गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवस
मतभेद भएपनि गिरिजाबाबुसँग स्नेह रहीरह्यो
स्वर्गीय गिरिजाबाबुसँग मेरो पहिलो भेट नख्खु जेलमा २०२३ सालतिर भएके हो । आन्दोलनका क्रममा हामीलाई पक्राउ गरेर नख्खु जेलमा लगिएको थियो । गिरिजाबाबु त्यहीँ हुनुहुन्थ्यो । अन्य राजनीतिक बन्दीहरू छुटीसकेका थिए, तर गिरिजाबाबुलाई मात्र त्यहाँ राखिएको थियो । त्यहाँ उहाँसँग भेट भयो । हामीलाई नेपाली कांग्रेसको राजनीतिका बारेमा त्यति थाहा थिएन । हामीलाई करिब दुई महिना राखियो । त्यतिबेला गिरिजाबाबुसँगै हाम्रो भान्छा थियो । उहाँले हामीलाई नेपाली कांग्रेसको इतिहासबारे बताउनुहुन्थ्यो ।
उहाँले जेलमै हामीलाई मजदूर आन्दोलनदेखि अन्य घटनाक्रम सुनाउनुभएको हो । पछि उहाँ छुट्नुभयो । त्यसपछि विभिन्न स्थानमा बसेर राजनीतिक गतिविधि गर्न थाल्नुभयो । बाहिर निस्केपछि हाम्रो बाक्लै भेटघाट हुनथाल्यो । हामीले विद्यार्थी आन्दोलन गर्थ्यौं । त्यतिबेला प्रजातान्त्रिक र अखिल दुईओटा विद्यार्थी संगठन थिए । उहाँ जुन पक्षमा लागेपनि लाग, तर आन्दोलनलाई निरन्तरता देऊ भन्नुहुन्थ्यो । पछि बीपी कोइराला जेलमुक्त भएपछि उहाँ भारत जानुभयो, उहाँ भारत गएपछि पनि भारत प्रवासमा हाम्रो निरन्तर भेटघाट र छलफल हुनथाल्यो ।
गिरिजाबाबु कहिले नथाक्ने, कसैसँग नझुक्ने र सिद्धान्तमा सम्झौता नगर्ने व्यक्ति हुनुहुन्थ्यो । यस्तो मान्छे धेरै कममात्र हुनसक्तछन् । उहाँको यो पक्षले मलाई सधैं प्रेरित गरिरह्यो । उहाँसँगको समीप्यताका घटना कतिछन्, त्यो भनिसाध्य छैन । सुरजपुरामा उहाँलाई झण्डै मारिसकेका थिए । तरपनि उहाँको यात्रा रोकिएन, उहाँ जहिले पनि अगाडि बढ्ने, कार्यकर्तालाई उत्साह दिने र निडर भएर हिंड्ने गर्नुहुन्थ्यो । जसले गर्दा कार्यकर्ताहरूमा आत्मविश्वास भरिन्थ्यो, उनीहरू उर्जावान् हुन्थे ।
२०४८ मा गिरिजाबाबुको नेतृत्वको सरकारमा म गृहमन्त्री भएर साढे तीन वर्ष काम गरें । मेरो मन्त्रालयमा उहाँले कुनै हस्तक्षेप पनि गर्नुभएन, निर्देशन पनि दिनुभएन । मैले जुन–जुन योजना अघि सारें, उहाँले कहिल्यै त्यसलाई फेरबदल गर्नुभएन । मैले लगेका प्रस्तावमा ‘हुन्छ, भैहाल्छ नि’ भन्नुभयो । स्वतन्त्रतापूर्वक काम गर्न दिने, प्रजातान्त्रिक संस्कार बोकेको व्यक्ति हुनुहुन्थ्यो । मैले पनि इमानदार भएर आफ्नो कर्तव्य पूरा गर्दै गएँ । पछि पार्टीमा अन्य नेताहरूसँग विवाद बढ्दै गएपछि उहाँले प्रतिनिधिसभा विघटन गर्नुभयो र मध्यावधि निर्वाचन घोषणा गर्नुभयो । उक्त सरकार भंग भयो ।
त्यसपछि पनि म गिरिजाबाबुसँगै थिए । उहाँ हाम्रो नेता हुनुहुन्थ्यो, उहाँकै समर्थन पाएर म संसदीय दलको नेता भएको थिएँ । किसुनजीको पनि समर्थन थियो । मलाई राजनीतिमा गिरिजाबाबुको सदासहायता र समर्थन थियो । मलै पनि पार्टी सभापति बनाउन उहाँलाई नवौं महाधिवेशनमा सहयोग गरें । पछि मनमुटाव बढेपनि उहाँप्रति मेरो श्रद्धा कहिल्यै कम भएन ।
मैलेमात्र उहाँको चित्त दुखाएको थिइँन, उहाँले पनि मेरो केही कुरामा चित्त दुखाउनुभएको थियो होला । मनमुटाव, मतभेद भएर हामी केही समय अलग पार्टी पनि भयौं । मनमुटाव सुल्झाउन अन्तिम समयसम्म पनि दुवै पक्षले पहल गरेकै हो, तर भएन । त्यो हुनु नै थियो होला ।
अलग–अलग पार्टी भएपनि गिरिजाबाबुले मलाई गर्ने स्नेहमा कमी भएको थिएन । पछि प्रजातन्त्र कमजोर हुन थाल्यो भनेर उहाँले नै पार्टी एक बनाउन भूमिका निभाउनुभयो ।
नेपाली कांग्रेसले सधैं प्रजातान्त्रिक मूल्य मान्यताका लागि, देश र जनताको हितमा अविचलित भएर, अडिग भएर आफ्नो मान्यता र अडान राख्दै आएको पार्टी हो । यसको गौरवपूर्ण इतिहास छ । प्रजातन्त्रका मूलभूत मान्यताहरू स्वतन्त्रता, मानवअधिकार, स्वतन्त्र न्यायलय, स्वतन्त्र प्रेस, विधिको शासन र दण्डहीनता अन्त्यमा नेपाली कांग्रेस प्रतिवद्ध र सुदृढ भएर अघि बढेको छ ।
प्रजातन्त्र संसदीय व्यवस्थामा परिपक्व हुन्छ भन्ने गिरिजाबाबुको मान्यता थियो, शासकीय प्रणालीमा हामीले संसदीय प्रजातन्त्र, कार्यकारी प्रधानमन्त्री र आलंककारिक राष्ट्रपतिको अभ्यास अंगीकार गरेका छौं । संविधानसभामार्फत् संविधान निर्माण र संघीयतामा गिरिजाबाबुले राखेका धारणालाई सुदृढीकरण गर्ने हाम्रो प्रयास छ । प्रदेशको जातिय नामाकरणमा पनि उहाँको विमति थियो, त्यसलाई कांग्रेसले कहिले पनि समर्थन गर्दैन ।
पार्टीको सुदृढीकरण र सरकारमा हुँदा जनताको पक्षमा बढीभन्दा बढी काम गर्ने भन्ने गिरिजाबाबुको इच्छा हुन्थ्यो । नेपाली कांग्रेसले उहाँको मार्गदर्शनलाई अनुसरण गरेर अघि बढेको छ । यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
(२०६६ चैतमा प्रकाशित देशान्तर साप्ताहिकको ‘श्रद्धाञ्जली विशेष’ प्रकाशनबाट साभार)