बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

खनाल-नेपाल समूहमाथि सूर्य थापाको १५ आरोप

काठमाडौँ : एमाले वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्‍लाहकार सूर्य थापाले विभिन्‍न १५ बुँदामा आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहालको निर्देशनमा चैत ४ र ५ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको थापाले आरोप लगाएका हुन् ।

चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्‍न सकिने थापाले बताएका छन् । आफ्नो निहित स्वार्थका लागि एमाले विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र भएको उल्‍लेख गरेका छन् ।

राष्ट्रिय कार्यकर्ता भेला रोकेर पार्टी एकतालाई बलियो बनाएर साझा सहमति बनाएर जान ओलीले प्रस्ताव गरे पनि नेपाल समूहले भेला नरोक्‍ने भएको छ ।

ओलीसँगको छलफलपछि नेता नेपालले सोमबार आफ्नो समूहका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गरेका थिए । नेता नेपाल निकट एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले हाम्रो कार्यक्रमहरु यथावत रहेको बताए । त्यसमा कुनै अन्यौलता नआओस् भनेर संक्षिप्त बैठक बोलाइएको बताए ।

आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए । नेता नेपालले सहकार्य सहज नरहेको बैठकमा बिफ्रिङ गरेका थिए ।

सर्वोच्‍च अदालतले एमाले ब्युँताएपछि चर्को विवाद छ । केही दिनअघि मात्रै ओलीले नेपाल समूहका केही नेतालाई हटाएका थिए । नेपाल समूहका केही प्रदेश प्रमुखसमेत ओलीले हटाएपछि नेपाल समूहले केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने बताएका थिए । सात वटै प्रदेशमा नेपाल समूहले आफ्‍नै समानान्तर कमिटी घोषणा गरेको छ ।

यस्तो छ माधव नेपाल-झलनाथ खनालमाथि सूर्य थापाको आरोप
शहरमा 'विधि र पद्धति'को रमिता कि गाइजात्रा ?
नेकपा (एमाले)को नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला-
१. खासमा प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला, राम र रमिता हो !
२. यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्‍न सकिन्छ ।
३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो ।
४. यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो । 
५. पार्टीको सरकार पाँच वर्ष चल्नै नदिने कसम खाएर केही  व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।
६. यो 'विधि र पद्धति'को दुहाई दिँदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दैआएको  विभाजन ने हो भन्‍ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुन: प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समुहको केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।
७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी  अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्‍नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो । 
८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्दको घात हो ।
९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको  अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघाेषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो  ।
१०.  पार्टी पद्धति,मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरूपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो । 
११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुन: खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित सम्‍झौताको बन्धक बनाउने कुत्सित प्रयास हो ।
१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास  मात्र हो । 
१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।
१४. यो आाम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरितको क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफुलाई सामेल नगरौँ ।
१५. त्यसैले आउनुहोस- विभाजन र  बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र  एकजुट भएर अघि बढौँ !
अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई  परास्त गरौँ !!

शहरमा "विधि र पद्धति"काे रमिता कि गाइजात्रा ? नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने...

Posted by Surya Thapa on Monday, 15 March 2021