माथिल्लो अरुणमा २५ अर्ब लगानी गर्न भोजपुरवासीले गुहारे प्रधानमन्त्री

इकागज | असार १२, २०७९

काठमाडौं – विश्व बैंकले वर्षाैंदेखि अल्झाइरहेको माथिल्लो अरुण (१०६१ मेगावाट) जलविद्युत् आयोजनामा भोजपुरवासीले २५ अर्ब रुपैयाँ लगानी गर्न पाउनुपर्ने माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेका छन्। यसकाे कुल लगत १ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी छ ।

भोजपुरका लब्ध–प्रतिष्ठित राष्ट्रिय व्यक्तित्व, जनप्रतिनिधि, पूर्व मन्त्रीहरुले उक्त रकम शेयरका रुपमा लगानी गर्न सक्ने आधारसहित प्रधानमन्त्री कार्यालयमा गत विहीबार निवेदन हालेका हुन् । 

विश्व बैंकले यो आयोजनालाई ‘विश्वकै सस्तो र यसबाट प्राप्त हुने आम्दानी सबैभन्दा आकर्षक’ भन्दै आएको छ । 

प्रधानमन्त्रीलाई दिइएको पत्रमा उनीहरुले लगानी गर्न सक्ने आधारहरु पनि खुलाइएको छ । भोजपुरको जनसंख्या करिब २ लाख र घरधुरी ८५ हजार भएकोले एकजनाले कम्तीमा एक लाख रुपैयाँ लगानी गर्दा २० अर्ब रुपैयाँ जुट्ने पत्रमा उल्लेख छ । 

अति विपन्न वर्गका परिवारका हकमा प्रतिव्यक्ति एक लाख रुपैयाँको शेयर पर्याप्त हुने र निर्माण अवधि ६ वर्ष भएको हुँदा हरेक वर्ष १७ हजार रुपैयाँ लगानी गर्न सक्ने आधार दिइएको छ । वार्षिक १७ हजार रुपैयाँ लगानी गर्न नसक्नेहरुको हकमा शेयर प्रमाण पत्र धितो राखी राज्यले सरकारी बैंक, सञ्चयकोष, जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) लगानी गरी सावाँ ब्याज असुल उपर गरेपछि निजको धरौटी बापत शेयर प्रमाणपत्र फिर्ता दिने व्यवस्था गर्न सकिने पनि पत्रमा उल्लेख छ ।

हरेक व्यक्तिले एक लाख रुपैयाँ लगानी गर्दा बढी आयस्रोत भएका भोजपुरका उद्योगपति, सरकारी कर्मचारी, व्यापारी, धनी, साहु महाजनले कम्तीमा प्रतिव्यक्ति १० देखि २० लाख रुपैयाँ सजिलै लगानी गर्न सकिने पनि उनीहरुले आधार दिएका छन् । यसबाहेक मजदुर ज्यालादारी गरिब श्रमदानबाट पनि लगानी हुने उल्लेख छ ।
यसैगरी तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्राप्त हुने क्षतिपूर्तिवापत रकम, प्रभावितलाई दिइने राहत, अरुण तेस्रो र तल्लो अरुणले बनाउने प्रसारण लाइन बापतको रकमसमेत माथिल्लो अरुणमा शेयर लगानी हुन सक्ने उनीहरुको जिकिर छ । 

भोजपुरवासीको कृषि उपजबाट प्राप्त हुने रकम, नगदेबाली, अलैंची, खोर्सानी, रुद्राक्ष, सुन्तला, कागती, जडिबुटी, कफी, चियाको व्यापारबाट प्राप्त हुने रकम र पशुपालनबाट प्राप्त हुने आम्दानी उक्त आयोजनामा लगानी गर्दा हरेक व्यक्तिले वार्षिक १७ हजार रुपैयाँ लगानी हुने पनि उल्लेख छ ।

‘भोजपुरवासीको उद्योगधन्दा, खुकुरी, राडीपाखी, गलैंचा, पश्मिना, कोगटप्ीको कपडा जस्ता उद्योगधन्दाबाट समेत नियमित आम्दानी हुने भएकाले यो रकम लगानी गर्न कुनै समस्या नभएको जानकारी गराउँदछौं,’ पत्रमा छ ।

