रथयात्रा अवलोकन गर्न १३ मेयर विराटनगरमा
विराटनगर- विराटनगरको राधाकृष्ण रथयात्राको रौनकता र महत्व थप्नका लागि निमन्त्रणा गरिएका विभिन्न महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयरहरु बुधबार साँझ नै विराटनगर आइपुगेका छन् ।
रथयात्रा अवलोकन र सहभागीताका लागि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विराटनगर आइपुगेका हुन् ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनकुमारी लामा, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय र जितपुर सिमरा उपमहानगरपालिका मेयर राजन पौडेल पनि विराटनगर आइसकेको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।
रथयात्रा अवलोकनका लागि कञ्चनपुरको भिमदत्त नगरपालिकाका मेयर पदम बोगटी, डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी, गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगर, पाल्पाको तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमेद खान, सुर्खेतको विरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया भण्डारी र काभ्रेको पनौति नगरपालिकाका मेयर रामशरण भण्डारी पनि विराटनगर आइपुगेका छन् ।
उनीहरुलाई विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र उपमेयर कार्कीले स्वागत गरेका थिए । रथयात्रामा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'समेत सहभागी हुने आयोजक समितिले जानकारी दिएको छ ।