‘प्रतिनिधिसभा विघटनचाहिँ असंवैधानिक, पुनर्स्थापना चाहिँ संवैधानिक ?’

काठमाडौँ : प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक भन्दै त्यसविरुध्द आन्दोलनरत प्रमुख विपक्षी नेपाली कांग्रेसले अन्य दलसँग मिलेर संयुक्त आन्दोलन नगर्ने रणनीति तय गरेको छ । कांग्रेस यतिखेर विघटनविरुध्द दोस्रो चरणको आन्दोलनमा छ । बुधबार साँझ नेकपा (दाहाल-नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रतिनिधिसभा विघटनविरुध्द संयुक्त संघर्षका लागि प्रस्ताव गरेका थिए ।
जवाफमा देउवाले माघ ६ गने पार्टीको केन्द्रीय कार्यसमिति बैठक तय भएको र त्यस बैठकमा आफूले त्यो प्रस्ताव राख्ने बताएका थिए । बिहीबार कांग्रेसका नेताहरूले आन्दोलनका कार्यक्रम अन्य दलहरूसंग मिलेर होइन, पार्टीले एक्लै गर्नुपर्ने बताएका हुन् ।
उपसभापति विमलेन्द्र निधिले अहिलेसम्म संयुक्त आन्दोलनबारे पार्टीमा कुनै निर्णय नभएको बताए । ‘सरकारको असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक कदमविरुध्द दोस्रो चरणमा घोषणा गरेका आन्दोलनअन्तर्गत ३ र ८ गतेका कार्यक्रम बाँकी नै छन् । पहिला ती कार्यक्रम सम्पन्न गर्ने तयारीमा हामी छौ,’ उपसभापति निधिले बिहीबार इकागजसँग भने, ‘कांग्रेसले अहिलेसम्म कसैसँग मिलेर संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छैन र छलफल पनि भएको छैन ।’
दोस्रो चरणका लागि तय भएका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडामा विरोध कार्यक्रम तय गरेको छ । तीमध्य प्रदेशसभा निर्वाचन क्षेत्रमा २५ पुसमा कार्यक्रम भइसकेको छ । पालिकामा माघ ३ मा र वडामा ८ गते विरोधका कार्यक्रम तय भएको छ ।
केन्द्रीय सदस्य डा. शेखर कोइराला प्रतिनिधिसभा विघटनविरुध्द पार्टी एक्लैले दबाबमुलक आन्दोलन गर्नुपर्ने बताउँछन् । ‘विघटनविरुध्द संयुक्त आन्दोलन गर्न हुँदैन । पार्टीले बेग्लै दबाबमुलक कार्यक्रमहरू अघि सार्नुपर्छ,’ डा. कोइरालाले इकागजसँग भने ।
अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल पनि पार्टीले तय गरेका आन्दोलनका कार्यक्रम बाँकी रहेकाले, ती कार्यक्रम सकिएपछि समीक्षा गरेर टुंग्याउनुपर्ने बताउँछन् । ‘असंवैधानिक कदमको विरोधमा हाम्रा कार्यक्रम जारी छन् । कार्यक्रम एक्लै गर्ने या अरुसँग मिलेर गर्ने भन्नेमा अहिलेसम्म आफ्नो काम गर्ने कार्यक्रम तय गरेका छौं,’ डा. रिजालले बिहीबार इकागजसँग भने, ‘माघ ६ गते केन्द्रीय समिति बैठक छ । त्यसमा कसरी अगाडि बढ्ने भन्ने छलफलको विषय हुन्छ ।’
पुनर्स्थापनामा फरक-फरक मत
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेपछि पुनर्स्थापना भन्न डराउन नहुनेमा कांग्रेसमा ठूलो मत छ । नेता रामचन्द्र पौडेल समूह पुनर्स्थापना हुनुपर्छ भन्ने निर्णय गरेर सशक्त आन्दोलनको पक्षमा छ । सभापति देउवा र संस्थापन पक्ष भने प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट फैसला नहुँदासम्म आन्दोलन गर्न नहुने पक्षमा थिए । तर, पार्टीभित्र चर्को दबाब भएपछि आन्दोलन गर्ने निर्णय गर्न देउवा बाध्य भए । आन्दोलनका कार्यक्रम त कांग्रेसले गरिरहेको छ । तर, के का लागि आन्दोलन भन्नेमा भने कांग्रेस स्पष्ट छैन ।
