मंगलबार ०३ भदौ, २०८२
Tuesday, August 19, 2025

दोस्रो काव्य–सन्ध्यामा आठ कविले सुनाए कविता

काठमाडौँ- शनिबार एल्डरसटको सुसि मोटो रेस्टुरेन्टको हलको अग्रभागमा थिए आठजना कविहरू । कविहरूको सामुन्नेमा बसेका दर्शकहरू ध्यानमग्न भएर कविता सुनिरहेका थिए । नेपाली मौलिक सुमधुर धुनसँगै  कविता वाचनमा मात्र कार्यक्रम केन्द्रीत थियो । 

यो दृश्य ‘साहित्य सङ्गालो’ बेलायतले आयोजना गरेको दोस्रो काव्य–सन्ध्याको हो । जसमा आठजना कविहरूले आफ्नो तीन–तीन वटा कविता सुनाए । कविहरू गोपी सापकोटा, दीपा लिम्बू राई, प्रयास दुमी राई, केदार सङ्केत, सुमाया राई दुर्गाप्रसाद पोख्रेल, लिला सेलिङ राई र सुष्मा रुपाबुङ राईले कविता सुनाइरहँदा सहजीकरण कवि निर्भीकजङ्ग रायमाझीले गरेका थिए ।

यसअघि सन् २०२४ सेप्टेम्बरमा पहिलो काव्य सन्ध्या भएको थियो । जसमा लाइभ म्युजिकसहित आठ जना कविहरूले कविता सुनाएका थिए । पहिलो कार्यक्रमदेखि नै संस्थाले प्रमुख अतिथि, माला, खादा र कुनै औपचारिक सज्जाबिना नै साहित्यिक कार्यक्रम गर्दै आएको छ । 

साथै बेलायतका एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला, किराँत सुनुवार सेवा समाजका अध्यक्ष आकाश सुनुवार, फ्रिम्ली पार्क नेपाली सोसाइटिका अध्यक्ष  टकमाया गुरुङको उपस्थिति रहेको थियो । लेखक तथा कविहरू कवि देवेन्द्र खेरेस, मुकेश राई, जीवन तिवारी, खुपेन सुनुवार, अशिम मगर, निर्मला सापकोटाको उपस्थिति रहेको थियो ।