पालिका प्रमुखको राजीनामा माग्दै बुढीगंगा गाउँपालिकाका निष्कासित कर्मचारी आन्दोलित

इकागज | साउन २३, २०८०

विराटनगर- मोरङको बुढीगंगा गाउँपालिकाले निष्कासन गरेका २६ जना करार सेवाका कर्मचारीहरूले पालिकाका अध्यक्ष जीत नारायण थापा मगरको राजीनामा माग्दै आन्दोलित बनेका छन् । उनीहरूले अध्यक्ष थापा मगरको कार्यकक्षमा तालाबन्दी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

कर्मचारीहरूले गाउँपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन् ।

साउन १ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले करारमा नियुक्त गरिएका ६२ कर्मचारीहरू मध्ये ३६ जनाको मात्रै म्याद थप्ने निर्णय गर्दै बाँकी २६ जनालाई कार्यालयमा हाजिर गर्न नआउनु भन्दै मौखिक जानकारी गराएको जनाइएको छ ।

बिनाजानकारी निकालिएको भन्दै आन्दोलित बनेका कर्मचारीहरूको तालाबन्दी गरेपछि मंगलबार दिनभर पालिकाको सेवा प्रवाह प्रभावित भयो । जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राही कार्यालयले पालिकाभित्र प्रवेश गर्नै पाएनन् । 

हाजिर गर्न नआउनु भन्दै हटाइएकी स्वास्थ्य शाखामा कार्यरत रहेकी सामाजिक परिचालक सुनिताकुमारी माझीले कुनै पनि मापदण्ड नबनाई पूर्वाग्रहपूर्ण रूपमा व्यवहार गरिएको गुनासो गरिन् । उनले सव–इन्जिनियर विवेक बाबु थन्थार, अमिन विज्ञाननन्द चौधरी, पालिका अस्पतालमा कार्यरत अहेव मैया बन्जरा, स्मारिका चौधरी र अम्बिका बुढाथोकी, कार्यालय सहयोगीहरू सहति चौधरी, उषा मोदी, निरज चौधरी, सुरक्षागार्ड महारानी चौधरी लगायतको हाजिर रोकेको जानकारी दिइन् ।

‘कार्यालय सहयोगीका रूपमा कार्यरत सुकुम्बासी र एकल महिलाहरू पनि निकालिएका छन्, तर दुईतले घर भएका र श्रीमान् नै सरकारी जागिरे भएका कर्मचारीहरूलाई भने जोगाइएको छ,’ माझीले भनिन्, ‘करारका ६२ जना कर्मचारी मध्ये २६ लाई मात्रै निकालियो, तर कसैको कार्यसम्पादन मूल्याकंन हेरिएन, कसले के काम कर्तव्य पुरा गरे नगरेको भन्नुपर्थ्यो, कारण खुलाइदिनुस् भन्दा पनि केही जवाफ आएन ।’

कर्मचारीलाई निरन्तरता दिने कि हटाउने विषयमा विगतमा साउन १ को कार्यपालिका बैठकमा पालिका अध्यक्ष थापा मगर र उपाध्यक्ष गच्छदारबीच विवाद समेत भएको थियो । उक्त निर्णयमा उपप्रमुख गच्छदार र प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले समेत हस्ताक्षर नगरेको कर्मचारी स्रोतले जनाएको छ ।

उपाध्यक्ष दोस्रो पटक निर्वाचित भएकी हुन् । यसअघिका प्रमुख बालचन्द्र माझी र उपप्रमुख गच्छदारले प्रदेश लोकसेवा आयोगको समेत परामर्श समेत नलिई करारमा ठूलो संख्यामा कर्मचारी भर्ना गरेका थिए ।

वर्तमान अध्यक्ष थापा मगरले भने करारका कर्मचारीहरू धेरै हुँदा पालिकाको स्रोतले धान्न नसक्ने अवस्था बनेकोले नियम अनुसार नै कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको बताएका छन् ।

निष्कासित कर्मचारीहरूको आन्दोलनपछि मंगलबार नै पालिका अध्यक्ष थापा मगर र पूर्व अध्यक्ष माझी समूहबीच वार्ता समेत भएको जनाइएको छ । तर, वार्तामा कुनै ठोस सहमति नभएकोले कर्मचारीहरूले भने शान्तिपूर्ण विरोध जारी राख्ने बताएका छन् ।

विराटनगर महानगरले दुई अस्पतालबाट डेंगीको निःशुल्क परीक्षण गर्दै

इकागज | साउन २३, २०८०

काठमाडौँ- विराटनगर महानगरपालिकाले डेंगी परीक्षण निःशुल्क गर्ने भएको छ । महानगरपालिका अन्तर्गत रहेको अस्...

युवा सांसदलाई राखेर विराटनगरका उद्योगी व्यवसायीले सोधे : सानो गल्तीमै ‘थुन्ने कि सुन्ने ?’

इकागज | साउन १९, २०८०

विराटनगर- उद्योग व्यवसाय सञ्चालनका क्रममा सानातिना गल्तीहरूमा पनि सरकारले विभिन्न बहाना बनाएर पक्राउ गर्न...

नयाँ सरकार गठनको प्रारम्भमै सत्ताको फोहोरी खेल सुरु भयो : कार्की

इकागज | साउन १८, २०८०

विराटनगर- नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नयाँ सरकार गठनको प्रारम्भसँगै कोशी प्रदेशम...