कांग्रेसलाई शत्रुवत परिभाषा गर्नेहरू समाप्त वा समाप्तिउन्मुख
कम्युनिस्टहरूबाट कांग्रेसका बारेमा अनेक दोषारोपण गरेको बारम्बार सुन्नेगरिन्छ । नेपालको परिप्रेक्षमा कांग्रेसभन्दा कम्युनिस्ट पक्ष नै बढी लोकप्रिय भन्ने दावीलाई कांग्रेसले कसरी प्रतिवाद गर्छ ?
कम्युनिस्टहरू द्वन्द्वका नाममा शत्रुतापूर्ण झगडामा विश्वास गर्दछन् । शत्रु तोक्ने कुरामा उनीहरूबीच चर्को विवाद र अन्तर्विरोध हुनेगरेको छ । माओवादीभित्र 'प्रधान अन्तर्विरोध' का नाममा प्रधानशत्रु तोक्ने कुरामा पनि झण्डैझण्डै प्रधानमन्त्री को हुने भन्नेजस्तै गम्भीर अन्तर्विरोध थियो । वैद्यपक्ष प्रधान अन्तर्विरोध 'भारतीय विस्तारवाद' लाई मान्दछ । तत्कालीन बाबुराम पक्ष स्वदेशी प्रतिक्रियावादी सामन्तवादी र यथास्थितिवादीसँग प्रधान अन्तर्विरोध भएको मान्दथ्यो। बाह्रबुँदे समझदारी गरेर २०६२/६३ सालको जनआन्दोलनको बाटोबाट शान्ति प्रक्रियामा ल्याएर पुनःस्थापित प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलसरहको हैसियत दिनमा निर्णायक भूमिका निर्वाह गरे पनि माओवादीले नेपाली कांग्रेसलाई 'मूख्य शत्रु' तोकेको नै हो।
कांग्रेसका विरूद्ध कम्युनिस्ट पक्षलाई परिचालन गरेर घृणा र शत्रुता फैलाउने काम पञ्चायत र २००७ सालभन्दा अघिदेखि नै भएको हो । राणाहरूले कांग्रेसलाई 'राजद्रोही' भन्दथे, महेन्द्रकालीन पञ्चायतले 'अराष्ट्रिय तत्व' भनेर दुष्प्रचार गर्यो भने कम्युनिस्ट, खासगरी उग्रवादीहरूले 'मुख्य शत्रु' तोकेका थिए । कांग्रेसलाई शत्रुवत परिभाषा दिनेहरू समाप्त वा समाप्तिउन्मुख छन् ।
पञ्चायतकालमा कांग्रेसका प्रकाशनहरू सरकारले भेट्यो भने जघन्य अपराधका रूपमा सँजाय हुन्थ्यो । बनारसबाट बन्दाकोभीको बोरामा कांग्रेसको मुखपत्र 'युगवाणी' हालेर ल्याएको पाएपछि गोर्खा निवासी कांग्रेसका कर्मठ कार्यकर्ता (पूर्व राष्ट्रियसभाका सदस्य) दलसिंह कामीलाई प्रहरीले मरणासन्न हुनेगरी पिटेको सन्दर्भ स्मरणीय छ । तर त्यहीँबेला माओ-त्से-तुका लेख-रचनाका पुस्तकहरू नेपालका गाउँगाउँ पुऱ्याउन पूरै छुट थियो ।
माओका ब्याच, 'महावाणी', 'रातो किताब' ('माओ-त्से-तुका उद्धृत उक्तिहरू' तथा 'माओका सैन्य रणनीतिहरू'), चीनको कम्युनिस्ट शासनको गुणगान प्रपोगण्डा गर्ने 'चीन सचित्र' आदि गाउँगाउँमा पुग्ने छट थियो । आज पनि त्यसै मानसिकताले कांग्रेसलाई हेर्ने कुटिल दृष्टिकोण नेपालमा चलखेल गरिरहेको छ ।
