बुधबार ०४ भदौ, २०८२
Wednesday, August 20, 2025

बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

चितवन- चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ । चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन चीनसमेत पठाउने भएको छ ।
 
पाँच दिनअघि यहाँ आएको सात सदस्यीय चिनियाँविज्ञ टोलीले विभिन्न विभागमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीसँग प्रत्यक्ष रूपमा अन्तक्र्रिया गरी आवश्यक पूर्वाधारका विषयमा समेत राय लिएको छ ।  बोनम्यारो प्रत्यारोपणका लागि चिनियाँ टोली यही रहेका बेला नेपालका लागि चिनियाँ राजदूतावासका प्रथम काउन्सिलर वाङ सिन आज यहाँ आएका थिए । उन ले चीन–नेपाल बोनम्यारो प्रत्यारोपण परियोजना औपचारिक रूपमा सुरू भएको बताए ।
 
उनले यस परियोजनालाई दुवै मुलुकबीचको स्वास्थ्य सहकार्यको ऐतिहासिक कदमका रूपमा व्याख्या गरे । सिनले चीन र नेपाल सात दशकदेखि असल छिमेकी, सत्यनिष्ठ मित्र र भरपर्दा साझेदारका रूपमा अगाडि बढ्दै आएको उल्लेख गर्दै हिमालझैँ अटल यो मित्रता स्वास्थ्य क्षेत्रमा अझ गहिरो रूपले प्रकट भइरहेको बताए ।
 
 सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले यथासक्य छिटो काम सम्पन्न गर्न चिनियाँ सरकारले समेत चासो दिएको भन्दै सबैको साथ र सहयोगबाट बोनम्यारो प्रत्यारोपणको काम थालिने बताए । अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहले चीनबाट आएको विज्ञ टोलीले पाँच दिनसम्म स्थलगत अध्ययन गरेको र त्यसपछि जनशक्ति तालिमलाई प्राथमिकता दिनु आवश्यक देखिएको बताए ।
 
डा साहका अनुसार, बोनम्यारो प्रत्यारोपण सेवा केवल एक विभागले मात्र सम्भव नहुने भएकाले मेडिकल अङ्कोलोजी, हेमाटोलोजी, आइसियु, रेडिएसन अङ्कोलोजी र प्याथोलोजीजस्ता विभागको संयुक्त क्षमता आवश्यक हुन्छ । “डाक्टर मात्र सक्षम भएर पुग्दैन, नर्स, प्यारामेडिक्स र अन्य प्राविधिक पनि दक्ष हुनुपर्छ”, डा साहले भने ।
 
चीनको हेबेई मेडिकल विश्वविद्यालयको चौथो अस्पताल यस परियोजनाको मुख्य जिम्मेवार पक्ष हो । चीनको बोनम्यारो ट्रान्सप्लान्ट (बिएमटी) टोलीका प्रमुख एवं नेपालमा कार्यरत १५ औँ चिनियाँ चिकित्सक टोलीका टोली नेता डा झाओ गुइमिनले चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनशक्ति तालिम र क्षमता विकासमा सहयोग गर्ने बताए ।
 
चीन सरकारले अस्पतलाको प्रशासनिक भवन नजिक दुई तले नयाँ भवन निर्माण, उपकरण जडान र जनशक्तिलाई  तालिम दिने छ । सबैकाम चिनियाँ सरकारले गर्ने भएकाले वास्तविक लागत अस्पतालमा नआउने भए पनि काम सम्पन्न गर्न करिब रु २० करोड खर्च हुने अनुमान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बताए । 

डा पौडेलका अनुसार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले अस्पतालमा रोवटीक सर्जरी, रेडियोथेरापिका लागि लिन्याक मेसिन र सात प्रदेशमा सञ्चालन गरिएको विस्तारित सेवाका लागि सवारीसाधन व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्  । पौडेलले भने, “राजदूतले रकमको व्यवस्थापन हुन्छ आवश्यक प्रक्रिया अघि बढाउनु भनेपछि हामी अघि बढेका छौँ ।'
 
क्यान्सर अस्पतालबाट गएको दुई वर्षमा ५० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई चीन पठाएर तालिम समेत गराइएको छ । अब प्रत्यारोपणका लागि समेत तालिममा चिकित्सक नर्स चीन जानेछन् । यो अस्पताल चीन सरकारले बनाइदिएको हो ।