शेयर बजारमा उछाल आएसँगै चीनमा २५० नयाँ अर्बपति थपिए

बेइजिङ : शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ । विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तिब्र रुपमा फड्को मारेको छ ।
विश्वका अधिकांश मुलुकमा कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोनाभाइरसलाई समयमै नियन्त्रण गरेपछि सन् २०२० मा पनि राम्रो प्रगति गरेको छ । हुरुनका अनुसार सन् २०२० मा २५० जना अर्ब डलरको सूचीमा प्रवेश गरेका छन् । चीनमा यो सहित कूल अर्बपतिको संख्या १ हजार ५८ पुगेको छ । विश्वमै अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ ।
तुलनात्मक रुपमा, दोस्रो राम्रो प्रगति गर्ने मुलुक अमेरिकामा ७० जना नयाँ अर्बपतिको उदय भएको छ । यो सहित अमेरिकामा कूल अर्बपतिको संख्या ६९६ पुगेको छ । चीनमा पानीको व्यापार गर्ने नोङ्फुका संस्थापक झोङ शानशानको सम्पत्ति ८५ अर्ब डलर पुगेको छ । विगतमा निर्माण कार्यमा संलग्न झोङले गत वर्ष हङकङमा प्राथमिक शेयर (आइपिओ) जारी गरेर ११ अर्ब डलर नगद संकलन गर्न सक्षम भएका थिए ।
एकै वर्ष तीन व्यक्तिले ५० अर्ब डलर भन्दा बढी सम्पत्ति जुटाएका छन् । सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५० अर्ब डलरले बढेको छ । समग्रमा, चीनले विश्वमै सम्पत्ति सिर्जना गर्नेतर्फ अग्रस्थान बनाइरहेको छ । हुरुनका अनुसार विगत पाँच वर्षको अवधिमा चीनले ४९० जना नयाँ अर्बपति जन्माएको छ भने अमेरिकाले १६० जना थपेको छ ।
हुरुन प्रतिवेदनका अध्यक्ष रुपर्ट हूगवर्फले कोरोनाभाइरसको महामारी भएपनि गत वर्ष एक दशकयता केही व्यक्तिले सबैभन्दा बढी आम्दानी गर्न सफल भएको बताउनुभयो । यसको मुख्य कारण शेयर बजारमा नयाँ कम्पनीको सूचीकरण र शेयर बजारमा आएको उछाल मुख्य रुपमा जिम्मेवार छ ।
उनले भने, सम्भवतः विगत १०० वर्षमा एसियाले बाँकी विश्वको भन्दा बढी अर्बपति सिर्जना गरेको छ । सबैभन्दा बढी अर्बपति पनि अहिले चिनियाँ शहरमा रहेको सर्भेले देखाएको छ । अर्बपति रहेबसेका विश्वका उत्कृष्ट १० शहरमध्ये छ वटा शहर चीनमै छन् । विगत छ वर्षदेखि लगातार बेइजिङ पहिलो स्थानमा छ । (एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया