राजनीति

फेरि लुटपुटिँदै छन् देउवा

इकागज |
पुस ९, २०७७ बिहीबार ९:३० बजे

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा कांग्रेसले अरु मुद्दा छाडेर निर्वाचनमा जानुपर्ने पक्षमा छन् । देउवा पक्षका नेताहरूले खुलेरै अब सरकारले घोषणा गरेको मितिमा आम चुनाव गर्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् । यद्यपि नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनपछिका घटनाक्रमलाई जारी केन्द्रीय समितिको बैठकबाट धारणा बनाउने बताएको छ । देउवा पक्षका एक नेता एनपी साउदले बहुमतको सरकारले निर्वाचन घोषणा गरेको र नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी निर्वाचनमा जान डराउन नहुने बताएका छन् ।

यद्यपि नेपाली कांग्रेसभित्रै रामचन्द्र पौडेल खेमाले प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भएकाले यसको विरोधमा कांग्रेस आन्दोलनमा जानुपर्ने धारणा राखिरहेको छ । पौडेल पक्ष प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा कांग्रेसले अरु दलसँग सहकार्य गर्नुपर्ने पक्षमा छ । तर देउवा पक्षले भने प्रतिनिधिसभा पुनर्स्थापनालाई कांग्रेसले जोड गरिरहनु नपर्ने धारणा राख्दै आएको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भए पनि अब निर्वाचनमा जानु नै हितकर हुने’ साउदले इकागजसँगको अन्तर्वार्तामा उल्लेख गरेका छन् ।


कांग्रेसभित्र अंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्ने कि अदालतको निर्णय पर्खेर सोही अनुसार रणनीति अबलम्बन गर्ने भन्‍ने द्वुविधा कायमै छ । लोकतन्त्रप्रति निष्ठा राख्‍ने पार्टीले असंवैधानिक कदमको विरोध नगर्ने हो भने कांग्रेसको आचरणमाथि प्रश्न उठ्‍ने पौडेल पक्षका अर्का नेताले बताए ।

'२०५९ जेठ ८ गते तत्कालीन राजा ज्ञानेन्द्रसँगको सहमतिमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा गर्नुभएको उहाँलाई ओलीको कदममा दोष नदेख्नु स्वभाविक होला । तर नेपाली कांग्रेसको विचार र सिद्धान्तले यस्ता असंवैधानिक कदमको विरोध गर्छ र लोकतन्त्रको रक्षामा लागि लड्‍नुपर्ने मान्यता राख्छ,’ ति नेताले भने, ‘ओलीसँग उहाँ लुटपुटिँनुभएको छ । पहिला राजाले संसद् विघटन गर्न लगाएर उहाँलाई थाङ्‍नामा सुताए । अब ओलीले पनि त्यसै गर्नेछन् । हामीले बैठकमा उहाँलाई सम्झाइरहेका छौं ।’

संवैधानिक निकायमा नियुक्तिको सिफारिशमा समेत भागबण्डा पाएको भनेर विरोध भएपछि देउवाको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ । यद्यपि, नेपाली कांग्रेसको अर्को खेमाले उनलाई सन्देहको घेरामै राखेको छ ।

निर्वाचनमा जाने भनेर अघि बढ्दा देउवालाई फाइदै फाइदा रहेको उनको बुझाइ छ । फागुनमा पार्टीको महाधिवेशन गर्न नसकेर जेठ वा भदौमा सार्ने तयारीमा रहेका देउवाले निर्वाचनको बहानामा महाधिवेशनलाई अझै धकेल्न पाउँछन् ।

निर्वाचनका लागि टिकट बाँड्दा आफ्नै हात माथि हुने, संस्थापन इतरको खेमालाई ४० प्रतिशत उम्मेद्‍वार उठाउन दिएर ६० प्रतिशत आफ्नै उम्मेद्‍वार उठाउन पाइन्छ भन्‍नेमा देउवा छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले देउवाको नेतृत्वमा निर्वाचन लड्‍दा दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लज्जास्पद हार व्यहोरेको थियो । अहिले कम्युनिष्ट पार्टी फुटेको अवस्थामा चुनाव जित्दा आफ्नो नेतृत्वमा कांग्रेसलाई बहुमत दिलाएर यसअघि गिरेको स्वाभिमान फर्काउने र पाँच वर्ष नपुगी पुनः सरकारको नेतृत्व गर्न पाइने देउवाको बुझाइ छ ।

देउवाले अघिल्लो आम निर्वाचनमा प्रचण्डले धोका दिएको उल्लेख गर्दै अहिले उनलाई अप्ठेरो पर्दा कांग्रेसले सहयोग गर्न आवश्यक नरहेको र बिनाकारण ओलीको कदमको विरोध गरेर निर्वाचनको माहौल बिथोल्न ओलीलाई उक्साउनु कांग्रेसका लागि घातक हुने आफ्ना निकटस्थहरूसँग बताउने गर्छन् । देउवाले कम्युनिष्टहरूको झगडामा कांग्रेस पक्ष, विपक्षमा नलागी उनीहरूको फुटको फाइदा लिनुपर्ने धारणा राखेका छन् ।

देउवाका वरपर रहेका सत्ताका आकांक्षीहरूले पनि अहिले निर्वाचनमा जाँदा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने भन्दै तोकिएकै मितिमा निर्वाचनका लागि ओली नेतृत्वको सरकारलाई सघाउनुपर्ने सल्लाह दिदैं आएका छन् । तर यसअघिका अनुभवले संसद वा संविधानसभा विघटनपछि निर्वाचन समयमै हुन नसकेको उदाहरण छन् भने २०५९ मा देउवाले प्रतिनिधिसभा विघटन गरेपछि त तत्कालीन राजाले नै सत्ता आफ्नो हातमा लिएका थिए । बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा संविधानसभा विघटन गरे तर उनले निर्वाचन गराउन नसकेर तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वको पूर्व कर्मचारीहरूको नेतृत्वले निर्वाचन गराएको थियो । 


Author

थप समाचार
x