जनताका लागि नेताले के-केसम्म गरोस् !

अर्जुन अपवाद | जेठ ८, २०७८

समय बलवान् छ, त्यसै भनिएको हैन रैछ । आफ्नो घर देखेर तर्सनुपर्ने अवस्था भूकम्पले ल्यायो । जुटेर हैन, फुटेर अगाडि बढौँ भन्ने अवस्था यो कोरोना भाइरसले । 
महामारीकै रूप लिएको छ, कोरोना भाइरसले अहिले । उसै पनि स्वास्थ्य सेवा आम नागरिकलाई सहज पहुँचमा हुनुपर्छ भन्ने गोविन्द केसीहरू ‘पागल’ हुने देश हो, नेपाल । यस अवस्थामा स्वास्थ्य सेवा आफ्नो पूर्ण क्षमतामा चलिरहेको छ । यो पूर्ण क्षमताले महामारी धान्न सकेको छैन । यसैले समाचारहरू आइरहेका छन्— अस्पतालमा बेड नपाएर बिरामीको मृत्यु । अक्सिजनको अभावमा बिरामीको मृत्यु । काठमाण्डूका अस्पतालमा बेड नभएपछि बिरामीलाई उपत्यका बाहिर लगियो । यसैले हाम्रो स्वास्थ्य सेवाको हैसियत देखाउँछ । 
 
महामारीले धेरैको ज्यान लिइसकेको छ । यसैमा बागमती प्रदेश सभाका सांसद पशुपति चैलागाईं पनि थपिए । उनीसँगका केही सम्झना:

१.
जिरी लामोसाँघु सडकमा एकाधिकार थियो, अरनिको यातायातको । एकाधिकार अन्त्य गर्न अभियान चलायो, एउटा संस्थाले । खर्च पनि राम्रै गर्यो‍ । एकाधिकार सकियो कि सकिएन, अहिले अवस्था छर्लङ्ग छ । कार्यक्रमकै सिलसिलामा एउटा बहसमा पशुपतिलाई बोलाइएको थियो । कार्यक्रम सकिएपछि उनले भनेका थिए-मैले विद्यार्थी राजनीति गर्दा भक्तपुर काठमाण्डुका पुराना बसको एकाधिकार हटाउन खोजेको । उनीहरूका कामदार नै धेरै हुने रैछन् । नयाँ जानेले त तिनीहरूको सामना नै गर्न सक्ने रैनछ । अरनिकोका पनि ३ सय बसका करिब ९ सय त कामदार नै छन् । यो २०६२ तिरको प्रसंग थियो । 

२.
२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उनी एमालेको तर्फबाट उम्मेदवार थिए । उनको घर मेरो घरबाट २ घण्टा पैदल दूरीमा पर्छ । निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको थियो । चैत २७ गते । गाउँमा एकजनालाई करेन्ट लागेर हामीले उनको घरछेउकै बजार मैनापोखरी लैजानुपर्ने भयो, उपचारका लागि । उनी त्यस दिन त्यही बजारमा रहेछन् । माओवादी त्यसबेलाको उदाउँदो शक्ति थियो । त्यसै भएर बजारमा माओवादीले उनीमाथि आक्रमणको प्रयास गरे । माओवादी नेताहरू सँगै रहेछन् । अप्रिय अवस्था सिर्जना भएन । उनले पनि केही भन्न खोज्दै थिए । माओवादीहरूले उनलाई बोल्न दिएनन् । आफ्नै घरआँगनमा बोल्न नपाएका उनले चुनाव जित्ने कुरै भएन । संविधान जारी गर्न नसकी अन्त भएको संविधानसभामा उनले भाग लिन पाएनन् । 

३.
पूर्णकालीन पत्रकारका रूपमा मैले उनीसँग कतिपटक कुराकानी गरेँ, ठ्याक्कै याद छैन । दुईओटा चाहिँ सहकारीका बारेमा थिए । दोलखा मात्र नभई नेपालकै राम्रा सहकारीमध्येमा पर्ने जनसचेतन सहकारीको रेडियो कार्यक्रमका लागि र उसकै रजत स्मारिकाका लागि अन्तर्वार्ता लिनु थियो । अन्तर्वार्ता दिने विषयहरूमा उनी सहज थिए । रजत स्मारिकाका लागि अन्तर्वार्ता काठमाडौँमा लिएको थिएँ । अन्तर्वार्ता सकेपछि उनले आइप्याडमा मलाई केही तस्बिर देखाएका थिए । ती तस्बिरमा व्यावसायिक कृषि गर्दै गरेका किसानहरूका तस्बिर थिए । एकजना उनीसँगै कृषिबारे कुरा गर्न आएका जनता (कार्यकर्ता ?)लाई उनले भनेका थिए, अब यसमा कसलाई के भन्नुपर्ने हो, म भनुँला । सायद त्यो कुनै कृषिसम्बन्धी योजना नै थियो । त्यसबेला मलाई लागेथ्यो, साँच्चै हाम्रा कति राजनीतिज्ञहरूमा अरुलाई देखाउन यस्ता उदाहरणहरू होलान् ? भाषण दिनु र व्यवहारमा उतार्नु कति फरक छ ! 

४.
एकपटक काठमाडौँ जाँदा हामीबीच अन्तरङ्ग कुराकानी भएको थियो । विष्णु पौडेलसँग जोडिएको बालुवाटार प्रसङ्गले बजार तताएको थियो । मैले यसै विषयमा कुरा गरेँ । त्यसमा उनले जवाफ दिए, ‘खराब काम गरेपछि आज या भोलि त्यसबारे जवाफ त दिनैपर्छ नि !’ उनको आत्मविश्वासयुक्त जवाफ सुनेपछि मलाई लागेथ्यो, यदाकदा बजारमा सुनिने सुकुम्बासी आयोगमा बस्दा तराईमा कठ्ठाका कठ्ठा जग्गा आफ्ना नाममा जोडेको भन्ने कुरा पनि विशुद्ध राजनीतिक दाउपेच मात्रै हो । 
यो यात्रामा उनले ३६ सालको जनमत संग्रहमा दोलखामा कसरी निर्दलले जित्यो ? भीमबहादुर तामाङसँग सल्लाह लिन हिँडेका देवी न्यौपाने भेटेपछि योजना कसरी परिवर्तन भयो ? दोलखामा कम्युनिस्ट आन्दोलन सुरुवात कसरी भएको थियो ? हनुमन्तेश्वरमा कसरी निम्न माध्यमिक तहको पढाइ सुरु भयो ? लामोसाँघु जिरी सडकमा बाँडिएको मुआब्जाले कसरी मानिसको ज्यान गएको थियो ? यस्तै यस्तै विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा समाज विकासको गतिमा नै छ भन्नेमा हामी सहमत भएका थियौँ । 

५.
ठ्याक्कै एक महिना अगाडि । एकजनाले पशुपतिलाई भेट्नुपर्यो‍ भने । मैले के काम छ भनेँ । उनले एउटा धार्मिक संस्थामा विवाद रहेको र त्यसको समाधानका लागि उनले पहलकदमी लिइदेऊन् भनेर कुरा गर्न भेट्न खोजेको भने । पशुपति दोलखामा नै भएको मलाई थाहा थियो । मैले कहाँ हो भनेर फोन गरेँ । उठेन । त्यसपछि मेसेज गरेँ । उनले मेसेजमा नै जवाफ दिँदै राइजिङ स्टार स्कुलमा भएको बताए । हामी उनले भनेकै स्थानमा पुग्यौँ । राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोहमा व्यस्त रहेछन् । मसँगै गएका व्यक्तिले यस्तो भिडभाडमा त के कुरा गर्न सम्भव होला र ? म पछि फोनमा नै कुरा गरुँला भनेपछि हामी त्यहाँबाट फर्कियौँ । 
फर्कंदै गर्दा लाग्यो । ‘हामी जनता नेताहरूले के के मात्रै गरिदिए हुन्थ्यो भन्ने ठान्छौँ । साँच्चै नेताले गर्नैपर्ने काममा जनताका यस्ता कामले कति अलमल्याउँछ होला ?’ त्यही सन्देश नै हामीबीचको अन्तिम सन्देश हुन पुग्यो । 

कोभिड भएको थाहा पाएपछि फोन तथा एसएमएस गर्न मन लागेन । पहिलो लहरमा कोरोना संक्रमित मेरो एकजना साथीले त फोन र सन्देशका कारण बिरामी अवस्थामा झन् तनाव थपियो भनेर गत वर्ष फेसबुकमा लेखेका नै थिए । समस्यामा परेका बेला झन् तनाव किन दिनु र !
जन्मनु जति शाश्वत सत्य हो, मृत्यु पनि त्यत्ति नै । तर यो सत्य हामी स्वीकार्न सक्दैनाँै । यसैले मृत्युका समाचारमा नरमाइलो लाग्छ । मन भारी हुन्छ । तैपनि सत्य त यही नै हो । नस्वीकारेर हुँदैन । पशुपति दाइ । अन्तिम बिदाइ !
@apawaad

राष्ट्रपतिको भूमिका सम्पूर्ण रूपले नियोजित र प्रायोजित

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ अनौठो विज्ञप्ति जारी गरिन् । नेपालको संविधानमा चार प्रकारका सर…

‘रामराज्य’मा रामको हार र विद्यादेवीमार्फत् ओलीले देखाए मूढेबल

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र उनका शक्तिशाली गृहमन्त्री रामबहादुर थापालाई सर्वोच्च अदालत र …

के प्रधानमन्त्री ओलीले गल्ती महसुस गर्नु मात्र पर्याप्त हो ?

विनोद सिजापती | जेठ ६, २०७८

कुनै पनि सवारी चालकको प्रमुख जिम्मेवारी पैदल यात्री तथा अन्य सवारी साधन जोगाउँदै वा जोगिँदै गन्तव्यसम्म पु…

दम्भ, दाउपेच, स्वार्थ, ईर्ष्या चुलिँदो; प्रतिष्ठा र प्रशंसा पनि प्रायोजनमा

गोपीनाथ मैनाली | जेठ ५, २०७८

‘प्रेमले भरिएका आँखा, श्रद्धाले झुकेको शिर, सहयोग गर्दै गरिएका हात, सत्मार्गमा हिँड्दै गरेका पाउ र स…

संविधानले केपी ओली चिन्दैन, खड्गप्रसाद शर्मा ओली मात्र चिन्छ

अमितकुमार कर्ण | जेठ ४, २०७८

प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइबाट अल्पमतमा झरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०…

कोभिड महामारीमा आपतकालीन सेना परिचालनको योजना ?

अक्षय तृतीयाका दिन खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्रीको शपथ दोहोर्‍याइरहँदा देशभर कोरोना भाइरसको कोला…

संसद्को विश्वास प्राप्त नगरेको सरकारले नियमित बजेट ल्याउन मिल्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन बोलाएको वैशाख २७ को विशेष अधिवेशनमा विश्वासको मत प्…

आउनुस्, सबै मिली ‘पागल’ गोविन्द केसीलाई फेरि गाली गरौँ

मधुसूदन सुवेदी | जेठ २, २०७८

सत्ता-शक्ति भएका व्यक्तिले जे जस्तो स्वास्थ्य सेवा-सुविधा पाउँछन्, आममान्छेले पनि त्यस्तै पाउनुपर्छ भन्ने समाजवाद…