साताको सेयर बजार

सेयर बजार निरन्तर ओरालोतर्फ, साताभरमा ७६ अंक घट्यो परिसूचक

इकागज | साउन २८, २०७९

काठमाडौँ – धितोपत्र बजार यो साताको कारोबारमा पनि उल्लेख्य गिरावट आएको छ। साताभरको कारोबारमा बजार परिसूचक ७५ दशमलव ६३ घटेको हो। साताभर सेयर बजारमा बिक्री गर्नेको चाप पर्दा बजार परिसूचक निरन्तर ओरालो लागेको छ। 

गत साता २७ अंक घटेर २११३ मा रहेको बजार यो साता ७५ अंक घटेर २०३७.९२ मा ओर्लिएको छ। यस साता ५ दिनको कारोबारमा ४ दिन घट्दा जम्मा १ दिन मात्रै बजार बढेको थियो।

साताको पहिलो कारोबारको दिन आइतबार परिसूचक नेप्से १०.२७ अंकको वृद्धि पश्चात बजार लगातार ओरालो लागेको थियो । दोस्रो दिन सोमबार फेरि नेप्से १७.६७ अंक घटेर २१०६ अंकमा झऱ्यो । यस्तै मंगलबार ४३.३५ अंक घट्यो भने बुधबार थप ५.११ अंक घटेपछि नेप्से २०५७ अंकमा ओर्लियो । बिहीबार १८.९६ अंक घटेसँगै यो साता २०३७ झरेको थियो । शुक्रबार जनै पूर्णिमा परेको हुँदा सेयर बजार बन्द रह्यो।

 

कारोबार दिन

अंक घटबढ

कारोबार रकम

आइतबार

१०.२७

२ अर्ब ६७ करोड

सोमबार

१७.६८

२ अर्ब ८५ करोड

मंगलबार

४३.३५

२ अर्ब ८१ करोड

बुधबार

५.९१

१ अर्ब  ९३ करोड

बिहीबार

१८.९६

१ अर्ब ७६ करोड

जम्मा

७५.६३

१२ अर्ब २ करोड

कारोबार रकम

यस सातामा कुल कारोबार ४७ प्रतिशतले घटेको छ। गत साता २२ अर्ब ९९ करोड रूपैयाँको कारोबार भएको सेयर बजारमा यस साता १२ अर्ब २ करोडको कारोबार भएको छ।  यस साता बजार परिसूचक ओरालोसँगै कारोबार रकममा पनि गिरावट आएको छ। साताको सुरुवातको कारोबारका दिन आइतबार २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार २ अर्ब ८५ करोड र मंगलबार २ अर्ब ८१ करोड रुपैयाँको कारोबार हुँदा अन्य दिनको कारोबार रकम भने २ अर्ब तल रहेको थियो।

साताको चौथो कारोबारको दिन बुधबार १ अर्ब ९३ करोड र अन्तिम कारोबारको दिन बिहीबार १ अर्ब ७६ करोडमा झरेको थियो। यस साता कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नबिल बैंक, हिमालयन एभरेष्ट इन्स्योरेन्स तथा नागरिक लगानी कोष अन्य भन्दा अगाडि रहेको थिए।

गत साता ३० खर्ब १५ अर्ब ८९ करोडमा रहेको सेयर बजार पुँजीकरण यस साता घटेर २९ खर्ब १० अर्ब ४२ करोडमा झरेको छ।  अर्थात साताभरमा लगानीकर्ताले १ खर्ब ५ अर्ब बढी रकम गुमाएका छन् ।