त्यहीँ सहुलियत र पञ्चायतलाई अघोषित मित्रशक्ति र कांग्रेसलाई घोषित 'मूख्य दुश्मन' मान्ने जहरिलो विचारले कतिपय कम्युनिस्टहरूलाई छोडेको छैन । उनीहरू त्यही विष-वमन गरिरहेका छन् । काठमाडौँका पूर्व मेयर तथा पूर्वमन्त्री पी.एल. सिंह आफ्नो संस्मरणमा लेख्नुहुन्छ, 'त्रिभुवनले बक्सिस दिएको घरमा जन्मेका कतिपय मानिसहरू आज माओवादीका ठूला नेता भएका छन्… हिजोको दरबारका भित्रियाहरू आज माओवादीमा पुगेका छन्…(द रिपोर्टर, अँग्रेजी साप्ताहिक नोभेम्बर २१-२७, २०११) ।
२०१६ सालमा कांग्रेसको एकमना सरकारले नेपाल-चीन सीमा निराकरण तथा सगरमाथाको स्वामित्वमाथि प्रमाण, नक्शा र ऐतिहासिक सीमारेखा प्रस्तुत गरेर सगरमाथा फर्काउन जोड गरिरहेको थियो । यता कम्युनिस्टहरू सगरमाथा नेपालको हो भन्नलाई हाम्रो हकदावी पुग्दैन भनिरहेका थिए ।
२०१६ साल चैत्र २९ गते तत्कालीन संसदको 'महासभा' (माथिल्लो सदन) मा यसबारे बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद शम्भुराम श्रेष्ठले भनेका थिए, 'सगरमाथा हाम्रै हो भनी ठोकेर भन्न सक्तिन, दुबै सरकारको आपसी छलफलबाट जसको प्रमाण बलियो निस्कन्छ त्यसैको हो । '('राजनीतिक दर्पण', दोस्रो भाग, द्वितीय संस्करण २०३६, पृ. ४०७)'
भएको के रहेछ भने त्यसबेला चिनियाँ पत्रपत्रिकाहरूले सगरमाथा चीनको हो भन्ने दावी गर्दै ठूलो प्रचारवाजी गरेका थिए । 'बेइजिङमा पानी पर्दा काठमाडौँमा छाता ओड्ने' भनिएका कम्युनिस्टहरूले त्यहीँ बेला सगरमाथा चीनलाई बुझाउने खालको प्रपोगण्डा गरिरहेका थिए भने पृथ्वीनारायण शाहलाई साम्राज्य विस्तार गरेको, अनेक जनजाति राज्य जबरजस्ती गोरखा राज्यमा गाभेको इत्यादि प्रपोगण्डा त बारम्बार गरिआएकै छन् । यस्तो सोच बोकेकाहरूले नेपाली कांग्रेसको विरोध गर्नु स्वाभाविकै हो ।
कम्युनिस्टहरू कांग्रेसको विरोध गर्दछन्, विरोधभन्दा पनि अवरोध पुर्याउन खोज्छन् कांग्रेसलाई । खासमा तिनीहरूले हाम्रो इर्ष्या गरेका हुन् । आलोचना, विरोध र इर्ष्या, सुन्दा उस्तै लाग्ने प्रवृत्ति भए पनि चारित्रिक विशेषताले यी फरक छन् । आलोचना प्रजातन्त्रवादी संस्कारको एउटा पाटो हो । विरोध, प्रतिष्पर्धा र विकल्पको लक्षण हो । इर्ष्या तुच्छ र स्तरहीन पक्ष हो । कांग्रेसको विडम्बना ! यसले आलोचक पाएन, जिम्मेवार विरोधी पाएन, पायो त आलोचना वा विरोधीका बहानामा इर्ष्यालुहरूको जमात बढी मात्रामा !
