महाधिवेशन, केन्द्रीय कार्यसमिति र आन्दोलन

काठमाडौं : नेपाली कांग्रेसको बुधबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा मुख्यगरी तीन एजेण्डामा छलफल हुने भएको छ । प्रतिनिधि सभा विघटनका विषयमा पार्टीले गरेको तेस्रो चरणको आन्दोलनको समिक्षा, पार्टीको १४ औं महाधिवेशनको मिति परिवर्तन र केन्द्रीय कार्यसमितिको म्याद थपका विषयमा बैठकमा छलफल हुनेछ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको तेस्रो चरणको आनदोलनको समिक्षा र १४ औं महाधिवेशनको मितिबारे छलफल गर्ने बैठकको मुख्य एजेण्डा रहेको जानकारी दिए । ‘फागुन ७ गतेदेखि पार्टीको १४ औं महाधिवेशन निर्धारित थियो । त्यो समयमा माहाधिवेशन हुन नसकेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुन्छ,’ प्रवक्ता शर्माले इकागजसँग भने, ‘त्योसँगै प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले गरेको तेस्रो चरणको आन्दोलनको समिक्षा गर्ने एजेण्डा छ ।’
कांग्रेसले १४ औं महाधिवेशनको मिति शुक्रबार(फागुन (७-१०) मा १४ औं महाधिवेशनको मिति तय गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो । कोभिड-१९ महामारीका कारण त्यो कार्यतालिका अनुरुप काम हुन नसकेकाले महाधिवेशन असम्भव भएपछि महाधिवेशनको मिति सार्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद यही फागुन १९ गतेसम्म मात्रै छ । केन्द्रीय कार्यसमितिको म्याद थपका विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताए । देउवाको ४ वर्षे कार्यकाल २०७६ फागुन १९ मा नै सकिन्थ्यो । तर, विधानमा रहेको केन्द्रीय कार्यसमितिको बहुमतबाट एक वर्ष म्याद थप्न सक्ने प्रावधानमा टेकेर यही फागुन १९ सम्म पुर्याइएको थियो । अब थप्ने केन्द्रीय कार्यसमितिको म्याद पार्टी विधानअन्तर्गत नभई संविधानमा भएको विशेष परिस्थिति उत्पन्न भएमा थप्न सक्ने प्रावधानमा टेकेर थपिने छ ।
नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भन्ने उल्लेख छ ।
यो प्रावधानमा टेकेर कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद ६ महिना अर्थात आगामी भदौ १९ गतेसम्मका लागि थप्न सक्छ । त्यो समयसम्म पनि कांग्रेसले पार्टीको १४ औं महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकता समाप्त हुन्छ ।
त्यस्तै बैठकमा पार्टीले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले गरेको तेस्रो चरणको आन्दोलनको समिक्षा पनि बैठकमा हुने प्रवक्ता शर्माले बताए ।
केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले महाधिवेशनबारे छलफल हुने बताए । ‘प्रतिनिधि सभा विघटनविरुध्द अब कसरी अगाडि बढ्ने र महाधिवेशन तयारी बैठकका मुख्य एजेण्डा हुन्छन्,’ डा. रिजालले भने ।
केही समयअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेको सुनिल थापा नेतृत्वको समूह, अखण्ड नेपाल पार्टी र नेकपाबाट प्रवेश गरेकालाई कसरी संगठनमा समायोजन गर्ने भन्नेबारेमा बैठकमा छलफल गर्ने तयारी छ । कांग्रेसले अन्य पार्टीबाट आएकाहरूलाई पार्टी संगठनमा कसरी समायोजन गर्ने भन्नेबारेमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको छ । समितिका तर्फबाट संयोजक निधिले प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने तयारी छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया