शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

ओली समूहले गर्ने शक्ति प्रदर्शन पञ्चे र्‍याली हो : दाहाल

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई नम्बर प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध ‘टाउकोमा हान्ने गरी’ फेरि शक्ति प्रदर्शन गर्ने बताएका हुन् ।

साथै उनले ओलीले गर्ने शक्ति प्रदर्शनलाई ‘पञ्चे र्‍याली’को संज्ञा दिए । माघ ९ गते आफूहरुले विशाल प्रदर्शन गरेपनि त्यसले प्रतिगमनलाई धक्का नदिएको भन्दै दाहालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको टाउकोमा हान्ने गरी २८ गते फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

‘हामीले जनताको पक्षमा, संविधानको पक्षमा, गणतन्त्रको पक्षमा विशाल सभा गरेर शक्ति प्रदर्शन गर्‍यौ’ प्रचण्डले भने, ‘तर ओलीले गर्ने शक्ति प्रदर्शन भनेको पञ्चे र्‍याली हो । आफ्नो शासन ढल्न लागेका बेला हिजो राजाले, तानाशाले गर्ने शक्ति प्रदर्शन जस्तै हो ।’

गएको शुक्रबार गरेको शक्ति प्रदर्शन समावेशी हुन नसकेको, ओलीको प्रतिगमनलाई धक्का दिन नसकेको भन्दै दाहालले फेरि शक्ति प्रदर्शन गरेर प्रधानमन्त्री ओलीको प्रतिगमनको छिनोफानो गर्ने बताए । प्रतिनिधि सभा विघटन गरेर ओलीले बदनाम गरेको पनि दाहालले टिप्पणी गरे ।

‘इतिहासमा हिटलरको नाम पनि लेखिएको छ । माक्स र लेनिनको नाम पनि लेखिएको छ’, दाहालले थप अगाडी भने, ‘हामी जनताको पक्षमा उभिएका छौँ । तर ओली हिटलर जस्तो तानाशाहको पक्षमा उभिए ।’ साथै उनले प्रतिनिधि सभा विघटनविरुद्ध हुने दोस्रो शक्ति प्रदर्शनमा घर घरबाटै आएर सहभागि हुन पनि दुई नम्बर प्रदेशका कार्यकर्तालाई आग्रह गरे ।