वास्तबमा कम्युनिस्टहरू जे-जस्ता गालीका प्रपोगण्डा मच्चाइरहेका त्यो उनीहरूको विकृति लुकाउने आपराधिक धुत्याईँ सावित भइसकेको छ । यही चरित्रले गर्दा विश्वभरी कम्युनिस्टहरू बढारिने वा कम्युनिस्ट शासनको पतन भएको र कतिपय मुलुकमा कम्युनिस्ट शासकहरूको उछितो काडिएको पनि हो ।
रूमानियाका शासक निकोलाई चाउसेस्कु, अफगानिस्तानका बारबाराक करमाल, कम्बोडियाका पोलपोट, इथियोपियाका मङ्गेत्सु हाइलेमोरियम त्यस्ता कुख्यात शासकका केही उदाहरण हुन् । कम्युनिस्ट पार्टीभित्रका विकृतिबारे माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भनेका छन्, 'सुरूसुरूमा कम्युनिस्ट बन्दा पार्टीमा सबै राम्रा मात्रै छन् जस्तो लाग्दथ्यो, तर पार्टीमा काम गर्दै जाँदा थाहा पाइयो, त्यहाँभित्र पनि भयङ्कर अवसरवादी, फटाहा र सबै प्रवृत्ति हुँदा रहेछन् । त्यहाँ पनि भीषण संघर्ष हुँदोरहेछ । कहिलेकहिँ त बुर्जुवा (पार्टी) मा हुनेभन्दा पनि रद्दी खालको संघर्ष कम्युनिस्ट पार्टीभित्र हुँदोरहेछ ।' ('प्रचण्डका नजरमा कम्युनिष्ट पार्टीको ६० वर्ष' शीर्षकमा नयाँ पत्रिकाको २०६७ वैशाख ९ गते बिहीबारको अंक )
त्यसैगरेर पूर्वमन्त्री तथा कम्युनिस्ट नेता ई. गणेश साहको भनाईमा, 'यहाँ त सर्वहारा र आवारका बीच टक्कर छ । नेपालका सर्वहारामध्ये ८० प्रतिशत आवारा छन् ।' ('मूल्याङकन' मासिक, २०६८ वैशाख अंक) यो भनाइको मर्ममा मार्क्स र एङ्गेल्स्को 'कम्युनिस्ट घोषणापत्र' को यो भनाइलाई सम्झाउँछ, 'लम्पट सर्वहारा, यो पुरानो समाजको निम्नतम् तहको कुहिएको अकर्मण्य उपज, ठाउँठाउँमा सर्वहारा क्रान्तिको हुरीद्वारा आन्दोलनमा खिँचिन्छ, तर आफ्नो जीवन अवस्थाले गर्दा प्रतिक्रियावादी षड्यन्त्रमा बेचिएर जान बढी उत्सुक हुन्छ। नेपालका कतिपय कम्युनिस्टहरूबीच के यो चरित्रको दबदबा छैन र ?
उपरोक्त भोगाइ र अनुभवका अभिव्यक्तिले कम्युनिस्ट पार्टीभित्रका चरित्रहरूको चित्रण गर्दछ । नेपालमा सबभन्दा धेरै मानिस मार्ने, विकासका संरचना भत्काउने, विकास अवरूद्ध बनाउने, जबरजस्ती पैसा उठाउने, अपहरण तथा नागरिक विस्थापनको काम कम्युनिस्टहरूबाटै भएको छ । माओवादीको सशस्त्र हिंसाबाट मारिएको तथ्याङ्क नेपाल एकीकरणका क्रममा मारिएका मानिसको संख्याभन्दा दोब्बर छ । नेपाल एकीकरणका क्रममा जम्मा आठहजारभन्दा केही बढी मानिसहरूको ज्यान गएको तथ्याङ् देखिन्छ । जनतामा हत्या, हिंसा र आतङ्क मच्चाउनुलाई लोकप्रिय भएको भन्न कुनै तर्कले पनि मिल्दैन ।
(कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको फागुन ५ गते बिहीबार सार्वजनिक हुने पुस्तक 'नेपाली कांग्रेस को संक्षिप्त इतिहास'बाट)