विचार

गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवस

पुनःस्थापित संसद् विघटन गर्ने सहमतिमा गिरिजाबाबुलाई कुरै नबुझाई हस्ताक्षर गराइएको थियो

महेश आचार्य |
चैत ६, २०७८ आइतबार ७:० बजे

नेपाली राजनीतिमा गिरिजाबाबुको व्यक्तित्व विभिन्‍न समयमा विभिन्‍न ढंगले उद्घाटित भएको छ । राजनीतिमा उहाँ एउटा अविश्रान्त योद्धा र कुशल संगठनकर्ता  हुनुहुन्थ्यो । २०४६ पछि उहाँ सधैँ राजनीतिको केन्द्रमा रहनुभयो । पहिलो पटक प्रधानमन्त्री बन्दा नै गिरिजाबाबु ६८ वर्षको हुनुहुन्थ्यो । उहाँको सत्तायात्रा जीवनको उत्तराद्धतिर सुरु भएको थियो । त्यसैले पनि उहाँलाई जनताका विकासका आकांक्षा, चाहनालाई पूरा गर्नुपर्छ भन्‍ने हुटहुटी थियो । 

२०४८ को आम निर्वाचनको तयारी र प्रचारप्रसारमा म गिरिजाबाबुसँगै देशभर हिँडेँ । उहाँले असाध्यै खटेर पार्टीको संरचनाको निर्माण गर्नुभयो । पार्टीको समर्थकहरूलाई क्रियाशील बनाउने उहाँको क्षमता थियो । उहाँको त्यही क्षमताका कारण हुनुपर्छ २०४७ सालमा निर्वाचन प्रचारप्रसारका लागि उहाँ देशभर दौडनुभयो, यद्यपि त्यतिबेला सभापति किसुनजी हुनुहुन्थ्यो र अन्तरिम सरकारको प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । 


देशका सबै कुना-कुनामा दूरदराजमा पुगेर उहाँले पार्टी संगठनलाई जीवन्त र सशक्त बनाउन ऊर्जा प्राप्त गर्नुभयो । निद्रा, आराम र भोजन तिलाञ्जलि दिएर पार्टीका साथीहरू र जनतासँग अटुट सम्पर्कमा पुग्‍ने एउटा यस्तै घटना घट्यो– २०४७ सालमा । त्यतिबेला गिरिजाबाबु पार्टीको महामन्त्रीका रूपमा अत्यधिक सक्रिय हुनुहुन्थ्यो– बिहानदेखि साँझसम्म नै उहाँ निरन्तर व्यस्त रहनुहुन्थ्यो । 

२०४८ को आम निर्वाचनका लागि जिल्ला-जिल्लामा कार्यक्रम भइरहेका थिए । बाँके-बर्दियालगायत चार जिल्लामा हुने आमसभा आयोजित थियो । नेपालगञ्जको कार्यक्रम हुने अघिल्लो दिन गिरिजाबाबु काठमाडौँमा बिहानदेखि साँझसम्म व्यस्त हुनुहुन्थ्यो । भोलिपल्ट बिहान हवाइजहाजमा नेपालगञ्‍ज जाने कार्यक्रम थियो । एक-एक दिनको फरकमा अन्य तीन जिल्लामा पनि कार्यक्रम तय भइसकेको थियो । 

काठमाडौँमा झमक्क साँझ परिसकेकै थिएन, एयरपोर्ट नजिकै रहेको पेट्रोलियम पदार्थको भण्डार रहेको स्थलमा अचानक आगो लाग्यो । यो आगलागीले भोलिपल्ट नेपालगञ्जको हवाइयात्रा रोकिन्छ कि भन्‍ने व्यग्रताले गिरिजाबाबु छट्पटाउन थाल्नुभयो । नेपालगञ्‍न पुग्‍न नसके अरु तीन जिल्लाका कार्यक्रम समेत प्रभावित हुन्थे । के गर्ने भन्‍ने विकल्पमा छलफल भएपछि मोटरबाटै जाऔँ भन्‍ने निष्कर्ष निस्कियो । त्यतिबेला पृथ्वी राजमार्ग घोर दूरावस्थामा थियो । गिरिजाबाबुसँग लामो दूरीको यात्रा गर्ने मोटरको सुविधासमेत थिएन । 

मोटरबाटो विकल्प भए पनि यो सजिलो विकल्प भने थिएन । वीरेन्द्र दाहालले बल्लतल्ल एउटा भाडाको मोटर खोजेर ल्याउनुभयो । मोटर त आयो तर पेट्रोल पाउन सकिएन । राति करिब ९:३० बजे जलमबाट भित्र छिरेर कुनै ग्यारेजबाट बजारमूल्यभन्दा धेरै पैसा तिरेर पेट्रोल बन्दोबस्त गरेर गिरिजाबाबु, म र वीरेन्द्रजी नेपालगञ्‍जका लागि यात्रा सुरु गर्‍यौँ । 

झण्डै ७० वर्षको उमेरमा बिहानदेखिको थकान मेटाउन गिरिजाबाबु मोटरभित्र एक तमासले चुरोट तान्न थाल्नुभयो । पृथ्वी राजमार्गमा सग्लो सडक थिएन, क्षतिग्रस्त थियो । अझ पानीसमेत पर्न थालेपछि बाटोमा मोटर गुडाउन निकै मुश्किल हुन थालेको थियो । राति १२ बज्दा हामी मलेखुको आसपास मात्र थियौँ । अचानक ड्राइभरले एउटा छाप्रो पसलको छेउमा गाडी किनारा लगाए । किन गाडी रोकेको भनेर सोध्दा उनले भने, ‘मलाई निद्रा लाग्यो, एकछिन नसुती गाडी हाँक्न सक्दिनँ ।’ 
अनि स्टेरिङमाथि घोप्टिएर ड्राइभर सुत्‍ने प्रयत्‍न गर्न थाले । हामी अवाक् भयौँ । अलि-अलि रिस पनि उठ्यो । गिरिजाबाबुले आफ्नो ड्राइभिङ अनुभव सम्झेर होला ‘भैगो सुत्‍न देऊ’ भन्‍नुभयो । समयमै नेपालगञ्‍न पुग्‍ने हाम्रो विकल्पको बीच बाटामै यस्तो हबिगत भयो । ड्राइभरलाई गाडीमा को हुनुहुन्छ भन्‍ने पत्तो थिएन । हामीले भन्‍ने कुरा पनि भएन । 

बिग्रेको बाटो, झमझम पर्दै गरेको पानी, सर्वत्र अन्धकारले साम्राज्य जमाएको थियो, त्यसको बीचमा पसलमा बलिराखेको एउटा टुकीको मधुरो प्रकाश र केही समयको अन्तरालमा सुनिने लोड बोकेका ट्रकको घुई-घुई आवाज । अनि त्यसपछि फेरि व्याप्त हुने नीरव एकान्तको त्यो शान्तिमा गिरिजाबाबु थकित हुनुहुन्थ्यो र सर्वथा असुरक्षित पनि । 

एकछिनपछि गिरिजाबाबुले चिया खाने मन गर्नुभयो । पसलेले बल्लतल्ल चिया बनायो । चिया र चुरोटसँगै गिरिजाबाबु जागै रहनुभयो । एक घण्टापछि ड्राइभर पुनः गाडी हाँक्न तयार भए र त्यहाँबाट नारायणगढको पुल्चोक पुगेर आफ्नै साथीको होटलको ढोका ढक्ढक्याउँदा बिहानको तीन बजिसकेको थियो । सामान्य दिन हुँदो हो त त्यो बेला चुरोटको कफ खोक्दै गिरिजाबाबुको उठ्ने बेला हुन लागेको थियो । तर त्यो रात गिरिजाबाबु सुतेको भए पो उठ्नु ! 

कोठामा पुगेपछि गिरिजाबाबुले नेपालगञ्‍जको कार्यक्रम राम्रो गर्नुपर्छ त्यसैले दुई घण्टा भएपनि सुत्‍नुपर्छ भनेर मलाई निदाउन उत्प्रेरित गर्नुभयो । तर, आफू भने सुत्‍न सक्नुभएन । एकैछिनमा उठ्नुभयो र बिहानीपखको चुरोटे खोकाइ खोक्न थाल्नुभयो । केहीपछि चिया पिउन, दाह्री काट्ने र नुहाउने दैनिकी सक्दा झलमल बिहान भैसकेको थियो ।
 
गिरिजाबाबु अकस्मात चितवनमा भएको थाहा पाएर पार्टीका साथीहरू जम्मा हुन थालिसकेका थिए । त्यहाँबाट नेपालगञ्‍जतिर प्रस्थान गर्दा बिहान ७ बजिसकेको थियो । बुटवलमा फेरि साथीहरूले रोक्नुभयो । अन्ततः १२ बजे आयोजित नेपालगञ्‍जको कार्यक्रममा पुग्दा दिउँसो २ बजिसकेको थियो । कार्यक्रम सुरु भयो र राम्रो भयो । हामीले सन्तोषको सास फेर्‍यौँ । गिरिजाबाबुका निम्ति विश्राम अझै जुरेको थिएन । आमसभा अवधिभर उहाँलाई भेट्न, समस्या समाधान गर्ने निवेदन दिन जनताको घुइँचो लागि राख्यो । जिल्लाका अन्य प्रभावशाली व्यक्ति, उद्यमी, व्यवसायी, प्रशासनयन्त्रका अधिकारीहरूसँग भेट्नुपर्ने भयो । 

विकास निर्माणका माग लिएर आएका जनता अझै गिरिजाबाबुलाई भेट्न, हात छुन, सुन्‍न र सुनाउन चाहन्थे । साँझ अबेर नभई गिरिजाबाबुलाई भोजन पनि जुरेन र विश्राम पनि जुरेन । यो व्यस्तताको कोलाहलमा पनि गिरिजाबाबु न त झोक्किनुभएको थियो, न त थाकेको छु भन्‍न नै मञ्जुर गरिराख्नुभएको थियो । किनभने यो त उहाँको रुचिको व्यस्तता र दिनचर्या थियो । जनता र पार्टी कार्यकर्तासँग निकट र सतत् सम्पर्कको दिनचर्या । झण्डै ७० वर्षको वयमा गिरिजाबाबुले अघिल्लो बिहान झिसमिसमै काठमाडौँमा प्रारम्भ गर्नुभएको दिनचर्या बिनाविश्राम लगतार ४० घण्टासम्म लम्बिइसकेको थियो ।

साथीको होटलको ढोका ढक्ढक्याउँदा बिहानको तीन बजिसकेको थियो । सामान्य दिन हुँदो हो त त्यो बेला चुरोटको कफ खोक्दै गिरिजाबाबुको उठ्ने बेला हो । तर त्यो रात गिरिजाबाबु सुतेको भए पो उठ्नु !

उहाँको दुब्लो शरीरका लागि पर्याप्त आराम, समयमा निद्रा र भोजन अनिवार्य भइसकेको थियो । तर, हठयोगको साधना गर्ने योगीझैँ गिरिजाबाबु जनतामाझ सतत् सम्पर्कको आफ्नो लक्ष्य साधनाका लागि निद्रा, भोक र आरामको आवश्यकतामाथि विजय हासिल गरी काबुमा राख्‍ने कोसिस गर्दै हुनुहुन्थ्यो । भोलिपल्ट बिहान फेरि झिसमिसमै उठेर भेटघाट र बर्दियाको आमसभाका लागि उहाँ तयार भइसक्नुभएको थियो । 
००००

पार्टी प्रतिबन्धित हुँदै पनि हिन्दूस्तानमा निर्वासनमा हुँदा पनि मेचीदेखि महाकालीसम्मका सीमा क्षेत्रमा आएर पार्टीको संगठन निर्माण, कमिटीहरू परिमार्जनका निम्ति उहाँ जसरी क्रियाशील हुनुहुन्थ्यो । २०४८ सालको आम निर्वाचनको तयारीका लागि अधिकांश स्थानमा मोटरबाटोबाट गिरिजाबाबु त्यसरी नै पुग्‍नुभयो ।
 
गिरिजाबाबुसँगको मेरो सम्पर्क त ४५-५० वर्ष अगाडि देखि नै थियो । २०२५ सालको वर्ष मैले कलेज सुरु गरेको थिएँ । त्यही वर्ष बीपी गिरिफ्तारीबाट रिहा भएर त्यो भन्दा अघि नै गिरिजाबाबु छुटेर निर्वासनमा गएपछि संगठनमा काम सुरु भएका थिए । त्यतिबेला विराटनगरमा बरगाछी, देवकोटा चोकमा खुलेका वाचनालय र कलेजको राजनीतिक जीवनबाट प्रतिबन्धित नेपाली कांग्रेसको वा लोकतान्त्रिक आन्दोलनको संवाहक शक्तिका रूपमा विद्यार्थी र तरुणहरूको गतिविधि सुरु भएको थियो । 
विराटनगर पारिपट्टि फरबिसगन्जमा बेलाबखत आउने र बस्‍ने गर्नुहुन्थ्यो । २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना र यसको विस्तार भएको थियो । २०२८ सालमा विद्यार्थी युनियनको निर्वाचन हुनेबित्तिकै कांग्रेस र कम्युनिस्ट समर्थक भनेर छुट्टिन्थ्यो ।
 
पछि २०३२-३३ सालमा स्नातकोत्तर अध्ययनका क्रममा विद्यार्थी राजनीतिमा मेरो सक्रियताका कारण मलाई त्रिभुवन विश्‍वविद्यालयबाट निष्काशन गरियो । त्यसभन्दा अघि पनि म अढाइ महिना जेल बसेर निस्केको थिएँ । प्रशासनले पुनः गिरफ्तार गर्ने तयारी थाहा पाएपछि म आफ्नो अध्ययन पूरा गर्नका लागि बनारस हिन्दू विश्वविद्यालयमा गएँ, त्यहाँ पनि म गिरिजाबाबु र किसुनजीसँगै रहें ।
 
अहिले फर्केर हेर्दा गिरिजाबाबुका व्यक्तित्वका विभिन्‍न रङ देख्छौँ । २०४६ को परिवर्तनपछि नेपाली कांग्रेसकै सभापति किसुनजी अन्तरिम सरकारका प्रधानमन्त्री हुनुहुन्थ्यो । दलीय व्यवस्थामा नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका हुने विश्वासका साथ विकासको अपेक्षा समाधान गर्ने विश्वासिलो कर्मशील नेताका रूपमा गिरिजाबाबुको छवि स्थापित थियो । पार्टी प्रतिबन्धित भएका बेलामा सशस्त्र संघर्षको संगठनकर्ता र प्रतिबन्धित अवस्थामा पनि नेपाली कांग्रेसको जे-जस्तो संगठन बन्‍न सक्यो त्यसको निर्मार्ताको रूपमा र पार्टीको पक्षमा चट्टानी अडान लिने नेता तथा निरन्तर जनता/कार्यकर्ता माझ क्रियाशील, संगठनमा समर्पित रहेर आफ्नो राजनीतिक व्यक्तित्वलाई विकास गरेको नेताको छविको निरन्तरताका रूपमा देख्छौँ । 
 ००००

