आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

एमाले र कांग्रेसकाे याेजना असफल बनाइयाे : माधवकुमार नेपाल

काठमाडाैँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र नेपाली कांग्रेसकाे याेजना असफल बनाएकाे बताएका छन् । 

बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले सुरुबाटै आफू एमसीसी यथास्थितिमा अनुमोदन गर्नुहुँदैन भन्ने पक्षमा रहेको भन्दै एमाले र नेपाली कांग्रेसकाे मिलेर यथास्थितिमै पास गर्ने योजना असफल बनाएको बताए ।  

अध्यक्ष नेपालले ११ बुँदे प्रतिवेदनमा एमसीसी कम्प्याक्टलाई यथास्थितिमा अनुमोदन गर्न हुँदैन भन्ने दृढ अडानकै कारण व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन हुने अवस्थामा पुगेको बताए ।

‘नेपाली कांग्रेस एमसीसीलाई हर हालतमा जस्ताको तस्तै पारित गर्ने निर्णयमा पुग्नु र केपी ओलीले त्यसका लागि आफ्ना शर्तमा कांग्रेसलाई फकाएर सम्झौता पारित गराउने षडयन्त्र गरिरहेको परिस्थितिमा हामीले उपयुक्त निर्णयमा पुग्ने बुद्धिमता देखाउनै पर्यो’, अध्यक्ष नेपालले भने ।

त्यस्तै नेपालले आफूहरुले एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए कांग्रेस र एमाले मिलेर एमसीसी सम्झौता पारित गरेर आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताए । 

उनले एमसीसीको विपक्षमा रहेको भए सत्तारुढ गठबन्धन तोडेर कांग्रेस र एमालेले एमसीसी जस्ताको तस्तै पारित गर्ने, आफूहरुको १४ सांसदलाई कारबाही गर्ने र पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका हुन् ।

‘यदि हामीले यसो नगरेको भए नेका र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्ने गरी नेका र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने थिए’ अध्यक्ष नेपालले भनेका छन् ।

एमसीसी पारित गराउन नेपाली कांग्रेसले पनि करिब करिब सबै शर्तहरु मान्न तयार भइसकेको थियो । केपी ओलीले राखेका यी सर्तहरूका आधारमा गठबन्धन बनाउन कांग्रेस अगाडि बढेर सहमति गरेको भए एमसीसी सम्झौता जस्ताको तस्तै पारित हुने मात्र होइन, त्यसभन्दा पनि गम्भीर विषय त संविधान एवं लोकतन्त्र विरोधी ओली पुनः सत्तामा फर्कने र संघीय लोकतान्त्रिक गणतन्त्र तथा विधिको शासनविरुद्ध पुनः षडयन्त्र हुने कुरा निश्चित नै थियो’, अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ।

उनले यस्तो अवस्थामा देशलाई दुर्घटनामा जानबाट रोक्नुपर्ने भन्दै ओलीको षडयन्त्रलाई असफल बनाउँदै देशलाई दुर्घटनामा जानबाट रोक्न सफल भएको दावी गरेका छन् ।