अपार स्रोतले सम्पन्न नेपाल किन थाल थाप्ने हैसियतमा छ ?

पूर्णबहादुर परियार | बैशाख १७, २०७९

जोखिमबाट तर्किने, डराउने जो कोही पनि जिन्दगीको खास मज्जा लिन सक्दैन र हामी अधिकांश नेपाली त्यो प्राणीमध्ये एक हौँ । मुलुक बिग्रेको हाम्रो सानो सोचको उपज सानो परिणामले हो । अहिले वित्तीय क्षेत्रमा देखिएको तरलतालाई निर्देशित गर्दै विज्ञ अनविज्ञ सम्पूर्ण तह तप्काका व्यक्तिहरू सोचिरहेका छन्, तरलता सुक्यो कसरी ? हामी राष्ट्रलाई माया गर्छौं तर पहिले ‘म’ अनि राष्ट्र । कहिल्यै हुन सकेन, पहिले ‘राष्ट्र’ अनि म ।

स्वदेशमा सरकारले शिक्षाको निमित्त अर्बौं रुपैयाँ खर्च गरेको छ तर ग्रामीण क्षेत्रका प्राथमिक विद्यालयहरू प्रायः खाली भइसकेका छन् । हामीले तिरेको करबाट सञ्चालित त्यो विद्यालयमा हामी आवाज उठाउँदैनौँ तर निजी विद्यालयको शुल्क भने चर्को भए पनि चुपचाप तिर्छौं । किनकि यहाँ ‘म’ महत्वपूर्ण छ र ‘हामी’ गौण छ । अहिले ५० वर्ष पुग्ने पुस्ताहरूलाई युवा नै भन्नुपर्छ र भन्न सक्दैनौँ कि सरकारी विद्यालय या सुधारौँ या खारेज गरौँ । हरेक बच्चाको भविष्य विद्यालय र घरबाट नै सुरु हुन्छ र तर हाम्रो विद्यालयको अध्ययन (केवल किताबी ज्ञान) सिद्धिएपछि सुरु हुनथालेको छ । कसरी ? एकछिन मनन गरौँ ।

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलसँग करिब करिब मिल्छ हाम्रो भौगोलिक परिवेश । जल, जङ्गलमा धनी, कृषि अन्नबाली, मासुमाछा उत्पादनमा उच्च व्यावसायिकता कायम गर्दै विश्वभरि नै आफ्नो उत्पादन निर्यात गर्छ । एउटा बच्चा १२ कक्षा पास गर्दा उसले विद्यालयबाट एक व्यवसायी भएर निस्कन्छ । कृषि, पर्यटन, खेलकुद (फुटबल, भलिबल) सम्पूर्ण विधामा तिखार्ने विद्यालय छन्, १२ पास हुँदा बाबुआमाको कमाइबिना नै पढ्न सक्छन् । हाम्रोमा विलक्षण प्रतिभाका विद्यार्थीले मात्र मौकाको फाइदा उठाउन सफल भएका छन्, औसत विद्यार्थी कोसिस गर्दछन्, पासपोर्ट बनाउँछन्, जहाँ जस्तो काम पाइन्छ त्यतै दौडन बाध्य छन, विद्यालय र विश्वविद्यालय औपचारिक शिक्षाको थलो भएको छ, व्यावसायिकता छैन । 

ब्राजिलको २०१८ को कृषि उपजको आकाडा हेरौँ

यो अहिलेसम्म उखुको सबैभन्दा ठूलो विश्व उत्पादक (७४६.८ मिलियन टन) हो । दोस्रो स्थानमा रहेको भारतले ब्राजिलको उत्पादनको आधा उत्पादन (३७६.९ मिलियन टन) गर्छ । ब्राजिलले धेरै चिनी निर्यात गर्नुको साथै इथानोल उत्पादन गर्न धेरै उखु प्रयोग गर्दछ । इथानोल बहुउपयोगी रसायनिक यौगिक हो । इथानोललाई जैविक इन्धन पेट्रोलका रूपमा प्रयोग गर्न पनि सकिन्छ साथै औषधी, पोलिस, सौन्दर्य प्रसाधन निर्माणमा पनि प्रयोग गरिन्छ । भटमास दोस्रो ठूलो विश्व उत्पादक (११७.८ मिलियन टन), संयुक्त राज्य अमेरिकापछि दोस्रो हो । यद्यपि, ब्राजिलले २०२० मा अमेरिकी भटमास उत्पादनलाई उछिन्यो ।

मकैको तेस्रो ठूलो विश्व उत्पादक (८२.२ मिलियन टन) थियो, अमेरिका र चीनपछि दोस्रो स्थानमा थियो । सुन्तलाको सबैभन्दा ठूलो विश्व उत्पादक थियो (१६.७ मिलियन टन); चामलको विश्वको ९औँ ठूलो उत्पादक (११.७ मिलियन टन) थियो । केराको तेस्रो ठूलो विश्व उत्पादक थियो (६.७ मिलियन टन), भारत र चीन पछि दोस्रो । केराको बिरुवा हुर्काउने र बिक्री गर्ने सातौं ठूलो उत्पादक हो । यसले ५.४ मिलियन टन गहुँ उत्पादन गर्यो; यो कपासको विश्वको चौथो ठूलो उत्पादक (४.९ मिलियन टन) थियो, भारत, संयुक्त राज्य अमेरिका र चीन पछिको चौथो राष्ट्र हो ।

टमाटर (४.१ मिलियन टन) को १० औं ठूलो विश्व उत्पादक थियो; यसले ३.६ मिलियन टन आलु उत्पादन गर्यो; यो विश्वको सबैभन्दा ठूलो कफी उत्पादक थियो (३.५ मिलियन टन); सिमीको तेस्रो ठूलो विश्व उत्पादक (२.९ मिलियन टन) थियो, म्यानमार र भारतपछि दोस्रो; भुइँकटहर (२.६ मिलियन टन) को तेस्रो ठूलो विश्व उत्पादक, कोस्टारिका पहिलो र फिलिपिन्स दोस्रो, त्यसैगरी इन्डोनेसिया, फिलिपिन्स, भारत र श्रीलंकालाई पछि पार्दै नरिवल (२.३ मिलियन टन) को विश्वको ५ औं ठूलो उत्पादक थियो । तरबुजाको चौथो ठूलो विश्व उत्पादक (२.३ मिलियन टन), चीन, इरान र टर्कीसँग पछि परेको थियो यो अंगुर (१.६ मिलियन टन) को १४ औं सबैभन्दा ठूलो विश्व उत्पादक थियो । प्याज (१.५ मिलियन टन) को १४ औं सबैभन्दा ठूलो विश्व उत्पादक थियो; १.५ मिलियन टन पाम तेल उत्पादन; यो कागती (१.४ मिलियन टन) को पाँचौं ठूलो विश्व उत्पादक थियो, जसले भारत, मेक्सिको, चीन र अर्जेन्टिनालाई पछाडि पार्यो ।

५० प्रतिशत वार्षिक बजेट ऋण तथा अनुदान मागेर कति वर्ष मुलुक सार्वभौम रहन्छ ? जल, जङ्गल, जडिबुटी, जमिन भएको मुलुकले अनुदान माग्नु, सुनको थाल लिएर घर–घर खाना माग्नुजस्तै हो ।

स्याउ (१.१ मिलियन टन) को १३ औं सबैभन्दा ठूलो विश्व उत्पादक थियो । मेवाको दोस्रो ठूलो विश्व उत्पादक थियो (१ मिलियन टन), भारत पछि दोस्रो, त्यसैगरी यसले ७४१ हजार टन मीठो आलु उत्पादन गर्यो, बदाम (५६३ हजार टन) को १४ औं सबैभन्दा ठूलो विश्व उत्पादक थियो । यसले ३३० हजार टन जौ उत्पादन गर्यो । पिडालु (२३९ हजार टन) को छैटाँै सबैभन्दा ठूलो विश्व उत्पादक हो । एभोकाडो (२३५ हजार टन) को छैटौँ सबैभन्दा ठूलो विश्व उत्पादक हो । १९९ हजार टन प्राकृतिक रबर उत्पादन; काजू (१४१ हजार टन) को नवौँ सबैभन्दा ठूलो विश्व उत्पादक हो । १३५ हजार टन सूर्यमुखी उत्पादन गर्यो ।

हामीले नदेखेका, नामै नसुनेका कृषि उपजका त कुरा नगरौँ । सुन्दा अचम्म लाग्ला, ब्राजिल तेल र ग्यासको विश्वको तट १०औँ स्थान पर्ने मुलुक हो र उखुबाट इथानोल पेट्रोलमा र भटमासको तेल डिजलमा मिसाएर पेट्रोल पम्पको डिस्पेन्सरबाट बिक्री गरिन्छ । अमेरिकाका ९८ प्रतिशत पेट्रोल पम्पमा बेचिने पेट्रोलमा ९० प्रतिशत पेट्रोल र १० प्रतिशत इथानोल मिसाइन्छ जसले किफायती बढाउँछ र प्रदूषण कम गर्नमा योगदान पनि गर्दछ ।

