आज मध्यरात १२ बजेबाट ३९ मेगावाट बिजुली भारत निर्यात हुँदै
काठमाडौँ- आज राति १२ बजेदेखि नेपालको ३९ मेगावाट बिजुली भारत निकासी हुने भएको छ । नेपालको आन्तरिक माग धानी ‘जगेडा हुने’ बिजुली अधिकतम प्रतियुनिट १२ भारु (१९ रुपैयाँ २० पैसा), न्यूनतम २.५ भारु (४ रुपैयाँ) र औसतमा ७.२० भारु (११.५२ रुपैयाँ) मा बिक्री हुन लागेको विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इकागजलाई बताए ।
‘आजबाट हामीले नेपालको सबै आन्तरिक खपत धानेर त्रिशुली र देवीघाटको बिजुली भारतको प्रतिस्पर्धी बजारमा बिक्री गर्न लागेका छौं,’ घिसिङले बुधबार इकागजसँग भने, ‘यो वर्षायाममा हामी ५ सय मेगावाट बिजुली भारतलाई बेच्नेछौं ।’
घिसिङका अनुसार नेपालको आफ्नो आन्तरिक माग गत वर्ष हिजोको दिनमा २ करोड ४५ लाख ८० हजार युनिट थियो । यो वर्ष हिजो मंगलबार तीन करोड ४३ लाख १३ हजार युनिट रह्यो । ‘एक वर्षको अवधिमा करिब एक करोड युनिट बिजुली खपत बढ्यो,’ घिसिङले भने ।
भारतको ऊर्जा बजार (आईआईएक्स) मा हरेक १५-१५ मिनेटमा बिजुलीको भाउ स्वचालित तवरले तोकिन्छ । अत्यधिक खपत हुने (पिक) समयमा प्रतियुनिट १२ भारु (१९ रुपैयाँ २० पैसा) सम्म पाएको छ । मध्य रातमा प्रतियुनिट १२, त्यसपछि सवा १२ बजे ११.४० भारु (१८ रुपैयाँ २४ पैसा), साढे १ बजे प्रतियुनिट ९ भारु (१४ रुपैयाँ ४० पैसा) खरिद दर आएको घिसिङले जानकारी दिए ।
जूनको दोस्रो सातादेखि आन्तरिक माग पूर्ण रुपमा पूरा गरी बिक्रीका लागि पनि उब्रने अनुमान प्राधिकरणले गरेको थियो । भारतमा कोइला अभावका कारण रातिको समयमा बिजुलीको माग अत्यधिक हुने गर्छ । माग र आपूर्तिले प्रतिस्पर्धी बजारमा स्वतः मूल्य निर्धारण हुने गर्छ ।
यता पश्चिम नेपालमा भने दिउँसो आयात र राति निर्यात हुने गरेको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन पूरा नभएकाले पूर्वको बिजुली पश्चिम जाँदैन । टनकपुरबाट दिउँसो ६ लाख ७० हजार युनिट किनेर ९ लाख युनिट बिजुली बेचेको घिसिङले बताए ।
टनकपुरबाट औसत खरिद मूल्य प्रतियुनिट ५.९० भारु (९ रुपैयाँ ४४ पैसा) र नेपालले भारतलाई भने औसत ७.२० भारु (११ रुपैयाँ ५२ पैसा) रहेको छ । ‘दिउँसो भारतबाटा सौर्य ऊर्जा सस्तोमा किन्छौं, दिनभरि हामी विद्युत्‌गृहका पानी जम्मा पार्छाैं, राति महँगोमा बेच्छौं,’ घिसिङले भने ।