बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

नेपाल-खनाल समूहका नेता भन्‍छन्, 'ओलीमै रहेर संघर्ष गर्नुको विकल्प रहेन’

काठमाडौँ : सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह  संकटमा परेको छ । अदालतको फैसलापछि नेकपा एमाले र माओवादी ब्यूँतिएका छन् । तर, अहिलेको विवाद तत्कालीन एमाले र माओवादीबीचको मात्रै होइन । विभाजित दुवै समूहमा एमाले र माओवादीका नेताहरू छन् । अब पूर्व माअीवादीतिरै रहन नेपाल समूहले एमालेबाट औपचारिक रूपमा पार्टी फुटाएर आउनुपर्छ । तर,त्‍यसका लागि नेपाल-झलनाथ खनालसँग पार्टी फुटाउने मत पुग्‍दैन । 

यस्‍तोमा अब के गर्ने भनेर नेपाल-खनाल समूहले छलफल सुरु गरेका छन् । नेपाल-खनाल समूहका कतिपय नेताहरूले पुन: केपी शर्मा ओलीलाई नै मान्‍नुको विकल्‍प नभएको बताउन थालेका छन् । बरु ओली समूहमै रहेर संघर्ष गर्नुपर्ने उनीहरूको मत छ ।

 'अब हामीलाई केपी शर्मा ओली मान्‍नुको विकल्प रहेन’ नेपाल-खनालका साथमा रहेका एक एमाले नेताले इकागजसँग भने, ‘पुष्पकमल दाहालसँग माओवादी छ, अब हामीसँग एमाले विभाजन गर्ने मत पनि छैन, त्यसकारण ‘कर्नर’मै रहेर भए पनि त्यहीभित्र संघर्ष गर्नुको विकल्प रहेन ।’ साविक एमालेमा केन्द्रीय समितिमा नेपाल-खनाल समूहको ४० प्रतिशत हाराहारी मत पुग्छ । तर, संसदीय दलमा ४० प्रतिशत पुग्दैन ।