेत गराएका थिए ।

यस अवसरमा सहायक राष्ट्रिय प्रशिक्षक श्याम लामा, देवदूत अधिकारी, दिपेश केसीलगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सफल संयोजन नेसनल ओपन स्काउट क्र्यूका सिनियर टिममेट रविन फुयालले गरेका थिए ।