शारीरिक रूपले क्लान्त हुने उमेरमा पनि गिरिजाबाबुको ऊर्जाशील पक्ष अचम्मको थियो । २०४८ को निर्वाचनपछि गिरिजाबाबु संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री हुनभयो र उहाँको मन्त्रिपरिषद्मा हामी मन्त्री भयौँ । उहाँको मन्त्रिपरिषद्‍मा साढे तीन वर्षसम्म बस्दा विकासको निमित्त व्यग्रता भएको नेताको रूपमा पाएँ । सायद, उहाँलाई आफ्ना लागि समय थोरै छ, त्यो समयभित्रै जनताका विकासका आशा, अपेक्षालाई पूरा गर्नुपर्छ भन्ने लाग्थ्यो । गिरिजाबाबु जिल्ला भ्रमणमा जाँदा विकाससँग सम्बन्धित एजेन्डाका खात लाग्थे ।
 
कागजका पोकाका पोका जम्मा हुन्थे । हलो जोत्दै गरेका किसानहरू पनि पसिनाले लतपत भएर गिरिजाबाबुलाई भेट्न आउँथे । जनताको आशा अपेक्षाको व्यक्तिगत रूपमा साक्षी भएर जब प्रधानमन्त्री हुनुभयो, त्यसले पनि सरकारमा हुँदा उहाँलाई सधैँको हतारो हुन्थ्यो । उहाँले कर्मचारी संयन्त्रलाई पनि चाँडो निर्णय गर्न र निर्णय गर्न नहिच्किचाउन आग्रह गर्नुहुन्थ्यो । गिरिजाबाबुले प्रशासन सुधार सुझाव आयोग बनाउनुभयो । कुलशेखर शर्मा त्यसको उपाध्यक्ष हुनुहुन्थ्यो । प्रशासनमा मात्रै होइन, कानुनी र अन्य क्षेत्रमा समेत सुधारको जग बसेको थियो ।
 
हामी मन्त्रिपरिषद्‍मा हुँदा राष्ट्रिय योजना आयोगमा डा. रामशण महत, नेपाल राष्ट्र बैंकमा हुनुभएको साथीहरू र विभिन्न मन्त्रालयमा रहनुभएका साथीहरू मिलेर हामी अर्थतन्त्रमा ठूलो सुधारको आधारभूमि पनि तयार गरिरहेका थियौँ । उद्योग, व्यापार, सञ्‍चार लगायत अर्थतन्त्रका सबै क्षेत्रहरू राज्यको कठोर नियन्त्रणमा थियो ।
 
दलविहीनता र राजाको प्रत्यक्ष शासनले अर्थतन्त्रलाई साँघुरो बनाएको थियो । जसरी हामीले राजनीतिलाई खुला र प्रतिस्पर्धाको बाटो खुला गरेका थियौँ, लोकतन्त्रको प्रादुर्भाव गरेका थियौँ । त्यसरी नै नेपाली अर्थतन्त्रमा पनि प्रतिस्पर्धा, निजी क्षेत्रको सक्रिय सहभागिता र उदारता र लगानीका विभिन्‍न नयाँ-नयाँ स्रोतहरूलाई नेपालमा भित्रन दिएर देशभित्रका र प्रत्यक्ष वैदेशिक लगानी र अन्तर्राष्ट्रिय साझेदारीको दायरालाई फराकिलो बनाएर अर्थतन्त्रलाई राज्यको नियन्त्रण मुक्त गर्न चाहान्थ्यौँ । त्यसका लागि सबैभन्दा पहिले नीतिगत संरचना बनायौँ । 

त्यतिबेला नीतिगत रूपमा जुन परिवर्तन भए त्यसलाई मन्त्रालयहरूले त्यसलाई तत्काल आत्मसात् गरेर अघि बढ्दा प्रशासनिक आचरण र निर्णय पनि सोही ढंगले अघि बढ्दै गए । त्यसलाई लागू गर्न कानुनी व्यवस्था गर्न संसदमा विधेयकहरू लिएर गयौँ । करको संरचनामा व्यापक सुधार गर्‍यौँ । करको दर कम राखेर भएपनि दायरा फराकिलो बनायौँ, भन्सारका दरहरू पनि परिवर्तन गरेर निजी क्षेत्रका गतिविधि विस्तार गर्नका लागि अनुकुल वातावरण बनायौँ । छोटो अवधिमा हामीले विश्वव्यापी रूपमा नै नेपाल लगानीका लागि अत्यन्तै सम्भावना भएको देश हो भनेर विश्वव्यापी ‘सिग्‍नल’ पठाउन सफल भएका थियौँ ।

पछि मैले किसुनजीको मन्त्रिमण्डलमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उहाँसँग कुरा नमिलेपछि राजीनामा गरिसकेको थिएँ । तर पनि किसुनजीप्रति मेरो सम्मान रत्तिभर कम थिएन । 

वास्तवमा यो सबै काम गर्न सहज थिएन । एकातिर संसद्लाई विश्वासमा लिन जरुरी थियो भने राजालाई पनि त्यत्तिकै चासो थियो । प्रधानमन्त्रीमार्फत मैले धेरैपटक राजाकहाँ गएर पनि यी विषय ‘ब्रिफ’ गरेको थिएँ । यी सबै विकासक्रमले गिरिजाबाबुको छवि विकासका लागि व्यग्र नेताका रूपमा विकास हुँदै गएको थियो । गिरिजाबाबु कर्मचारी संयन्त्रलाई पनि चाँडो काम गर्नुस् भन्नुहुन्थ्यो । प्रक्रियागत ढिलासुस्तीलाई तोड्न कहिलेकाहीँ गिरिजाबाबु तपाईंहरू काम गर्नुस् यसको जिम्मा म लिन्छु पनि भन्नुहुन्थ्यो ।
 
गिरिजाबाबुको नेतृत्वको सरकारले बजेटको विनियोजनको ढाँचालाई पनि आमूल रूपमा परिवर्तन गरेको थियो । त्यतिबेलाको मुख्य ध्यान गरिबी निवारणका लागि ग्रामीण क्षेत्रमा लगानी बढाउनेतर्फ थियो । पूर्वाधार र आयआर्जनका अवसरका दृष्टिले धेरै पछाडि परेका हुनाले ग्रामीण पूर्वाधार विकासमा ध्यान दिन गिरिजाबाबुको विशेष निर्देशन थियो र हामीले ७० प्रतिशत बजेट ग्रामीण क्षेत्रमा पुर्‍याउने गरी नीतिगत घोषणा गरेर काम गरिरहेका थियौँ ।
 
एकातिर हामीले खुला प्रतिस्पर्धात्मक अर्थतन्त्र निर्माण गर्नेतर्फ अघि बढ्यौँ भने अर्कोतर्फ राज्यका तर्फबाट सामाजिक न्यायका कार्यक्रमहरू घोषणा गर्‍यौँ । बीपीको प्रजातान्त्रिक समाजवादको अवधारणामा राज्यबाट वञ्‍चितीकरणमा परेका भौगोलिक क्षेत्र र जनतालाई सशक्तीकरणका लागि पूर्वाधार विकासमा जोड दियौँ । 

प्राथमिक स्वास्थ्य उपचार गाउँ विकास समितिबाट हुने गरी स्वास्थ्य चौकीहरू र हरेक निर्वाचन क्षेत्रबाट चिकित्सकको दरबन्दी हुनेगरी स्वास्थ्य केन्द्रहरू बने । जिल्लाका अस्पतालहरूको सुदृढीकरण र रेफरल अस्पतालहरूको निर्माण गर्‍यौँ । घोषित रूपमै माध्यमिक तहसम्मको शिक्षा निशुल्क गरेर शिक्षाका अवसरको उपलब्धता बढाउन र खासगरी उच्च शिक्षाको राम्रो अवसर देशभित्रै बढोस् भने निजी क्षेत्रलाई पनि विद्यालय र विश्‍वविद्यालय खोल्न दियौँ ।

तत्कालीन विश्वमा विकसित घटनाचक्रहरूको अनुभवले राज्यको नियन्त्रण वा राज्यको उपस्थितिले मात्र समाजवाद आउँछ भन्‍ने हुन्छ भन्ने मान्यतलाई चुनौती दिएको थियो । गिरिजाबाबुले यो मुद्दालाई अगुवाइ नै गर्नुभयो । हामी सबैको निष्कर्ष के थियो भने समाजवादलाई राज्यको हस्तक्षेपको डिग्रीबाट मापन गर्ने विषय होइन । बीपीको साहित्य पढ्यौँ भने त्यहाँ सधैँ सामाजिक न्यायको कुरा छ । उहाँले सधैँ उत्पादन र वितरणको सन्दर्भमा कुरा गर्दा दूधको उदाहरण दिएर भन्नुहुन्थ्यो । पहिले दूधको उत्पादन नै बढाउनुपर्‍यो अनि सबैका लागि पुग्‍ने वितरण प्रणाली हुनुपर्‍यो । त्यसो भएन र थोरै दूध मात्र उपलब्ध छ भने सामाजिक न्यायका आधारमा जसलाई सबैभन्दा बढी आवश्यकता छ, उनीहरूले प्राप्त गरुन् भन्‍ने हो । त्यसमा गिरिजाबाबु दृढ हुनुहुन्थ्यो 
। 
त्यतिबेला बहुसंख्यक मानिस शिक्षाको अवसरबाट वञ्चित थिए । त्यस्तो अवस्थामा विपन्न परिवारका बालबालिकाहरूले विद्यालयतहको शिक्षा लिन पाए भने उनीहरूले आफ्नो सामथ्र्य बढाउन सक्छन् र उनीहरूका लागि आयआर्जन तथा रोजगारीका अवसर प्राप्त गर्न सक्छन् । एकातिर राज्यले जिम्मेवारी लिएर विद्यालय तहसम्मको शिक्षा निःशुल्क र गाउँ-गाउँमा विद्यालय स्थापना गर्ने कामलाई जोड दियौँ । उच्च शिक्षाका सम्भावनाहरू निजी क्षेत्रमा खुल्छन् भन्ने खुल्न दिनुपर्छ भन्ने मान्यताबाट अघि बढ्यौँ । फेरि त्यतिबेला राज्यको आफ्नो लगानीमा शिक्षाका क्षेत्रमा केही काम गरेन भन्ने होइन ।
 
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हिन्दूस्तानको सहयोगमा राज्यको स्रोतसाधन उपयोग गरेर खुलेको हो । चितवनको क्यान्सर अस्पताल गिरिजाबाबुकै कार्यकालमा स्थापना भएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल विस्तार भयो । पूर्वाञ्चल विश्वविद्यालय राज्यकै अग्रसरतामा खुलेको हो । यस्ता थुप्रै दृष्टान्त छन् । 

राज्य नियन्त्रित र निजी क्षेत्रको सन्दर्भमा चर्चा गर्दा हामीले के बिर्सनु हुँदैन भने यो भनेको स्रोत व्यवस्थापनसँग सम्बन्धित विषय हो । राज्यसँग थोरै स्रोत र साधन अत्यन्त जरुरी भएको क्षेत्रमा लैजाने प्रयोजनका लागि पनि यो जरुरी थियो । जहाँ झाडापखाला जस्ता सामान्य रोगले पनि धेरै बालबालिकाहरूको मृत्यु भइरहेको छ, त्यहाँ प्राथमिक स्वास्थ्य सेवा गाउँ–गाउँसम्म पुर्‍याउने र ज्ञानको हस्तान्तरण गरेर बालबालिकाको रक्षा गर्नु महत्वपूर्ण विषय महत्वपूर्ण थियो ।

त्यत्तिकै महत्वपूर्ण विपन्नका छोराछोरीलाई पढ्ने अवसर दिनु, ग्रामीण पूर्वाधार विस्तारबाट किसानका उत्पादनलाई बजारसम्म पुग्ने सुविधा प्रदान गर्नु सामाजिक न्यायका हिसाबले उचित हो । अन्य ठाउँमा जहाँ उद्योग, व्यापारमा राज्यले निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरी नियमन गरेर सेवा र वस्तुको गुणस्तरीय आपूर्ति व्यवस्थित गर्न सकिन्छ भने उनीहरूले आर्जन गरेको सम्पत्तिमाथि त राज्यले फेरि प्रगतिशील करका माध्यमबाट पुन विपन्न वर्गमा पुर्नवितरण गर्नु नै समाजवाद हो ।
  
राज्यको सीमित स्रोत साधनलाई सामाजिक न्याय पुर्‍याउनुपर्ने क्षेत्रमा पार्नेगरी हामीले बजेट विनियोजन गरेका थियौँ । अहिलेको संघीय संरचनाको आधारभूमि पनि त्यसैले खडा गरेको हो । २०४८ सालदेखि नै हामीले गाउँ विकास समितिलाई ग्रामीण स्वाबलम्बन कार्यक्रमका लागि सोझै दिने व्यवस्था गरेका थियौँ । त्यसले ग्रामीण क्षेत्रमा पूर्वाधार विकासमा केही न केही मद्दत पुर्‍याउँदै लगेको थियो । यससँगै शिक्षा, स्वास्थ्य, खानेपानीमा भएको सुधारले हामीले बाल मृत्युदर, मातृ मृत्युदर, विद्यालय भर्नादर, खानेपानीको पहुँच लगायतका क्षेत्रमा आमूल सुधार गरेर हामी ‘विश्वव्यापी बहस’को विषय बनेका थियौँ । 

जब हामी उत्पादन वृद्धिको कुरा गर्छौं भने राज्य एक्लैले हस्तक्षेप गरेर, सबै ठाउँमा राज्य आफैँमात्र उत्पादनकर्ता भएर राष्ट्रिय उत्पादन वृद्धि हुँदैन । उत्पादनमा निजी क्षेत्र पनि प्रमुख खेलाडी हो । राज्यले आफूलाई पनि खेलाडी मान्नुपर्छ । आज हामीले राज्यकै लगानीमा मात्र भर परिरहेको भए आज पनि हामी वर्षको एक दुई सय चिकित्सक, इन्जिनियरहरू उत्पादन गर्ने अवस्थामा हुन्थ्यौँ होला आज हजारौँको संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी र इन्जिनियरहरू उत्पादन गर्ने अवस्थामा आइपुगेका छौँ ।

आज जलविद्युतमा हेरौँ, त्यतिबेला निजी क्षेत्रलाई उत्पादनमा सहभागी गराएकाले आज जलविद्युत् उत्पादनमा राज्यको भन्दा निजी क्षेत्रको योगदान धेरै छ । हवाई सेवा, बैंक तथा वित्तीय सेवा हरेक क्षेत्रलाई हेरौँ, सञ्‍चार, शिक्षा वा स्वास्थ्य निजी क्षेत्रले राम्रो व्यवसाय गरेको छ । त्यसलाई गुणस्तरीय बनाउने र व्यवस्थित गर्ने काम भने सरकारको हो । 
०००
यहीबीचमा पार्टीभित्रको द्वन्द्वले मध्यावधि निर्वाचन घोषणा भयो र हामी सरकारबाट हट्यौँ । २०५१ मा नेकपा एमालेको सरकार बन्यो । २०५३ सालमा गिरिजाबाबुले पार्टीको सभापति हुने र पार्टीलाई पुरानै प्रतिष्ठाको अवस्थामा (बहुमत प्राप्त पार्टी) बनाउने उद्देश्यले २०५३ सालमा गिरिजाबाबुले नवौँ महाधिवेशनमा सभापतिका रूपमा आफूलाई अघि बढाउनुभयो । त्यतिबेला गिरिजाबाबुले पार्टीलाई पुरानै प्रतिष्ठाको स्थितिमा पुर्‍याउँछु र विश्राम लिन्छु भन्‍ने नाराले अपिल गर्‍यो र गिरिजाबाबु सभापति हुनुभयो । किसुनजीले गिरिजाबाबुका लागि सभापति बन्ने बाटो खुला गरिदिनुभयो, किसुनजी सभापतिमा चुनाव लड्नुभएन । यता एमालेको अल्पमतको सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो र १८ महिना चल्यो । फेरि लोकन्द्रबहादुर चन्दलाई एमालेले साथ दिएर सरकार बनायो ।
 
यही बीचमा २०५३ मा नेपाली कांग्रेसको सभापति बनेपछि गिरिजाबाबुको व्यक्तित्वको अर्को पाटो उद्घाटित हुन्छ । उहाँ त्यसअघि सधैँ कम्युनिस्टको प्रहारमा हुनुहुन्थ्यो । २०४७ सालमा चुनावको प्रचार गर्न हिँड्दा पनि कम्युनिस्टबाट गिरिजाबाबुमाथि ठूलो आक्रमण हुन्थ्यो । ठाउँ–ठाउँमा उहाँमाथि ढुंगामुढा हुन्थ्यो । गिरिजाबाबु पनि अत्यन्त आक्रामक भाषण गर्नुहुन्थ्यो– ‘माले, मण्डले, मसाले एक हुन् ... ।’ कम्युनिस्टसँगको बडो तिक्ततापूर्ण सम्बन्ध २०४७ को चुनावी अभियानदेखि नै सुरु गर्नुभयो र २०४८ मा सरकारमा आएपछि पनि एमालेसँग बडो तनावपूर्ण सम्बन्ध रह्यो । 

हुन त म गिरिजाबाबुसँग हिँड्दा कुनै पनि पार्टीलाई शत्रुका रूपमा चित्रित नगरौँ भनिरहन्थेँ । उहाँले बिस्तारै त्यसलाई मनन गर्न पनि थाल्नुभएको थियो । २०४८ पछि प्रधानमन्त्रित्व ग्रहण गर्दा र संसद्‍मा पनि  गिरिजाबाबुले नयाँ न्यारेटिभ बनाउनुभयो, ‘हाम्रा निम्ति कुनै पनि पार्टी शत्रु होइन । हाम्रो शत्रु भनेको देशको विपन्‍नता र गरिबी हो ।’
 
तर २०५१ मा बनेको एमाले सरकारको आक्रामकता बढ्दै गएपछि त्यसलाई हटाउन गिरिजाबाबुको देशव्यापी दौडाहा सुरु भयो । देशव्यापी दौडाहाका क्रममा गिरिजाबाबुले ‘यो सरकारलाई म फूऽऽऽ गरेर ढाल्दिन्छु’ भन्‍नुहुन्थ्यो । फेरि एमालेसँग सम्बन्ध तिक्ततापूर्ण थियो । २०५१ को मध्यावधि निर्वाचनपछि गिरिजाबाबुले सरकारको नेतृत्व गर्नुभएन, संसदीय दलको नेतृत्व पनि गर्नुभएको थिएन ।
 
शेरबहादुरजीको नेतृत्वको सरकार बन्यो गिर्‍यो, फेरि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमालेले सरकार बनायो । यो सबै गिरिजाबाबुलाई प्रिय भएन । त्यसपछि फेरि नेपाली कांग्रेसको समर्थनमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बन्यो । २०५४ सालमा एमाले विभाजन भएपछि मध्यावधि चुनावपछिको अन्तिम वर्ष २०५५ सालतिर गिरिजाबाबुले पहिले माले र सद्भावना पार्टीलाई लिएर सरकार चलाउनुभयो र फेरि एमालेलाई लिएर पनि सरकार बनाउनुभयो । २०५३ मा सभापति भएपछि कम्युनिस्टप्रतिको न्यारेटिभ उहाँले परिवर्तन गर्नुभएको थियो ।
 
पछि माले र एमाले दुवैलाई लिएर सरकार बनाएपछि उहाँ कम्युनिस्टहरूसँग पनि सहकार्य गर्न सक्ने स्वीकार्य नेता हुनुभयो । त्यतिबेलाको अस्थिर परिस्थितिलाई स्थायित्व दिँदै देशलाई चुनावतर्फ लैजाने कामले उहाँको सर्वस्वीकार्यता बढेको थियो । २०५६ को निर्वाचनअघि चक्रजी (बाँस्तोला) र मैले गिरिजाबाबुलाई भन्यौँ, ‘पार्टीलाई पुरानै साखमा फर्काउने तपाईंको घोषणालाई यथार्थमा परिणत गर्नुपर्छ । किसुनजीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर चुनावमा जानुपर्छ । अनि माओवादी द्वन्द्वको समाधानको नेतृत्व पनि तपाईंले लिएर अघि बढ्नुपर्छ ।’
 
गिरिजाबाबुले त्यसलाई स्वीकार गर्नुभयो । कम्युनिस्ट पार्टीसँगको तिक्ततापूर्ण सम्बन्ध अन्त्य भएर गिरिजाबाबुको सर्वस्वीकार्य छवि निर्माण भएको थियो । पार्टीभित्रको अन्तर्द्वन्द्व अन्त्य गर्न गिरिजाबाबु तयार हुनुभयो । किसुनजी र उहाँको अन्तर्द्वन्द्वको बीजारोपण गिरिजाबाबुले सभापति भएपछि केन्द्रीय समिति पुनर्गठन गरेर केही व्यक्तिहरूलाई प्रवेश गराएपछि सुरु भएको थियो । त्यतिबेलै गिरिजाबाबुलाई किसुनजीले ‘अब म पार्टीका गतिविधिमा सामेल हुन्न’ भन्नुभएको थियो ।

त्यस घटना गिरिजाबाबुको मनमा गढिरहेको थियो । २०५६ मा चुनाव अघि गिरिजाबाबुले किसुनजीसँग कुराकानी गरेर मनाउने जिम्मा मेरै काँधमा सुम्पिनुभएको थियो । गिरिजाबाबुसँगको निकटता एकातिर थियो, किसुनजीसँग मेरो सान्निध्यता थियो । गिरिजाबाबुसँगको निकटता जानेरै पनि किसुनजीले मलाई अत्यन्त विश्वास गर्नुहुन्थ्यो । मैले किसुनजीलाई भेटेर भनेँ, ‘किसुनजी, गिरिजाबाबु र तपाईंबीच आपसी सहयोग र एकअर्काप्रति विश्वास भएन भने मुलुकमा धेरै कुरा बिग्रन्छ । तपाईंहरू वन अन वन बसेर कुरा गर्नुस् ।’
 
त्यसपछि हामीले किसुनजीलाई गोदाबरी लिएर गयौँ र गिरिजाबाबु पनि त्यहीँ बसेर दुईजना मात्र कुरा गर्नुभयो । गिरिजाबाबु र किसुनजीको वार्ता एकैछिनमा मिल्यो पनि । २०५६ को चुनावमा गिरिजाबाबुले  त्यो अन्तर्द्वन्द्वको समाधान गरेर आफ्नो उचाइ निकै माथि लैजानुभयो । २०५६ मा फेरि एकपटक कांग्रेसको बहुमतसहितको साख फर्काउन उहाँ सफल हुनुभयो । 
०००
किसुनजीले चुनाव जितेर आएकै दिन बेलुका मलाई फोन गरेर भन्‍नुभयो, ‘महेशबाबु, तपाईंलाई मेरो मन्त्रिपरिषद्‍मा अर्थमन्त्री बनाउन चाहन्छु । हुन्छ कि हुन्‍न मलाई राय दिनस् ।’
 
मैले किसुनजीलाई भनेँ, ‘किसुनजी म त पार्टीको कार्यकर्ता हुँ । तपाईंहरूको आग्रह मैले नमान्‍ने भन्‍ने हुँदैन । तपाईंहरू सल्लाह गरेर जिम्मेवारी तोक्नुहोला ।’
 
मैले गिरिजाबाबुसँग पनि किसुनजीको यस्तो प्रस्ताव छ भनेर जानकारी गराएँ । गिरिजाबाबुले किसुनजीले मसँग सल्लाह गरेरै तिमीलाई भन्नुभएको हो भन्नुभयो । म किसुनजीकै आग्रहमा उहाँको मन्त्रिपरिषद्‍मा अर्थमन्त्री थिएँ । पछि मैले किसुनजीको मन्त्रिमण्डलमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उहाँसँग कुरा नमिलेपछि राजीनामा गरिसकेको थिएँ । तर पनि किसुनजीलाई मेरो सम्मान रत्तिभर कम थिएन । 

हामीले गिरिजाबाबुलाई किसुनजीकै नेतृत्वमा सरकार कायम राख्‍न आग्रह गरेका थियौँ । पार्टीभित्रका स्वार्थी प्रवृत्तिले गिरिजाबाबुलाई त्यो वचनमा अडिन दिएनन् । त्यतिबेला किसुनजीसँग गिरिजाबाबुको मतभेद बढाउने काम भयो । 

२०५६ पछाडिको निर्वाचनपछि २०५७ पछिको समय २०६२-६३ को आन्दोलन र माओवादीसँगको बालुवाटारको पहिलो सम्झौतासम्मको समय गिरिजाबाबुका लागि सुखद भएन । हामीले गिरिजाबाबुलाई राष्ट्रिय राजनीतिमा बढ्दो कदलाई कायम राख्दै माओवादी द्वन्द्व समाधानतर्फ अघि बढ्न र किसुनजीलाई सरकारको नेतृत्व गर्न दिन गिरिजाबाबुलाई अनुरोध गरेका थियौँ ।
 
केन्द्रीय समिति बैठकमा म आफैँले मुख फोरेर बोल्नुपर्ने अवस्था पनि आयो । गिरिजाबाबुसँग नजिक हुन चाहने कतिपयले गिरिजाबाबुसँग मेरो विरुद्ध कुरा लगाउने चेष्टा नगरेका पनि होइनन् । तर गिरिजाबाबुले सधैँ हाम्रो कुरा सुन्नुहुन्थ्यो । यद्यपि यसपटक भने गिरिजाबाबु हाम्रो सल्लाहमा अडिन सक्नुभएन । फेरि गिरिजाबाबु २०५७ सालमा प्रधानमन्त्री भएपछि राष्ट्रिय राजनीति र घटनाक्रमले मुलुकमा अशान्ति सुरु भएको थियो । पार्टीभित्रको तिक्तता बढेको थियो । माओवादीको द्वन्द्वले पनि च्याप्दै ल्याएको थियो, सेना परिचालन लगायत कतिपय विषयमा राजाले आफूलाई सहयोग नगरिरहेको गिरिजाबाबुको बुझाइ थियो ।
 
एमालेले ५७ दिनसम्म संसद् अवरुद्ध गरेर गिरिजाबाबुमाथि गम्भीर आरोप लगाइरहेको अवस्थामा गिरिजाबाबुमा निराशा बढ्दै गइरहेको थियो । २०५८ को साउन-भदौतिर गिरिजाबाबुले संसद्को गाँठो फुकाउन प्रधानमन्त्री पद मेरा लागि महत्वपूर्ण होइन भनेर राजीनामा गर्नुभयो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उहाँले २०५९ साल जेठमा उहाँले राजासँग संसद् विघटन गर्न सिफारिस गर्नुभएको थियो । गिरिजाबाबुलाई विभिन्न घटनाचक्रले एक्ल्याउँदै लगेका थिए । अख्तियारदेखि पार्टीभित्रका मतभेद र विपक्षी सबैतिरबाट गिरिजाबाबुमाथि प्रहार भइरहेको थियो । राजाबाट सहयोग नभएको भन्ने कुरा पनि त्यो समयमा आइरहेको थियो । यही समयमा राजाले ‘टेकओभर’ गरेका थिए ।
 
२०५९ सालमा संसद् विघटनले पार्टी पनि विभाजन हुने अवस्थामा पुग्यो । हामीले पार्टी विभाजन हुन नदिन खुबै प्रयास गर्‍यौँ । पार्टी विभाजनको एक दिन अघिसम्म पनि गिरिजाबाबुसँग बसेर हामीले सल्लाह गर्‍यौँ । त्यसपछि चक्रजीको निवास महाराजगञ्जमा गिरिजाबाबु र शेरबहादुर देउवालाई भेटायौँ । शेरबहादुरजीले केन्द्रीय कार्यसमितिमा पार्टीसँग परामर्श नगरी संसद विघटन गरेकामा आत्मालोचना गर्ने र आफ्ना कुरा राख्ने र त्यसपछि कार्यसमितिले गिरिजाबाबुलाई सबै जिम्मा दिएर त्यसपछाडिको ‘पोलिटिकल कोर्स’ अघि बढाउने गरी करिब-करिब सहमत गराएका थियौँ । 

मैले गिरिजाबाबुलाई भनेको थियो, ‘आजसम्म नेपालको राजनीतिको पहल तपाईंको हातमा छ । पार्टी फुट्यो भने त्यो सबै शक्ति राजामा केन्द्रीकरण हुन्छ र राजाले माओवादी द्वन्द्व समाधान गर्ने नाममा दलहरूलाई किनारा लगाएर ‘टेकओभर’ गर्नेतर्फ जान्छन् र माओवादीसँग सम्झौताका लागि हात अघि बढाउँछन् । त्यसकारण पार्टी फुट्न दिनुहुँदैन ।’ गिरिजाबाबु यसमा विश्वस्त हुनुहुन्थ्यो । तर गिरिजाबाबुका वरिपरि पार्टी फुटाउन चाहने, फुटे फुटोस् भन्नेहरू धेरै थिए । पार्टी फुट्यो ।
 
पार्टी पनि विभाजन भयो । राजाले टेकओभर पनि गरे । कुनै समय गिरिजाबाबुसँग म, रामचन्द्र पौडेल, चक्र बाँस्तोला, रामशरण महत, तारानाथ रानाभाट, भीमबहादुर तामाङ, भूविक्रम नेम्वाङ, नरहरि आचार्य लगायत थियौँ । हामी त घरका न घाटका जस्ता भयौँ । पार्टी फुटाउने शेरबहादुरजीहरूको समूह पार्टी फुटाएर गइहाले । हामी संस्थापन पक्षमा थियौँ तर त्यहाँ हाम्रो भूमिका केही थिएन । पार्टी फुटे फुटोस् भन्ने गिरिजाबाबुका वरिपरिका मानिसहरू बलियो र पार्टी फुट्न दिनुहुन्न भन्ने हाम्रा लागि बडो अपमानजनक स्थिति थियो । 

गिरिजाबाबुको च्याम्बरमा जाँदा ‘बस’ भन्ने सौहार्दता पनि अरुबाट हुँदैनथ्यो, त्यो देखेर गिरिजाबाबुलाई अप्ठ्यारो हुन्थ्यो अनि आफैँले यिनीहरूलाई ‘बस्‍न कुर्सी ल्याइदेऊ’ भन्नुहुन्थ्यो । हाम्रो सल्लाह कति लिने या नलिने तर हार्दिकतापूर्वक सुन्नुहुन्थ्यो । हामीले त्यो पोजिसन कहिल्यै पनि छाडेनौँ । हामीले गिरिजाबाबुलाई भन्यौँ– ‘देखाउनका लागि रत्नपार्कमा आन्दोलन गरेर अब पुग्दैन । माओवादी द्वन्द्वको समाधान गर्ने र शान्ति बहाली गर्ने एजेन्डा बोकेर तपाईं अघि नबढेसम्म नेपाली कांग्रेस पार्टीको सान्दर्भिकता अब रहन्‍नँ । शान्तिको एजेन्डा अरुलाई नै बोक्न दिनुभयो भने नेपाली कांग्रेसको सान्दर्भिकता र भूमिका कहाँनेर हुन्छ त ? माओवादीसँग वार्ता गर्ने र शान्ति बहाली गर्ने एजेण्डामा अघि बढ्नुपर्छ ।’

मैले किसुनजीलाई भेटेर भनेँ, ‘किसुनजी, गिरिजाबाबु र तपाईंबीच आपसी सहयोग र एकअर्काप्रति विश्‍वास भएन भने मुलुकमा धेरै कुरा बिग्रन्छ । तपाईंहरू वन अन वन बसेर कुरा गर्नुस् ।’

सुशील कोइराला, विनयध्वज चन्द त माओवादीप्रति साह्रै आक्रामक । गाउँ-गाउँमा कांग्रेसका नेता कार्यकर्ताको हत्या गर्ने, लखेट्ने माओवादीसँग किन वार्ता गर्ने भन्नुहुन्थ्यो । केन्द्रीय समितिको बैठकमा पनि हामीले यो कुरा राख्यौँ, शान्तिको एजेन्डा लिएर जानुपर्छ । केन्द्रीय समितिको बैठक त्यो बेला तीन दिन चल्यो र अन्तिम दिन गिरिजाबाबुले भन्नुभयो, ‘महेशले भनेको कुरा पनि ठीकै हो । पार्टीले त्यो विकल्प पनि खुला राख्दै मलाई निर्णय गरेर त्यो जिम्मेवारी पनि देओस् ।’
 
त्यसमा किसुनजीले पनि सहमति जनाउनुभयो । अन्ततः हामीले भनेकै कुरा सत्य निस्कियो, पछि माओवादी शान्तिवार्तामा आइसकेपछि त उनीहरुले पनि राजाले उनीहरूलाई के प्रस्ताव गरेर भनेर भने नि ! राजा माओवादीलाई साथमा ल्याएर दलहरूलाई किनारा लगाउने दिशामा अघि बढेको अन्ततः पुष्टि पनि भयो । भलै उनको चाहना सफल भने भएन ।  
००००
त्यसपछि राजाले २०६१ मा पूर्ण रूपमा शासन सत्ता हातमा लिए । हामी पनि थुनिने, छुट्ने भइरहेका थियौँ । गिरिजाबाबु संसद् पुनःस्थापनाको मुद्दामा हुनुहुन्थ्यो । त्यसमा अन्य मुख्य दलहरूलाई कसरी सहमतिमा लिने भनेर एकदिन मलाई बोलाएर अरु दलका नेताहरूसँग पनि कुरा गर भन्नुभयो । मैले उहाँलाई भनेँ, ‘मलाई मात्र होइन, तपाईंले पत्यार गर्ने साथीहरूलाई पनि लगाउनुस् भनेँ ।’ 

पार्टीभित्र हाम्रो भूमिकालाई कर्नरिङ गरेपछि मैले उदासीन भएर गिरिजाबाबुलाई त्यसो भनेको थिएँ । अनायास, मैले अनपेक्षित ढंगले कुरा राख्यो भन्ने लाग्यो कि के हो, त्यसपछि गिरिजाबाबुले अलि चित्त पनि दुखाउनुभयो, मेरो नजिकको तिमीहरूबाहेक को हुन्छ ? तिमी पनि यस्तो कुरा गर्ने ?’
 
त्यसपछि सुशील कोइराला र विनयध्वज चन्दलाई पनि लिएर हामीले ‘सात पार्टीको सहकार्य र साझा सहमति’ भनेर सबै नेतालाई भेला गरायौँ । माधव (नेपाल)जी र (केपी) ओलीजीको त्यतिबेला पनि तीव्र मतभिन्नता थियो । माधवजी अर्धभूमिगत जस्तो हुनुहुन्थ्यो । झलनाथजी, भरतमोहन र रघुजी पन्त बसेर हामीले सल्लाह गर्‍यौँ । त्यो माधवजीलाई पनि देखाएँ । उहाँले भन्नुभयो, ‘यो ठीक छ । एकपटक तपाईंले ओलीजीसँग पनि कुरा गर्नुस् न ।’ 

त्यसपछि मैले फेरि केपी ओलीलाई भेटेर कुरा गरेँ । उहाँले तपाईंलाई चित्त नबुझेको केही छ भने थपौँ भने उहाँले केही सामान्य पदावलीहरू परिवर्तन गरेर सदर गर्नुभयो । त्यतिबेला मधेसवादी पार्टीहरूबाट अनिल झा बढी सक्रिय थिए । सद्भावना पार्टीका भरतविमल यादव संयोजक थिए । त्यो दस्तावेजमा मधेस लेख्ने सम्बन्धमा उनीहरूसँग मत बाझियो । मैले एमालेसँग मध्यस्थता गरेर त्यो लेखिदिएँ ।

त्यसपछि मधेसवादी दलहरू पनि सहमत भए । सबैभन्दा पहिलो त एमालेलाई प्रतिनिधि सभा पुनःस्थापनामा सहमत गराउनु नै पनि जटिल काम थियो । त्यो दस्तावेजमा हामीले ‘प्रतिनिधि सभाको पुनःस्थापना, त्यो प्रतिनिधि सभाबाट माओवादीसँगको वार्ता र यही संवैधानिक संरचनाबाट संविधानसभासम्म जान सकिने मार्गचित्र’ उल्लेख गरेका थियौँ ।
  
यो सबै भएपछि गिरिजाबाबु मसँग निकै खुसी हुनुभयो । त्रिपुरेश्वरमा दलहरूको भेलाबाट मोटरमा राखेर गिरिजाबाबुले मलाई महाराजगञ्ज लिएर जानुभयो । यसले अन्य दलसँगको सहमतिमा माओवादीसँग वार्ता गरी मूलप्रवाहमा ल्याउने र राष्ट्रिय मेलमिलापको वातावरणबाट गणतन्त्रसम्म पुग्ने खाकामा गिरिजाबाबुले सबै दललाई प्रवेश गराउनुभयो । यसले आन्दोलनको जग बन्यो । आफ्नो पार्टीको मोर्चामा मात्र काम गर्नुभएका गिरिजाबाबु सरकारमा आएपछि विकास चाहाने नेता हुँदै यो चरणसम्म आइपुग्दा देशमा शान्ति र लोकतन्त्र बहाली गर्ने राष्ट्रिय एजेण्डा बोकेर निकै अग्लो छवि बनाउन सफल हुनुभयो । 

त्यसपछि जनआन्दोलन भयो । प्रतिनिधि सभाको पुनःस्थापना पनि भयो । त्यत्रो मेहनतले पुनःस्थापना भएको संसद्लाई फेरि माओवादीका नेताहरू बालुवाटारमा सार्वजनिक भएको दिन संसद् विघटन गर्ने र अन्तरिम संसद् बनाउने भनेर कृष्ण सिटौलाजीले हस्ताक्षर गराइदिए । जबकी माओवादीको हतियार विसर्जन गर्ने, उनीहरू शान्ति प्रक्रियामा आउने सबै आधार तयार नभई संसद् विघटन गरेर अन्तरिम संसद् बनाउने विषय गिरिजाबाबुका लागि प्रिय थिएन ।
 
पछि यी सबै कुरा बुझेपछि त गिरिजाबाबु बिरामी नै पर्नुभयो । एक त उमेरले पनि बुढ्यौली (८३ वर्ष) भइसक्नुभएको थियो । स्वास्थ्य समस्या बढेपछि उहाँलाई उपचारका लागि बैंकक लगियो । पछि मसँग भन्नुहुन्थ्यो, ‘माओवादीसँग सहमति गर्ने भनेर मस्यौदा ल्याए । म त राम्ररी पढ्न पनि सकिनँ, सुशील (कोइराला)लाई सोधेँ, माधवजी (नेपाल)लाई सोधेँ, दुवैले गर्ने भने र सहमतिमा हस्ताक्षर भयो ।’ 

त्यसबीचमा बैंककबाट गिरिजाबाबुले सुशील कोइरालालाई फोन गरेर मलाई पनि सँगै लिएर प्रचण्ड र बाबुराम भट्टराईहरूसँग कुरा गर भन्नुभयो । प्रचण्डहरूलाई भेट्न अघि मैले एमालेका नेताहरूसँग पनि हतियार विसर्जन गर्ने लगायत उनीहरूले संसद्मा आउनुअघि के-के चरण पार गर्ने भनेर प्रस्तुति गर्नुहोस् भनेँ । 

प्रचण्ड र बाबुराम भट्टराई लगायतलाई भेट्न नेपाली कांग्रेस एमालेका सिनियर नेताहरूसहित हामी गएका थियौँ । कोही नेताहरूले पनि अगाडि छलफल भए अनुसार कुरा राख्नुभएन । खै किन हो, प्रचण्डका अगाडि नतमस्तक जस्तो पो देखिनुभयो । त्यसपछि मैले नै बोल्नुपर्‍यो । मैले भने, ‘प्रचण्डजी, तपाईंले एकांकी कुरा गरेर मात्र हुँदैन । त्यो सहमतिपत्रमा हाम्रो पार्टीमा पनि छलफल हुन्छ । संसद्मा पनि छलफल हुन्छ । सहमतिपत्रमै हेर्ने हो भने प्रतिनिधि सभा विघटन गर्नुअघि माओवादीका हतियार र संरचनाहरू विघटन गर्नुपर्छ भन्ने अडान हाम्रो रहन्छ । माओवादीको प्रतिबद्धतापत्रका भरमा प्रतिनिधि सभा विघटन हुँदैन ।’
 
मैले त्यो भनेपछि उहाँहरूको हतियार व्यवस्थापन र माओवादीका संरचना भंग गर्ने कुरा अघि बढ्यो । हामीले पार्टीमा माओवादीको हतियार संयुक्त राष्ट्रसंघीय निकायको रोहबरमा कन्टेनरमा राख्‍ने, प्रतिनिधि सभा भंग गर्नुअघि माओवादीका संरचना भंग गर्ने र सुरक्षा निकायको मापदण्ड पूरा गर्ने माओवादी लडाकूलाई मात्र विभिन्न सुरक्षा निकायमा समायोजन गर्ने भनेर पार्टीको केन्द्रीय समिति बैठकबाट अनुमोदन गरायौँ ।
 
गिरिजाबाबुले फेरि त्यो कुरा प्रचण्ड र बाबुरामलाई ‘ब्रिफ’ गर भनेर पठाउनुभयो । हामीले गएर ब्रिफ गर्‍यौँ । बाबुराम भट्टराई त यो डिडीआर (निःशस्त्रीकरण, अपरिचालित गर्ने र पुनःएकीकरण) को मोडल हो, यो डिजाइन हामी मान्दैनौँ भनेर आगो हुनुभयो । प्रचण्डलाई बल्लतल्ल सहमत गराएपछि उहाँले रामबहादुर थापासँग छलफल गर्न भन्नुभयो र त्यसमा हामीले उहाँहरूलाई विश्वस्त गरायौँ र शान्ति प्रक्रिया अघि बढ्यो । संविधानसभा निर्वाचन भयो । 

गिरिजाबाबुले मुलुकलाई एउटा कोर्समा लिएर जानुभयो । आफ्नो जीवनको अन्तिममा मुलुकमा शान्ति बहाली र संविधानसभामार्फत जनताले संविधान लेख्ने अवसर सिर्जना गरेर यस धर्तीबाट बिदा हुनुभयो । झण्डै ६ दशक लामो राजनीतिक जीवनमा गिरिजाबाबुले निकै आरोह-अवरोह व्यहोर्नुभयो । उहाँ नेपाली राजनीतिका एक शिखरपुरुष हुनुहुन्थ्यो ।

शान्तिका नायक, एक अविश्रान्त योद्धा गिरिजाबाबुको स्मृति दिवसमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दछु । 

(नेपाली कांग्रेसका नेता आचार्यसँग पुष्पराज आचार्यले गरेको कुराकानीमा आधारित

 


Author

थप समाचार
x