भरतपुर विमानस्थल विस्तारका लागि भोलिदेखि सर्भे हुने
चितवन- भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्न लागिएको हो ।
विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने छ । सर्भेको काम सोमबारबाट सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भए अनुरूप काम सुरु हुन लागेको हो । भरतपुर विमानस्थलका प्रमुख दीपक विकका अनुसार आज नै प्राविधिकहरूको टोली चितवन आइपुग्दै छ । उनले भने, 'सोमबारदेखि काम अघि बढाउँदै छौं । एक हप्ताभित्र सर्भेको काम सम्पन्न हुनेछ ।'
नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो । बैठकले विमानस्थल विस्तार र घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण एक साथ अगाडि बढाउने सहमति गरेको हो । सर्भेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने छ ।
यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ । गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहोर्ने छ ।
विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र लगायत संरचना छन् । कूल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर-पश्चिमतर्फ चार सय १२ मिटर विस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ ।
ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ । हाल विमानस्थलको धावनमार्गको लम्बाइ कम भएकाले ठूला जहाज उडान-अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार भएपछि यहाँबाट रात्रिकालीन उडान, ठूलो क्षमताका जहाज, धेरै वटा उडान सुरु हुने र हवाई इन्धनको पनि सेवा उपलब्ध हुने हुनेछ । प्रमुख दाहालले सबैतिरबाट एकसाथ काम अघि बढ्ने भएकाले विमानस्थल विस्तार छिट्टै हुनेमा विश्वास व्यक्त गरिन् ।