मंगलबार ०३ भदौ, २०८२
Tuesday, August 19, 2025

सरकारले व्यवसायीमैत्री नीति लिएकाले ढुक्कले लगानी गर्नुहोसः प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीति लिएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार व्यवसायीमैत्री नीतिका साथ विकासको बाटोमा तीव्र गतिले अघि बढिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका हुन् ।

अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेकाले लगानी र काम गर्न कुनै बाधा नरहेको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

उनले उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्ने क्रममा रहेका, अन्तर्राष्ट्रिय विमानस्थल थपेको, हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोगमा ल्याउन लागेको धारणा राखे । सरकारका सबै प्रयासको ध्येय विकास र समृद्धि भएकाले देशका लागि योगदान दिन उहाले व्यवसायीहरुलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले दिपलको ईभीटोल (उड्ने सवारी) लगाएत प्रदर्शनीको अवलोकन गरेका थिए । भाद्र ८ गतेसम्म चल्ने नाडा अटो शो २०२५ मा १९ वटा चार पाङ्ग्रे ब्रान्डहरू, ४ वटा दुई पाङ्ग्रे ब्रान्डहरु, १३ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएको छ । त्यस्तै अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरणका १२५ भन्दा बढी प्रदर्शनी कक्षहरु नाडा अटो शोमा रहेका छन् ।