वार्ता

संविधानविपरीतको निर्णय उल्ट्याउन कांग्रेसले आन्दोलन गर्छ : महामन्त्री डा. कोइराला

मधुसुधन भट्टराई |
पुस ९, २०७७ बिहीबार १६:५२ बजे

प्रतिनिधिसभा विघटनविरुध्दमा तत्काल आन्दोलन गर्ने कि सर्वोच्च अदालतको फैसला कुर्ने भन्‍ने विषयलाई लिएर कांग्रेसमा द्विविधा छ । संस्थापन पक्ष सर्वोच्चको फैसला कुरेर मात्रै आन्दोलनमा अगाडि बढ्नुपर्ने बताइरहेको छ भने अर्को पक्षले तत्काल आन्दोलनमा ढिलाइ गर्न नहुनेमा छ । यसै सन्दर्भमा कांग्रेस अब के गर्छ भनेर महामन्त्री डा. शशांक कोइरालासँग इकागजका मधुसुधन भट्टराईको संक्षिप्त टेलिफोन संवाद : 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले कसरी लिएको छ ?
सरकारको प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक हो । र, यो लोकतन्त्र विरोधी कदम हो । 


प्रतिनिधिसभा विघटनसँगै सरकारले मध्यावधि निर्वाचन घोषणा गरेको छ । जारी कांग्रेस केन्द्रीय समितिमा केही आन्दोलन गर्नुपर्ने र केहीले निर्वाचनको तयारी गर्नुपर्ने धारणा राखेका छन् । अब कांग्रेस कसरी अघि बढ्छ ?
सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने र मध्यावधि निर्वाचन तोक्ने निर्णयमा हामीले दुई विषयलाई ख्याल गरेर अगाडि बढ्नुपर्छ । संविधानसभामार्फत जनप्रतिनिधिले बनाएको संविधानको प्रावधानलाई ख्याल नगरी निर्णय गरिएकाले यसको विरोध त गर्नैपर्छ । विरोध गर्दा नेपाली कांग्रेस पार्टीको क्रियाशीलता ७७ वटै जिल्लामा बढेर जान्छ । त्यसले आउँदो निर्वाचनमा पार्टीलाई केही मात्रामा भए पनि सहयोग पुर्‍याउँछ । अर्को सरकारले मध्यावधि निर्वाचनको मिति त घोषणा गरेको छ  । तर, घोषित मितिमा निर्वाचन हुन्छ कि हुँदैन कुनै ठेगान छैन । विरोध त हामी गर्छौ ।

अहिलेको सरकारको कदम संविधानविपरीत हो कि होइन ?
सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने काम संविधानविपरीतै हो । 

यसको विरुध्दमा कांग्रेसले के गर्छ ? 
सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक हो भनेर ७७ वटै जिल्लाका कांग्रेसले विरोध गर्छ । विरोधको दर्बियान, पार्टीको संगठन चुस्त र दुरुस्त बन्छ । यसले गर्दा पार्टीलाई निर्वाचन भए पनि फाइदा गर्छ ।

संविधानविपरीत हो भनेर सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको विषयमा कांग्रेसले आन्दोलन गर्दा कस्तो सन्देश दिन्छ ?
सर्वोच्चमा संविधानविपरीतको कदम हो भनेर रिट परिसकेको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलासमा पठाइसक्नु भएको छ । हाम्रो पार्टीले आन्दोलन गर्ने औपचारिक निर्णय गरिसकेको छैन । कांग्रेस न्यायापालिकालाई निष्पक्ष काम गर्न दिनुपर्छ भन्‍ने पक्षमा छ । संविधानवादको पक्षमा छ । हामीले सर्वोच्चको काम कारबाही प्रभावित पार्ने गरी अगाडि बढ्दैनौ ।

संविधानविपरीत विघटन गरिएकाले पुनस्थापना हुनुपर्ने धारणा व्यापक रूपमा आइरहेको छ, यस विषयमा यहाँको धारणा के हो ?
सरकारको प्रतिनिधिसभा विघटन गर्ने कार्य संविधानविपरीत हो ।  तसर्थ उल्ट्याउनै पर्छ । संविधानको व्याख्या गर्ने सर्वोच्च न्यायिक संस्था सर्वोच्च अदालत हो । त्यसमा सरकारले गरेको निर्णय असंवैधानिक भनेर रिट परिसकेको छ । संविधान अनुरूप सर्वोच्चले फैसला गरिहाल्छ । हुन तः प्रतिपक्षी दल भएको नाताले कांग्रेसका लागि निर्वाचन हुनु राम्रो हो । पुनः जनअनुमोदित हुन पाउँछौ । तर, संविधानविपरीत गरिएको निर्णय सच्याएर मात्र निर्वाचन हुनुपर्छ । निर्वाचनका लागि कांग्रेस सदैव तयार छ । अहिले सरकारले संविधान मिचेर दुई वर्ष कार्यकाल बाँकी रहेका प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेकाले पहिलो सरकारको त्यो निर्णय सच्चिनुपर्छ भन्‍ने पक्षमा म छु । 

सरकारको निर्णय कानुनसम्मत ठहरियो भने घोषित मिति वैशाखमा मध्यावधि निर्वाचन हुन्छ भन्‍नेमा यहाँ निश्‍चिन्त हुनुहुन्छ ? 
घोषित मितिमा निर्वाचन गराउनेमा व्याप्त आशंका छ । तर, कांग्रेसका नेता रामचन्द्र पौडेलसँग अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले जसरी भए पनि हामीले निर्धारित मितिमा निर्वाचन गर्छांै तपार्इंहरू तयारी थाल्नु भन्‍नु भएको छ । यसले केही आशा त गर्न सकिन्छ । तर, निश्‍चिन्त हुन भने सक्ने अवस्था देखिन्‍न । 

घोषित मितिमा निर्वाचन सम्पन्‍न गर्न दबाब दिने र निर्वाचनको तयारी पनि कांग्रेसले गर्छ कि, सरकारको कदमविरुध्द आन्दोलनमात्रै गर्छ ? 
कांग्रेसको मुख्य प्राथमिकता संविधानविरुध्द सरकारले गरेको निर्णय उल्ट्याउन दबाब दिने रहन्छ । त्यसका लागि जारी केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका कार्यक्रम तय गर्छ । सँगसँगै कांग्रेस लोकतान्त्रिक पार्टी हो । निर्वाचनमा जान डराउँदैन । त्यसको तयारी गर्छ । पार्टी संगठनलाई क्रियाशील बनाउँछ । सरकारलाई पनि निर्धारित मितिमा निर्वाचन सम्पन्‍न गर्ने वातावरण निर्माण गर्न दबाब पनि सँगसँगै दिन्छौ । 

र यो पनि....

बहुमतकै सरकारले निर्वाचन घोषणा गर्दा कांग्रेस भाग्‍न आवश्यक छैन : साउद

आन्देलन गर्ने/नगर्ने विषयमा कांग्रेस बैठकमा चर्काचर्की

फेरि लुटपुटिँदै छन् देउवा
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x