उच्च शिक्षाका नाउँमा करोडौँ रुपैयाँ नगद र अनमोल रत्नहरू विदेश पठाउने हामी नै हौँ । कन्सल्टेन्सी शुल्क, सक्कली र नक्कली कागजात, बैंक ब्यालेन्स, हवाइभाडा, पढाइ शुल्क, सेयरिङ फ्ल्याट खर्च आदि इत्यादि । यो रकम वैध वा अवैध बाटो, रेमिट्यान्स, सम्पत्ति बेचबिखन, धितो, सरसापट, व्यक्तिगत ऋण या कमाइबाट आएको रकम नै हो । नगद छाडौँ, जसलाई दूधे बालक हुँदा एक मिनेट नजरबाट टाढा हुँदा छटपटाउने त्यो आत्मा सबै थोक गुमाएर चर्को जोखिममा आफूलाई राखेर भविष्य सुरक्षित भयो या गराइयो भन्ने सोच धारण गर्नुपर्ने छ । उता बच्चाको कथा व्यथाको चर्चा नगरौँ । सेयरिङ रूम, लिभिङ टुगेदर, कलेज र काम । कसैले त्यही रहदा बस्दा कमाएर, कसैले नेपालबाट रकम झिकाएर भए पनि फ्ल्याट-अपार्टमेन्ट खरिद गर्ने र स्तरीय जीवन बिताउने त प्रतिस्पर्धा नै छ । स्वास्थ्य क्षेत्रको चर्चा नै नगरौँ, शिक्षा क्षेत्रको जस्तै हो । अनि भन्छौँ, नेपाल बनेन, तरलता अभाव भयो ।

कृषि, ऊर्जा र पर्यटनमा हामी ठूला–ठूला कुरा गरिरहेका छौँ तर व्यवहारमा परिणाम शून्य छ । स्थानीय तहको चुनाव नजिकिँदै छ । पालिकाका जनप्रतिनिधिहरूलाई सोध्नुहोस्, अबको शिक्षा नीति के हो ? स्वास्थ्य नीति के हो ? कृषि नीति के हो ? ऊर्जा नीति के हो ? यातायात नीति के हो ? जनताको जिम्मेवारी केके हुन, जनप्रतिनिधि र तिनीहरूका मातहतमा काम गर्ने सरकारी कर्मचारीका कर्तव्य अधिकार क्षेत्रबारे स्पष्ट बनौँ र समाजप्रतिको दृष्टिकोण बनाऔँ । आजको मितिसम्म हामी बहावको उल्टोतर्फ (अगेन्स्ट त करेन्ट) पौडिरहेका छौँ ।

मैले त दुःख पाए तर मेराले दुःख नपाउन भन्ने सोच राख्ने कि हामीले त दुःख पायौँ, हाम्राले दुःख नपाउन भन्ने सोच राख्ने, त्यो विचार र विचारपश्चात् जन्मिएको सकारात्मक ऊर्जाले मात्र परिवर्तन सम्भव छ । ५० प्रतिशत वार्षिक बजेट ऋण तथा अनुदान मागेर कति वर्ष मुलुक सार्वभौम रहन्छ ? जल, जङ्गल, जडिबुटी, जमिन भएको मुलुकले अनुदान माग्नु, सुनको थाल लिएर घर–घर खाना माग्नुजस्तै हो । स्वतन्त्र मुलुकमा कर्मशील नागरिक उत्पादन गरी छाती फुलाएर बाच्ने कि अमेरिका, रसिया, भारत, चीनका वादहरूको वाचन गरी गुलामी जीवन बिताउने ? सम्पूर्ण जिम्मेवारी र अधिकार तपाईंको ।
 

के एमालेको चुनाव चिह्न बिक्रीमा राखिएको बजारको माल हो ?

संजिव कार्की | बैशाख १५, २०७९

एमालेको चुनाव चिह्न सूर्य व्यापारिक, विज्ञापनीय र व्यावसायिक ट्रेड मार्क मात्रै हो । किनभने सूर्य चिह्नबाट ...

जनताको बहुदलीय जनवाद मदन भण्डारीको आविष्कार होइन, २००७ मै थियो

इकागज | बैशाख १३, २०७९

नेपालको राजनीतिक इतिहासमा उहाँ सच्चा इमानदार कम्युनिस्ट हुनुहुन्थ्यो । सरकारमा जान, मन्त्री र प्रधानमन्त्री...