जसरी हुन्छ भूमि, महल, सम्पत्ति, गाडीहरू चाहियो चाहियो !
मानिसहरूमा आजभोलि भौतिक सुख प्राप्तिको लालसा यति धेरै बढ्दै गएको छ कि जसको कुनै सीमा नै छैन । घर, सम्पत्ति, जग्गा, जमिन, गाडी, आधुनिक जीवनसहितको नोकरचाकर अनि मुफ्तमा खोला जसरी निरन्तर बगेर आउने पानी सरहको आयस्रोतको अपेक्षा धेरैले राख्ने गर्छन् । यी सुखदायी जीवन प्राप्तिको निम्ति जुनसुकै अपराध लाज नमानी केही मानिस गर्न तयार छन् । कठिन परिश्रमसहितको जीवनमा बाँच्नेसम्मको हैसियत रहे पनि, त्यसमा आराम र सुख भने हुँदैन ।
हिलोमाटोसँग सदाबहार खेल्ने किसान, रातदिन पेट भर्न जेठ-असारको कडा घाममा पसिना बगाउने मजदुरले श्रमको साथ बाँच्ने गरेका हुन्छन् । तर ती धनी र आर्थिक कुराले क्षमतावान् भने कहिले पनि बन्न सकेका छैनन् । जसोतसो तिनको परिवारको प्राण धानिएकोसम्म हुन्छ । नेपालमा किसान र मजदुर वर्गको उत्थानका निम्ति सहयोग र लगानी सरकारले तनमनको साथ गरेको देखिएको पनि छैन । यदि केही छ भने पनि प्रचार-प्रसार गरी हात्तीको देखाउने दाँत सरह भएका छन् । तिनको नाममा सरकारले गर्ने योगदानहरू राजनीतिक प्रचारबाजी र भ्रष्टाचारीहरूलाई बाँडीचुँडी खाने मेलोमेसोसम्म बनेको छ ।
मुलुकमा अमन, चैन, शान्ति सुव्यवस्था त्यसबखत छाउन सक्छ, जब देश साँच्चै नै विधिको शासनद्वारा सञ्चालित हुन्छ । कर्मचारीहरूले आफ्नो वेतनमा सीमित रही जीविका चलाउने, व्यापारीले सुदखोरी र अचाक्ली नाफा र मुनाफा खोरी नगर्ने, नेता र सत्ताधारीहरूले भ्रष्टाचार नगर्ने, मुलुकभित्र माफिया र तस्कर लुटेरामाथि कठोर कारबाही हुने अनि प्रहरी प्रशासनले अपराधीविरुद्ध कडा कारबाही गरी दूधको दूध पानीको पानी छुट्याउने हो भने मुलुकको विकास हुन सक्छ ।
अबको समयमा यी कुरालाई सुन्दा पनि कतिपयका लागि हाँस्यास्पद अनुभूति हुन सक्ला । अहिलेको अचाक्ली महँगी कृत्रिम हो, जो सायद अमेरिकामा पनि भरसक छैन । यहाँ सकेसम्म लुटेर, भ्रष्टाचार र कमिसनबाट कमाउहरूले ठूलो रकम खर्चेर जीवनयापन गरेका छन् भने मध्यम र निम्न मध्यम वर्गलाई तिनीहरूसँग दाँजिन कठिनाइ छ । महँगी वृद्धि हुनुमा कारक तत्व मुलुकभित्रको लथालिंग र बेथिति पनि हो । उब्जा गर्ने किसानको हातबाट बिक्रेताहरूको तीन-चार तह पार गरी ठाउँ-ठाउँमा कमिसन बुझाएको रकम र ती सबैकाहरूको मुनाफा समेतलाई जोडेर अन्तिम तह ग्राहकसम्म पुग्दा महँगो हुनु स्वाभाविक हो ।
मुलुक सरलै गतिमा सञ्चालन त्यसरी पनि हुनसक्छ, यदि माथि उल्लिखित अपराध र अपराधीहरूमाथि जब राज्यले पूर्णतः नियन्त्रण गर्छ । त्यस्तै रोजगारीको क्षेत्रहरूमा मुलुकभित्र व्यापक विस्तार गरिनुपर्छ, अनि आम जनताको आयमा वृद्धि गराउन सक्नुपर्छ । शान्ति सुरक्षा र न्याय सम्पादनमा जनताबीचमा पंक्तिभेद हुनु हँुदैन । सरकारको मूल कर्तव्य असल शासन, कर्तव्यनिष्ठ प्रशासनको बहाली गर्ने हो ।
