अक्सिजन बोतल

गोकर्ण देवकोटा | जेठ २२, २०८०

कलङ्की चोकबाट गाडी छुट्ने स्थान नजिक केही मानिसहरू यात्रुलाई यात्राको लागि पानी, खाजा बेचिरहेका हुन्छन् । चर्को स्वरले कराउँदै २० रुपैयाँमा शुद्ध पानी-पानी भन्दै पानीको विज्ञापन हाम्रो लागि नौलो विषय होइन ।

काठमाडौंका रैथाने अग्रजहरूले हिँड्डुल गर्दा उपत्यकाभित्र नै यसरी पानीको बोतल बोक्नु पर्छ भन्ने सपनामा पनि सोचेका थिएनन् होला । प्रत्येक केही सय मिटर दूरीका ढुङ्गेधारामा नै जीवन चलाउन जानेका यहाँका हाम्रा अग्रजहरूलाई नियमित पानी एउटा सपना बनेको छ । विकासको नाममा फैलँदो अव्यवस्थित शहरीकरणले ढुङ्गेधाराको ढुङ्गा बाहेक धारो गायब भएपश्चात् र मेलम्चीको कथाले लय नसमातेपश्चात् अब बोतलको विकासे पानी निर्विकल्प बनेको छ ।

मिथक नै सही, उपत्यका वरपरका डाँडाहरूमा रैथाने पूर्वजहरूले लगाएका जंगल जोगाउन राजा सुरेन्द्रले पात पतिङ्गरदेखि जनावर छुन नपाइने अति महंगो जरिवाना लगाए । आज काठमाडौँका करिब ५० लाख जनसंख्याले त्यही उर्दी र जरिवानाबाट संचित उपत्यकाका वरिपरि जंगलबाट प्राप्त अक्सिजन नि:शुल्क उपभोग गरिरहेका छन् ।

कथितविकास र अव्यवस्थित शहरीकरणको प्रभावले तीव्र शहर पस्ने हुटहुटी दिनदिनै फस्टाएको छ । त्यसैको फलस्वरुप २ आना भन्दा कम क्षेत्रफलमा चक्का-चक्कामा जमिन काटिएको छ । प्रत्येक टुक्रामा घर बनेका छन् । खुल्ला ठाउँ भेट्न कि टुँडिखेल छिर्नु पर्छ कि त थानकोट काट्नु पर्छ ।

हुटहुटीकै मारमा नजिकका जंगल र जंगल वरिपरिका क्षेत्र परेका छन् । डोजरले क्षत-विक्षत बनेका उपत्यकाका काँठहरूको कथा वियोगान्तक छन् । बिस्तारै उपत्यकाका डाँडाहरूमा हाम्रो विकासे भ्रमले आँखा गाडिरहेको छ । पल्लो गाउँ जान त्यही जंगलबीचकै सडक चाहिएको छ, सिमेन्टको पार्कको लागि त्यही जंगलको जमिन उपयुक्त लाग्न थालेको छ ।

हाम्रो पालामा हामीले उपत्यकाको वरिपरिको जंगल मास्न सुरु गर्यौ । हाम्रो अन्तरनिहित संकल्प छ “हाम्रो पालामा मासिसक्छौँ ।”

उपत्यका धुवाँ-धुलोले बसि नसक्नु छ । यसलाई दैनिक रुपमा हामीले स्वीकार गरिसकेका छौ । नाकले  गन्ध थाहा नपाउने रोग हामीलाई सामान्य लागि सकेको छ । घाटी खसखसाउने, आँखा पोल्ने जस्ता वायु प्रदूषणको विकल्प एलोपेथिक औषधिको व्यापार राम्रो फष्टाएको छ । पैसा तिर्नेबित्तिकै स्वच्छ हावा होइन औषधि पाएका छौं । 

शहर कंक्रीट र प्लास्टिकले भरिएको छ । हाम्रो भान्छा, सुत्ने कोठा, शौचालय प्लास्टिकमय छ । फूल प्लाष्टिकको, विरुवा प्लास्टिकको, गमला प्लास्टिकको, बोतल प्लास्टिकको, खाने थाल, पस्कने पन्यू, राख्ने भाडोँ प्लास्टिकको । प्रकृति संरक्षण सम्बन्धी हुने छलफलमा हामी निर्धक्क प्लास्टिकको कुर्सीमा बसी प्लास्टिकको बोतल अगाडि राखी वातावरण संरक्षणको गफ चुटिरहेका छौं ।