भोजपुरमा दुईवटा नगरपालिका गाउँपालिका सात र अन्य संघसंस्थाहरुको समेत लगानी क्षमता करिब ५ अर्ब रुपैयाँ रहेको जानकारी प्रधानमन्त्रीलाई गराइएको छ । ‘स्थानीय प्रभावित र जिल्ला वाीहरुलाई सक्षम र आत्मनिर्भर बनाउन यस आयोजना (माथिल्लो अरुण) मा हामी भोजपरवासीले सजिलै लगानी गर्न सक्नेछौं,’ पत्रमा छ। 
निवेदन दिनेहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी, नेकपा एमालेका तर्फबाट पूर्व मन्त्री एवं सांसद शेरधन राई, सांसद सुदन किराँती, भोजपुर समाजका पासाङ दोर्जी शेर्पा, दावाली मिलन क्लबका रोशन श्रेष्ठ, इसुवा इनर्जी प्रालिका विक्रम विष्ट, संघीय विना विभागीय मन्त्री उमेश श्रेष्ठ, सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ, पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला, माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राई, पूर्व एआईजी दुर्जकुमार राईलगायतका व्यक्तिहरु छन्  ।
 

के हो माथिल्लो अरुण ?

भोजपुर र संखुवासभा भएर बग्ने अरुण नदीमा पर्ने यो आयोजना पिकिङ (अर्धजलाशययुक्त) प्रकृतिको हो । सन् १९८५ मा कोशी बेसिन गुरुयोजना तयार पार्ने क्रममा यसको पहिचान भएको थियो । सन् १९८७ मा यसको प्रारम्भिक सम्भाव्यता अध्ययन अमेरिकी कम्पनी मोरिसन नुडसन इन्जियिर्सले गरेको थियो । दोसो चरणको अध्ययन राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोगमा  अमेरिकी, जर्मनी र जापानी कम्पनीका परामर्शदाताहरुको संयुक्त उपक्रमले गरेको थियो ।
यसको अद्यावधिक विस्तृत अध्ययन प्रतिवेदन विश्व बैंकको ऋण सहयोगमा च्याङजियान सर्भे, प्लानिङ, डिजाइन एण्ड रिसर्च सेन्टर र सिनोटेक इन्जिनियरिङ कन्सल्ट्यान्टले स्वायल टेस्ट प्रालिको सहकार्यमा तयार गरेको थियो । 

यो आयोजनाको प्रस्तावित बाँध अरुण नदी र चेपुवा खोलाको संगमस्थित भोटखोला गाउँपालिका–२ स्थित चेपुवा गाउँमा पर्छ । यसको विद्युत् गृह भने भोटखोला गाउँपालिकाको छोङराक गाउँ वडा नं. ४ मा पर्छ । यो आयोजना काठमाडौंबाट २०० किलोमिटर पूर्व र विराटनगरबाट १४० किलोमिटर उत्तर पर्छ । यसको सुरुङ जम्मा २.०२ किलोमिटर मात्र छ । 

यो आयोजनाबाट दैनिक ६ घण्टा पिकिङका समयमा ६९७ मेगावाट बिजुली उत्पादन गर्न सक्छ । यसको औसत विद्युत् उत्पादन ४५१२.६ गिगावाट घण्टा (४ अर्ब ५१ करोड युनिट) रहेको छ । सुख्खायामको पिक समयमा यो आयोजनाले ८३३.९ गिगावाट घण्टा (८३ करोड ३९ लाख युनिट) उत्पादन गर्छ ।

यसको प्रसारण लाइन, र पहुँच मार्गबाहेक अनुमानित लागत एक अर्ब ३० करोड अमेरिकी डलर (हालको मूल्यमा एक खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ) रहेको छ । प्रसारण लाइन, पहुँचमार्गसहितको यसको लागि एक अर्ब ३७ करोड अमेरिकी डलर छ । 

अन्य आयोजनाको बिजुली उत्पादन लागत प्रतिकिलोवाट २ हजार अमेरिकी डलरभन्दा माथि रहेका बेला यसको प्रतिकिलोवाट १३२४ अमेरिकी डलर छ । पहुँच मार्ग बनाउन लाग्ने २७ महिनाको अवधिबाहेक यो आयोजनाको निर्माण अवधि ६८ महिना रहेको छ । 
 

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

इकागज | असार ११, २०७९

लमजुङ- लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्प...

सौर्य विद्युत् ध्वस्त पार्दै ऊर्जामन्त्री, रमिते नियमन आयोग

विकास थापा | असार ९, २०७९

विद्युत् नियमन आयोग ऐन कार्यान्वयनमा आइसकेको पृष्ठभूमिमा नेपाल विद्युत् प्राधिकरण उत्पादन र वितरणको महसुल ...