नेता डा. कोइराला विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेपछि पुनस्र्थापना भन्न डराउन नहुँने बताउँछन् । ‘हामीले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक हुनुपर्छ भनिसकेका छौ । यति भनिसकेपछि पुनस्थापना पनि हुनुपर्छ भन्न किन डराउने,’ डा. कोइरालाले भने । तर, संस्थापन पक्ष र विशेष गरी सहमहामन्त्री डा.प्रकाससरण महत र केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखक भने पुनर्स्थापना भनेर आन्दोलनमा जाने होइन निर्वाचनको तयारी गर्नुपर्छ भनिरहेका छन् ।
नेता साउदले इकागजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘उनीहरूकै अन्तरसंघर्षका कारणले प्रतिनिधिसभा विघटन हुने, विघटन भएपछि उनीहरूकै चाहनाबमोजिम पुनर्स्थापना हुने हो भने यो राजनीतिक कदम हुँदैन । यसले राजनीतिक नैतिकता पनि राख्दैन ।’
अहिले संस्थापनमा सभापति देउवाले उनीहरूकै कुरा सुनिरहेका छन् । तर, त्यसमा संस्थापनकै कतिपय नेताहरू भने सहमत छैनन् । नेता पौडेल समूह भने विघटनको निर्णय उल्ट्याउनु पर्ने पक्षमा छ । महामन्त्री शशांक कोइराला पनि प्रतिनिधिसभा विघटन उल्टिनु पर्ने पक्षमा छन् । महामन्त्री डा. कोइरालाले इकागजसँगको अन्तर्वातामा भनेका छन्, ‘सरकारको प्रतिनिधिसभा विघटन गर्ने कार्य संविधानविपरीत हो । तसर्थ उल्ट्याउनै पर्छ ।’
तर, लोकतान्त्रिक पार्टी भएकाले सर्वोच्चले दिने निर्णय भने स्वीकारेर जानु पर्छ भन्नेमा भने नेताहरू एकमत छन् ।
चुनावी सरकारको नेतृत्वका विषयमा पनि मतैक्यता छैन
बुधबार साँझको बैठकमा सभापति देउवालाई नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्षद्वय दाहाल र नेपालले पनि प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनर्स्थापित भएपछि प्रधानमन्त्री बन्नेसम्मको अफर गरेका थिए । तर, पार्टीमा भने त्यसमा मतैक्यता छैन । उपसभापति निधिले इकागजको प्रश्नमा भने, ‘कांग्रेसलाई यो प्रश्न सोध्ने र कांग्रेसले जवाफ दिने बेला भएको छैन ।’
केन्द्रीय सदस्य डा. कोइराला भने चुनाव गराउने सरकारको नेतृत्व पाउने अवस्थामा जानु उपयुक्त हुने बताउँछन् । ‘चुनाव नै गराउने सरकारको नेतृत्व पाउने अवस्थामा सरकार बनाउनु ठिकै हुन्छ,’ डा. कोइरालाले भने, ‘त्यस विषयमा पहिला छलफल भने गर्नुपर्छ । समीकरण कसरी मिल्छ ? पक्का निर्वाचन हुन दिन्छन् कि दिदैनन् भन्ने ख्याल गर्नुपर्छ ।’
देउवा भने सरकारको नेतृत्व पाउने अवस्थामा जानका लागि तम्तयार भएर बसेका छन् । त्यही भएर उनले सरकारको कदमलाई असंवैधानिक भने पनि पुनस्र्थापना भन्ने निर्णय गराएका छैनन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया