झापा ‘बी’ डिभिजन लिगमा बढुवा
काठमाडौँ – झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ‘सी’ डिभिजन फुटबल लिग अन्तर्गत बिरगंज युथ क्लबलाई ५-० ले पराजित गर्दै झापा ‘बी’ डिभिजनमा बढुवा भएको हो ।
१४ टिमको सहभागिता रहेको लिगमा झापा एक खेल अगावै ’बी’ डिभिजनमा बढुवा भएको हो । १२ खेलबाट झापाले ३१ अंक जोडेको छ । यता प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमीको १२ खेलमा समान २८ अंक रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार झापाले आरसी ३२ लाई पराजित गरेका कारण अब अन्तिम खेलमा पराजित भए तथा आरसी ३२ ले आफ्नो अन्तिम खेलमा जित हात पारेपनि झापा हेड-टु-हेडका आधारमा माथि रहनेछ ।
झापाको जितमा पुजन राईले ४ तथा सन्तोष लावतीले एक गोल गरे ।
यसैबीच बिरगंज युथ भने ‘सी’ डिभिजन छनोटमा घटुवा भएको छ । बिरगंजले १२ खेलबाट केवल ५ अंक जोडेको छ । यता १२ खेलबाट ४ अंक जोडेको ओसिस क्लब पनि घटुवा भइसकेको छ ।