बाटोको लम्बाइभन्दा सवारी साधनको संख्याको लम्वाई लामो छ । सडकमा गुड्ने सार्वजनिक सवारीको कयौँ गुणा निजी सवारीले ढाकेको छ । एउटा सरकारी गैरसरकारी बैठकमा सहभागी हुने एकै कार्यालयका ४ जना पदाधिकारीहरू ४ वटै सवारी साधन लिएर जान्छौँ  । सडकमा निस्किएका ९५ प्रतिशत सवारी साधनले सिट क्षमताअनुसार भरिएर हिँडेका छैनन् तर वातावरण प्रदूषण भने बराबर नै छ । ती सवारी साधन भित्रँदा वा प्रयोग गरेबापत लिइने करको १ प्रतिशत पनि वातावरण सुरक्षालाई प्रयोग गरिरहेका छैनौँ र गरेको पनि देखिँदैन । यस्तो मनोवृत्ति र संस्कार बढेको छ कि सवारी साधन आवश्यकता नभइ विलासिता एवं शोख देखाउने प्रवृत्ति बनेको छ ।

यस्तो अवस्थामा हामी संसारकै दुर्गन्धित शहरको सुखी बासिन्दा बनिरहेका छौं । यो वास्तविकताबीच सफा हावा वा पर्याप्त अक्सिजन हाम्रो आवश्यकता भएता पनि बिस्तारै न्यून हुदैछ । एकदिन हाम्रो पालामा सडक-सड्कमा अक्सिजनका बोतल पानीको बोतल जसरी उपलब्ध हुनेछ । अक्सिजन क्याफेको व्यापार चल्ने छ । विद्यालय तथा कलेजहरूले आफ्नो होडिङ्ग बोर्डमा ठूला ठूला अक्षरले ८० प्रतिशत अक्सिजनसहित भनेर विज्ञापन गर्नेछन् । हाम्रो सार्वजनिक सवारी साधनहरूमा अक्सिजन फ्रि को बोर्ड हुनेछ, हाम्रा नजिकका कंक्रिट पार्कमा अक्सिजनको मात्रा अक्सिजन सिलिण्डरले पूरा गरेको हुनेछ ।

हामी आफ्नै पालामा यति विकास गर्न तत्पर, प्रयत्नशील छौं । हामी नेपाली हौं, लक्ष्य प्राप्त गर्नु हाम्रो ध्यान हो । हामीलाई विकासको बाटो अवरुद्ध पार्नु छैन, त्यसैले अक्सिजन उत्पादन गर्ने प्लान्ट अहिले आयात गरी व्यवसाय सुरु गरौं । राज्यलाई व्यापारमा प्रोत्साहन गरौं । अक्सिजन आयात गर्ने कानुन अहिले नै बनाऔं । जे होस विकास त चाहिएको छ ।

अक्सिजन व्यापारले हाम्रो आन्तरिक अर्थतन्त्र बलियो हुनेछ । अन्तर्राष्ट्रिय समुदायलाई हामी गर्वको साथ भन्ने छौँ “हाम्रो चोक-चोकमा, प्रत्येक होटलमा, प्रत्येक विद्यालयमा, प्रत्येक सरकारी कार्यालयमा विभिन्न क्षमता अनुसारको अक्सिजन बोतल पाइन्छ ।” हामी यही वर्षको  बजेटमा अक्सिजन उत्पादन गर्ने सरकारको प्राथमिकता समेटौँ र प्रत्येक वर्षको उपलब्धिमा अक्सिजन उत्पादनको प्रतिशत राखौँ ।

काठमाडौँ वरिपरिका जंगलले हामीलाई घाम छिर्न दिएनन् । यिनलाई यसपालि नै विकासले समेटौं । अबको केही वर्षमा चर्को स्वरले अक्सिजन क्याफेमा बसेर प्लाष्टिकको अक्सिजन बोतल समात्दै उद्‍घोष गरौं “हामी अक्सिजन व्यापारमा आत्मनिर्भर छौ ।” 

विश्व वातावरण दिवसको शुभकामना । [email protected]

महाकालीको डीपीआर होइन, अब नयाँ सन्धि गर्नुपर्छ

महाकाली सन्धिअन्तर्गत पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनामा सक...

भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार

एकराज पाठक | जेठ १७, २०८०

“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसक...

प्रधानमन्त्रीलाई जनताको सवाल :  लोकतन्त्र लुटतन्त्रमा परिणत भएकै हो ?

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड ज्यू, नेपालको कार्यकारी प्रमुख पदमा तेश्रो पटक पुग्नु भएकोमा ढि...