सरकारले स्वास्थ्य र शिक्षामा लगानी कुनै एक तह र निम्न र पिछडिएको वर्गसम्म निःशुल्क गर्न आवश्यक छ । अहिलेको शिक्षा प्रणालीमा सरकारको बजेट सरकारी पाठशाला र विद्यालयमा गरिएको छ । तर तिनको स्तरलाई पूर्णतः घटाएर निजी लगानीका संस्थानहरूमा छात्रछात्रहरूलाई पठनपाठन गर्न आकर्षित गराइएको छ । परिणामस्वरूप छात्र-छात्राहरूले एकातर्फ महँगो रकम खर्च गरी शिक्षा पाएका छन् । तर तिनका निम्ति मुलुकमा रोजगारी भने शून्य छ । परिणामतः नेपालका उच्च शिक्षा हासिल गर्ने युवयुवतीहरू पनि रोजगारीका निम्ति साउदी, कतार, मलेसिया र कोरिया नपुगी धरै छैन ।
त्यही वैदेशिक रोजगारमा रोजगारी दिलाउने म्यानपावरका अधिकांश कम्पनीहरूको ठूलो ठगी धन्दा चलेको छ, ‘मरेमाथि कात्रो भने जस्तो । मुलुकमा रोजगारी छैन । आय स्रोत छैन । केही शिक्षा पाएका छन्, हातमा डिग्री पनि छ, तिनले मुलुकभित्र घर गाउँमा जनमजदुरको काम गर्न पनि सक्दैनन् । बरु मुलुकको डाँडा नै काटेपछि अर्काको देशमा केको लाज भनी वैदेशिक रोजगारीमा जादा पनि ठगीको माखेसाङ्गलोमा परिने जस्ता व्यवहार बराबर भएका छन् ।
म्यानपावर एजेन्सीहरूले गाउँ-गाउँमा दलालहरू राखेका छन् । तिनले बेरोजगार युवाहरू, सेनाका सेवा निवृत्त सैनिक, प्रहरीहरूलाई खोजी खोजी हिँडने गर्छन् । यसरी सोझा सिधा नेपाली युवाहरूको घरखेती बेच्न लगाएर, ललाएर फकाएर ऋण काढ्न लगाएर धेरै कमाउने प्रलोभन दिएर, भारी रकम लिएर अलपत्रमा पारी दिने गरेको तथ्य जगजाहेर छ ।
त्यो सरकारमा रहनेहरूलाई पनि जानकारी निश्चय हुने गरेको छ । तर पनि यी घटना बारम्बार किन दोहोरिएका छन् र अपराध गर्ने कम्पनीहरूसँग सरकारको के साइनो हुन्छ र तिनलाई खारेज गरिने कारबाही किन हुँदैन ? म्यान पावरको अपराध र दम्भ यति बढेको छ कि उल्टै पीडितलाई धम्क्याउने, मौका परे यातना दिने कुटपिट गर्ने र गुण्डा लगाउनसमेत पनि सुरु भएका छन् । यदि सरकारी निकायहरूले म्यानपावर वा त्यस्ता एजेन्टको ठगी धन्दाबारेमा आमजनतालाई सजग गराउने हो वा तिनको अपराधबारे कडा कारबाही गरिदिने हो भने आमयुवाहरूका घर खेती बिक्ने थिएन । तिनीहरू ऋणमा पर्ने पनि थिएनन् ।
नेपाली नागरिक आमरूपमा सिधा छन् । सरल छन् । जुन ठगले जस्ता कुराको सपना बुनेर देखाइदिन्छ त्यसैमाथि विश्वास हठात गर्ने गरेका छन् । क्यानाडा, अमेरिकामा नोकरी खुलेको छ । यति रकम अनलाइनमार्फत यो खातामा राख भन्ने सूचना पाउना साथ दायाँबायाँ केही नबुझी घर खेती खला बेचेर पैसा जम्मा गर्ने र शतप्रतिशत त्यस्ता सूचनामा विश्वास गर्ने ती कस्ता मानिस हुन् ?
