मंगलबार ०३ भदौ, २०८२
Tuesday, August 19, 2025

प्रधानमन्त्रीद्वारा नाडा अटो शो २०२५ को उद्घाटन, नयाँ प्रविधि प्रदर्शनीमा

काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो शो २०२५ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमबीच यो वर्षको संस्करणको उद्घाटन गरेका हुन्।

नाडा अटो शो प्रधानमन्त्रीले उद्घाटन गरेको यो पहिलो पटक समेत हो ।  प्रधानमन्त्री ओलीले अहिले अटोमोबाइल व्यवसायी असन्तुष्ट हुनुपर्ने अवस्था नरहेका बताए । उनले बजेट मार्फत करको दर नचालइएको र मौद्रिक नीतिले पनि अटो क्षेत्रलाई सपोट गरेको उनले बताए ।

‘अटोमोबाइल व्यवसायी अहिले असन्तुष्ट हुनुपर्ने अवस्था छैन । बजेटमा हामीले कुनै पनि करका दर चलाएका छैनौं । बजेट र मौद्रिक नीति व्यवसायीलाई फाइदा पुग्ने गरी लइाएका छौं,’ उनले भने ।

अध्यक्ष चौधरी भन्छन्- ‘हामी ९० प्रतिशत अटो व्यवसायीलाई प्रतिनिधित्व गर्छौँ’

उद्घाटन समारोहमा नाडा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने बताए । उनले यो प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र पनि भएकोमा जोड दिए । अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको दाबी गरे। उनका अनुसार यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको छ र ३ हजार व्यवसायीलाई एकीकृत गरेको छ।

चौधरीले नाडाले ९० प्रतिशत अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने र यसले सीप तथा रोजगारी दुवै सिर्जना गर्ने बताए । उनले सरकारले ल्याएको बजेटको प्रशंसा गर्दै पछिल्लो १० वर्षमा यस्तो बजेट नदेखेको धारणा व्यक्त गरे । आउँदो मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल क्षेत्रका लागि थप सकारात्मक व्यवस्था ल्याउनेमा आफू आशावादी रहेको उनले बताए । साथै, सरकारले ल्याउन लागेको नयाँ यातायात मापदण्डले पनि व्यवसायीहरू उत्साहित भएको उनको भनाइ थियो ।

अध्यक्ष चौधरीले सवारीसाधन एसेम्बल गर्नु जति जरुरी छ, त्योभन्दा अझ महत्त्वपूर्ण पार्टपुर्जा नेपालमै उत्पादन हुनु रहेकोमा जोड दिए । “पार्टपुर्जा नेपालमै उत्पादन भयो भने त्योभन्दा ठूलो केही हुने छैन,” उनले भने । यसपटकको नाडा अटो शोमा पहिलोपटक ह्युमनोइड रोबोट र उड्ने कार पनि प्रदर्शनीमा राखिएको छ, जसले अवलोकनकर्तामाझ नयाँ आकर्षण थपेको छ। भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।