१० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौं : गभर्नर अधिकारी
काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडि फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गरेका छन् ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुला बजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन् । उनले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको स्पष्ट पारे ।
गर्भनर अधिकारीले अहिले लङ टर्म इन्भेस्टमेन्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभाबी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए । उनले आवाजविहीनहरू र साना लगानीकर्ताहरूका लागि २ करोडभन्दा कम लगानी गर्नेहरूका लागि बेस रेटमा दुई प्रतिशतभन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताए ।
पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको गभर्नर अधिकारीकाे भनाइ छ । उनले समान देशको तुलनामा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे । उनले पुस मसान्तको डाटाअनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पारे । उनले अर्थतन्त्रका बाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको पनि उल्लेख गरे ।
अधिकारीले नेपाल अहिले करिब १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करिब १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको बताए ।
गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताए । उनले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबै कुरामा नकारात्मक रूपले नहेर्न आग्रह समेत गरे ।