यो कोरोनाको महामारीकालमा आमजनता त्यसै पनि पीडित छन् । यसबेला निजी क्षेत्रका व्यापार व्यवसाय कल कारखानाहरू बन्छन् । तिनको निरन्तरताको अभावमा आममानिसको रोजगारी खोसिएको छ । अघिका अधिक मानिसहरू बेरोजगार भएको देखिएको छ । तर यसबेला एउटा अर्को ठगीको व्यापार फस्टाएको छ, त्यो हो जग्गाको दलाली । यस धन्दामा पनि मानिसहरू लाखौँ लाख ठगिएका छन् । जग्गा दलाली पेसा नेपालमा जो कोहीले पनि गर्न सक्ने, लाइसेन्स नचाहिने, कर तिर्न नपर्ने, दुई चार भाडाका गुण्डा र ठग्नलाई लाजसरम केही पनि नमान्ने क्षमता भए पुग्ने पेसा बनेको छ ।
जग्गाको भाउ पनि दलालले तय गर्ने, दिन दुई गुना राती चार गुनाको दरले भाउ बढाए पनि हुने, कुनै कसैबाट सोको अड्चन नरहने । महिना दिनअघि दश लाखमा खरिद गरेको जग्गा अर्को महिनामा बीस लाख भाउको घोषणा गर्न पनि सरलसँग मिल्ने । यति धेरै मुनाफा हुने व्यापारमा कस कसका लगानी हुने गरेको छ भन्न सकिन्न । परिणामतः यही दलालीको रकमको खेलमा दिन दहाडै मानिसहरूले ज्यान गुमाउन थालेका छन् । हिजो-अस्ति धरानका नेवार थरकासहित एक अर्का मोरङको उखुबारीमा मारेर पुरिएको भेटियो ।
अर्का राई लिम्बू थरका काठमाडौँमा मारेर पुरिएको फेला पर्यो । भूमिको बिक्री व्पापारमा मानिसले रकम बढ्छ भनेर खाई नखाई लगानी गर्छन र लालपुर्जा समाएर बस्छन् । जसको भाउ पुन बिक्री गर्दा बढ्छ भन्ने कुनै निश्चित हुन्न । दलालले बढाएको भाउँमा भोलिको दिनमा बढेर दुई गुना हुने सम्भावना नरहन पनि सक्छ । अर्कोतर्फ एउटै जग्गा दुई चार पटक कीर्ते हुँदै बिक्री भएका पनि छन् । जग्गा बिक्री गर्ने नाउमा पैसा मानिसका लुटिएका पनि छन् । नेपालमा अन्य क्षेत्रमा लगानी नभएको कारण दलालको मनोमानी जग्गा जमिनको भाउमा वृद्धि भएको मात्र हो । यो व्यवसायमा पारदर्शिता नहुने कारण, हुने खाने वर्गको महत्वाकांक्षी लगानी, राजस्व छली, भ्रष्टाचारको रकम लुकाउने जरिया हो ।
नेपाली नागरिक आमरूपमा सिधा छन् । सरल छन् । जुन ठगले जस्ता कुराको सपना बुनेर देखाइदिन्छ त्यसैमाथि विश्वास हठात गर्ने गरेका छन् । क्यानाडा, अमेरिकामा नोकरी खुलेको छ । यति रकम अनलाइनमार्फत यो खातामा राख भन्ने सूचना पाउना साथ दायाँबायाँ केही नबुझी घर खेती खला बेचेर पैसा जम्मा गर्ने र शतप्रतिशत त्यस्ता सूचनामा विश्वास गर्ने ती कस्ता मानिस हुन् ? कतिले चिठ्टा परेको भ्रमपूर्ण सूचना दिएर भारी मात्राको चिठ्ठाको रकम यदि पाउने हो भने लाखौँ रुपैयाँ खातामा जम्मा गर भनेको भरमा विश्वास गरी आफ्नो पसिनाको कमाइ त्यस्ता ठगहरूलाई सुम्पिएर धोती न टोपी पनि भएका छन् । कतिले अर्काले भनेको भरमा, वा केही रकम सहयोग पाएको भरमा अरुको ऋणको दायित्व बोकेका छन् । सिङ्गै गाउँलेहरूले व्यापारीको ऋणको दायित्व बोकेको पनि देखियो । त्यसरी ऋण दिँदा दिने बैंकले ऋणीको हैसियत किन बुझेन ? अथवा शंकासम्म गरी स्थानीय रूपमा गएर ऋणीबारेमा जानकारी किन लिएन ?
यस्ता अपराधबाट आमनागरिकलाई जोगाउने दायित्व सरकार, प्रहरी, प्रशासनको हो । तर हेक्का राख्नुपर्ने कुरा के छ भने विनापरिश्रम एक रातमा करोड करोड कमाउने वर्गको सन्जाल र तिनको पहुँच कहाँ-कहाँ छ त्यो यकिनसँग भन्न सकिन्न । अन्यथा, अपराधको जानकारी पाउना साथ कडा कारबाही गरी हत्कडी र नेलसहित खोरमा अपराधीलाई पुर्याउने हो भने यस्ता अपराधहरूको नियन्त्रण निश्चय नै हुन सक्नेछ । साथै अपराधको संख्यामा नियन्त्रण पनि हुनेछ । अन्यथा, अपराधीहरूको मनोबलमा वृद्धि भई दण्डहीनता मुलुकमा कायम हुनेछ । साथै यसबाट राज्यको दण्ड र सजायको न्याय प्रणाली फितलो भएको मानिनेछ ।