जात्रा-पर्व

छठ पूजास्थल गौरीघाट-गुह्येश्वरी क्षेत्रमा विशेष सफाइ

इकागज | कात्तिक १२, २०७९

काठमाडौँ- छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिन छठ घाट निर्माण भइरहेको गौरीघाट गुह्येश्वरी क्षेत्रमा विशेष सफाइ गरिएको छ । बागमती सफाइ महाअभियानको ४९४औँ हप्तामा छठ पूजाको तयारी भइरहेको स्थलमा आज सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । त्यस क्षेत्रको बागमती नदी, नदीको किनार, सडक किनार एवं मन्दिर अगाडिको भागमा सफाइ गरिएको थियो ।

सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, पशुपति क्षेत्र विकास कोषका कर्मचारी, अभियानकर्मी, छठ पूजा समितिका पदाधिकारी एवं सदस्यलगायतको सफाइमा सहभागिता थियो । सफाइबाट नकुहिने फोहर दुई टन व्यवस्थापन गरिएको छ । अर्को हप्ता शनिबार पनि पशुपति क्षेत्रको राम मन्दिरअघिको भष्मेश्वर घाट क्षेत्रमा सफाइ गरिने अभियानकर्मी शाहीले जानकारी दिए ।  

राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । सफाइमा अभियानकर्मीसहित स्थानीयवासी र जनप्रतिनिधिको पनि सहभागिता जुट्ने गरेको छ ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी, सांस्कृतिक सम्पदा स्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् । बागमती सफाइ महाअभियान देशव्यापी जागरण फैलाउन सफल भएको छ ।

यसैगरी आज गुह्येश्वरीमाथिको बागमतीलगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । सफाइ अभियान जारी रहे पनि दीगो हुन नसकेमा भने चिन्ता व्यक्त हुन थालेको छ ।

भाइबहिनीको प्रेमको प्रतीक मिथिलाञ्चलको सामा चकेवा पर्व सुरु

सुभाष कर्ण | कात्तिक १२, २०७९

जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रमा भाइबहिनीको प्रेमको प्रतीक मानिने सामा चकेवा पर्व आजदेखि विधिवत रूपमा सु...