म्यादी सपना, म्यादी खुसी

रजनी हुमागाईं | बैशाख ७, २०७९

शनिबारबाहेक छोरीलाई स्कुल पुर्‍याउन टिकाथलीबाट नयाँ बानेश्वर बुद्धनगरसम्मको नियमित यात्रा । छोरीलाई स्कुल छोडेपछि त्यतैबाट अफिस जाने अर्को नियमित उपक्रम । यसरी नै बिदाका दिनबाहेक मेरो यो दैनिकीले एक दशक पूरा गरिसकद्दछेको छ । पहिला एउटा मात्र छोरी हुँदा श्रीमान्को बाइकमा बीचमा छोरी स्कूल पुर्‍याउँथे । दोस्रो छोरी जन्मेपछि भने यो सम्भवः भएन । किनभने एउटा बाइकमा चार जना यात्रा गर्न सहज भएन ।

जिन्दगी भागदौडमै चलिरहन्छ । बाध्यताले नयाँ काम सिकाउँछ । एकै बाइकमा दुई छोरी स्कुल पुर्‍याउन नमिल्ने भएपछि आफैँ स्कुटर चलाउने भएँ । अब त, सजिलो भएको छ । बिहान उठेपछि हतारमा भ्याउनुपर्ने कामका चाङ हुन्छ । खाना तयार गर्न हतार, छोरीहरूलाई स्कुल पठाउने हतार, खाना बनाएर खाएर सानो छोरीलाई माइती घरसम्म छाड्न र त्यहाँबाट अफिस पुग्नै नै हतार । 

बेलुका फेरि अफिसबाट फर्किंदा छोरीहरू लिँदै घर पुग्दा रात नै पर्छ । यसरी भागमभाग नगरे जिन्दगी गाह्रो छ, काठमाडौँमा । कहिलेसम्म होला, यो भागदौड । अनि ६० वर्ष काटेका मेरा बुबा–आमाले कहिलेसम्म मेरा छोरीहरूको हेरचाह गर्न सक्नु होला ? उमेरको हिसाबले पनि त उहाँहरूलाई आराम चाहियो । उहाँहरूलाई पनि कतै जान मन लाग्ला ? मेरो छोरीहरूको गोठालो लागेर कहिलेसम्म अल्मलिने ? मनमा यस्तै कुरा खेलाउँदै टिकाथलीबाट अफिसतिरको यात्रामा थिएँ ।

केही दिनअघि अचानक एक जना महिलाले मेरो स्कुटर अगाडि हात हल्लाउँदै रोक्न अनुरोध गरिन् । ‘तपाईं कता जाने ?’ उनले प्रश्नसँगै अनुरोध पनि गरिन्, ‘मलाई बालकुमारीसम्म छाड्दिनुस् न । तालिममा हिँडेको ढिला भयो ।’ 

मैले झलक्क उनलाई नियालेँ । हातमा झोला थियो । सायद, झोलामा खाना राखेको हटकेस अनि पानीको बोत्तल देखिन्थ्यो । मैले उनले गरेको अनुरोधमा मेरो भागदौड र हतार सम्झेँ । लाग्यो कि सहरमा कति मुस्किल छ, जिन्दगी । ‘हुन्छ, बस्नुस् ।’ मैले पछाडिको सिटतिर बस्‍न इसारा गर्दै भनेँ । 

बाटोमा उनको झोलाले अप्ठ्यारो महसुस भइरहेको थियो । तर मैले कुनै प्रतिक्रिया जनाइनँ । यही क्रममा उनको नाम सोधेँ । उनले आफ्नो नाम सीता (नाम परिवर्तन गरिएको) परियार भनिन् । कुरा गर्दै जाँदा उनी बालकोटमा बास भएको बताइन् । उनैका अनुसार, ‘भूकम्पले घर भत्किएपछि जस्ताको टहरोमा बस्दै आएकी छिन् ।’ उनले थपिन्, ‘म म्यादी प्रहरीमा नाम निकालेर तालिममा हिँडेको हुँ । 

४४ हजार दिन्छ ६-७ दिन तालिम दिन्छ । विवाह भएको छैन । सिस्टर, बुबा, आमा हुनुहुन्छ । कान्छी आमा हुन् । एकजना दिदी बित्नुभयो, एउटा दिदी हुनुहुन्छ । पहिले म सेकुरिटी गार्ड गर्थें । कस्तो गाह्रो १२–१३ घण्टा उभिएर ड्युटी गर्दा एघार हजार तलब दिन्थ्यो ।’

उनले आफ्नो जीवनकथा सुनाउन थालिन् । म स्कुटर चलाउँदै उनको कुरा सुनिरहँे । उनले भनिन्, ‘मैले त्यही म्यादीमा नाम निक्लेको अर्को बैनीलाई पनि मेरै घर जाऊँ भनेको छु, आउन–जान साथी हुन्छ भनेर । हिजो चाहिँ आफन्तको घर गई अनि म एक्लै भएँ ।’
बालकुमारी आइपुगेपछि मैले स्कुटर रोकेँ । 

‘धन्यवाद सिस्टर’, उनले स्कुटरबाट झर्दै भनिन्, ‘यहाँबाट गाडी चढेर जान्छु ।’उनले मेराबारेमा केही पनि सोधिन् । केबल आफ्नोबारेमा बोलिन्, अनि गइन् ।   

म अगाडि बढेँ । उनले छाडे पनि उनका कुराले छाडेका थिएनन् । म उनले बोलेका कुरा खेलाउँदै अघि बढिरहेकै थिएँ । सोचे कि सीता कति ठूलो मन भएकी रैछिन् । काठमाडौँमा नचिनेको मान्छेलाई पानी त दिँदैनन् । तर उनले तालिम लिन आएकी अर्की साथीलाई घरमै बास दिएकी छिन् । सुनिदिने मान्छे भए वा सुनाउने समय भएको भए उनले आफ्नो कथा अझै सुनाउँथिन् होला ।

यो सहरमा बसेपछि जीवनका अनगन्ती कथा छन् । तर सबैलाई हतार छ । कसैलाई अरुको कथा सुन्‍न र सुनाउन समय छैन । उनको कुरा सुन्दा सुनिरहूँ जस्तो लागेको थियो । तर मलाई अफिस पुग्नु थियो, जसरी उसलाई तालिम लिन पुग्‍नु थियो । 

उनीबारे अझ धेरै सोच्‍न थालेँ । उनी म्यादी प्रहरीको जागिर सकिएपछि के गर्लिन् ? घर भत्किएर टहरोमा बस्दै आए पनि उनलाई कसैसँग गुनासो थिएन । ठूलो सपना पनि थिएन । बस्, जीवन चलिरहेकामा नै खुसी देखिन्थिन् । फेरि सोचेँ कि बाँकी एक लाख म्यादी प्रहरीको जागिर खान आएकाहरूको कथा पनि त यस्तै होला नि । लाग्यो कि उनीहरूको दुःख र संघर्षको अगाडि मेरो दौडधूप फिक्का रहेछ । 

आर्थिक सर्वेक्षणको नयाँ ढाँचा निर्माणका मार्गदर्शक सिद्धान्त र अन्तर्राष्ट्रिय असल अभ्यास

नरबहादुर थापा | बैशाख ६, २०७९

अघिल्लो भागमा हामीले ढाँचा, विषयवस्तु र शैली (प्रस्तुती) परिवर्तन गर्ने साथै बजेटमा गरिएका नयाँ व्यवस्थाक...

स्थानीय निर्वाचन एजेन्डाविहीन, पार्टीगत जितहारको दाउपेच

२०४७ साल यता सत्ता र शक्तिमा रहेका नेका र एमालेबाट मुलुकमा केही सुधार तथा प्रगति हुँदैन ? हामी मात्र ...

स्थानीय निर्वाचनमा राजनीतिक एजेन्डा : गणतान्त्रिक मूल्य-मान्यताको उपहास

संविधान २०७२ अन्तर्गत लोकतान्त्रिक पद्धतिभित्र पहिलो चुनावबाट स्थापित स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यका...

हुलाक टिकटमा नेपालको इतिहास : जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म

हुलाक टिकट संग्रह (फिलाटेली) भनेको एउटा कला हो । यो प्रकाशित भइसकेका हुलाक टिकटहरूको संग्रह पनि हो ।...