विचार

जनशक्ति अभिलेख, क्षमता विकास तथा सुशासनको वैज्ञानिक मापदण्ड

ईश्वरीप्रसाद पोखरेल |
चैत ५, २०७८ १५:४२ बजे

राज्य प्रणालीका प्रशासनिक संगठनभित्र विविध सेवा, समूह, उपसमूहका जनशक्ति कार्यरत हुन्छन् । पदसोपानमा स्थापित प्रशासनिक संरचनाको कार्यसम्पादनका आधारमा (कार्यालय सहयोगीबाट सहायक पद हुँदै सहसचिवको अहं भूमिका पार गर्दै अन्तिम सचिवसम्म) पुग्छ । यो पदसोपानमा आम जनता तथा प्रत्यक्ष सरोकारवालाहरूले विभिन्न विषय क्षेत्रका सरकारी सेवा पाउने वा प्राप्त गर्ने गर्दछन् । यसैले सरकारका सबै निकायहरू सञ्चालनमा राज्यबाट निर्धारित विभिन्न सेवा, समूह, उपसमूहका श्रेणीगत जनशक्ति संलग्न हुन्छन् ।

राज्य प्रणालीमा प्रशासनिक क्षेत्रको अर्थ, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र संवैधानिक आयोग, निकाय मातहतका सबै मन्त्रालय, विभाग, आयोग, केन्द्रीय अड्डाहरू हुन् । ती सबै मातहतका आयोग, समिति, बोर्ड, परिषद्, संघ संस्थान, प्राधिकरणजस्ता निकाय पनि राज्यका अभिन्न अङ्ग हुन् । यिनको संगठन संरचना, जनशक्ति संख्या, निर्णयमा पद सोपानगत जनशक्तिको भूमिका अति महत्वपूर्ण हुन्छ । राज्यको हरेक क्षेत्रमा उपस्थितिको सुनिश्चितता गर्ने र सुशासनको विश्वास दिने निकाय रक्षा, गृह मन्त्रालय हुन् ।


राज्य प्रणालीलाई बलियो बनाउने तथा शासनलाई जनताको आवाजसँग तालमेल गराएर मुलुकमा सुशासन स्थापित गर्न सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिको भूमिका निष्पक्ष, न्यायिक तथा अनुसन्धानमुखी हुँदै जनसहयोगी हुनु गणतन्त्रको विशेषता मानिन्छ । यसर्थ यो लेखमा राज्यको समग्र जनशक्ति अभिलेख व्यवस्थापन तथा क्षमता विकासमा स्रोत लगानीका वैज्ञानिक आधारको समीक्षा तथा सुशासनको खोजी कसरी गर्ने ? केही आधारभूत प्रश्न तथा समाधानका उपायहरू सुझाइएको छ । 

सार्वजनिक सेवाका निश्चित मापदण्ड खोई ? 

संघीय, प्रादेशिक तथा स्थानीय तहका सबै विषयगत क्षेत्रका निकायहरूमा आआफ्नो सेवाको कार्य प्रकृति र विशिष्टता अनुरूपका सेवा समूह, उपसमूहमा विभाजित कर्मचारीहरूको तल्लो पददेखि उपल्लो पदसम्म पदोन्नति हुने संगठन संरचना तथा वृत्ति विकास दरबन्दी आधार निर्माण वैज्ञानिक बनाउनु राज्यको दायित्व हुने गर्दछ । सेवा प्रवेशका लागि तल्लो पदको न्यूनतम शैक्षिक योग्यतादेखि उपल्लो पदका लागि निर्धारित गरिन्छ ।  सेवागत रूपमा सेवा, समूह, उपसमूहका जनशक्तिको छनौट विधि, प्रक्रिया र मापदण्ड तोकिन्छन् । प्रारम्भिक चरणमा सेवा प्रवेश गराइएकालाई निश्चित समयावधिको अभिमुखीकरण तालिम, प्रशिक्षणको व्यवस्था गरी संगठनका उद्देश्य र जनशक्तिको पदीय भूमिका अवगत गराइएको हुन्छ ।

संगठनभित्र सेवा, समूह, उपसमूह अनुसार (खुलाबाहेक) एउटा पदबाट अर्को पदमा पदोन्नति हुन लाग्ने न्यूनतम र अधिकतम समय (कार्यालय सहयोगीदेखि सहसचिवसम्म) बारे सामान्य जानकारी पनि हुने, दिइने गर्दछ । (कार्यालय सहायकदेखि सहसचिवसम्म) सेवाकालीन तालिमको न्यूनतम र अधिकतम समय, महिना पनि निर्धारण भएका हुन्छन् । जनशक्ति व्यवस्थापनका आधार पदीय कार्यविवरण तोकिएका हुन्छन् । तर दैनिक कार्यसम्पादन सूचकहरूको निर्धारण तथा मूल्याङ्कन अवस्थासित पंक्तिकार अनविज्ञ छ । कार्यविवरण तथा दैनिक कार्यसम्पादन सूचकहरू प्रयोगमा सञ्चालित जनशक्तिको कार्य समीक्षामाथि सर्वेक्षण तथा पुनरवलोकन गर्ने पद्धति विकासबारे पनि २५ वर्षको कार्यानुभव मौन छ । 

सार्वजनिक सेवाको अपारदर्शिताले सिर्जित उदासीनता 

वर्षौंदेखि हालसम्म सबै संगठनभित्र सेवा, समूह, उपसमूहका आधारमा (कार्यालय सहायकदेखि सहसचिवसम्म) विदेशमा एक हप्तादेखि पाँच वर्षसम्म सतलबी, छात्रवृत्तिमा अध्ययन, तालिम र प्रशिक्षण, भ्रमणमा जाने अवसर पाएका हुन्छन् । यसरी स्वदेशमा एक वर्षदेखि पाँचवर्षसम्म सतलबी, छात्रवृत्तिमा अध्ययन, तालिम र प्रशिक्षणमा जाने अवसर पाएका हुन्छन् । तर सबै तथ्यांक सार्वजनिक नहुने गुनासोका चौतर्फी आवाज सुनिन्छ । यसैले राज्यको आर्थिक लगानीका सेवासुविधामा विकास गरिएका सेवा, समूह, उपसमूहका जनशक्तिहरूको प्रयोग तथा अभिलेख व्यवस्थापन चुस्त, दुरुस्त र पारदर्शी छन् वा छैनन् ? देहायका पक्षमा विस्तृत अध्ययन होस् सरोकारवाला भनिरहेछन्:

अध्ययनका विषय प्रकृति एक

१) तालिम, प्रशिक्षण तथा अध्ययन अनुरूप जिम्मेवारी पाएका छन् ? छैनन् ? 
२) सेवा, समूह, उपसमूह अनुसार सेवा–सुविधा पाउनेको अभिलेख सार्वजनिक हुन्छ ? हुँदैन ? 
३) तालिम, प्रशिक्षण तथा अध्ययनको अवसर प्राप्त जनशक्तिले विषयगत क्षेत्रमा पु¥याएको योगदानको अभिलेखको मूल्यांकन हुन्छ ? हुँदैन ? 
४) तालिम, प्रशिक्षण तथा अध्ययनको अवसर प्राप्त जनशक्तिअभिलेख अद्यावधिक गर्ने तथा सार्वजनिक प्रकाशन गर्ने व्यवस्था छ ? छैन ?

अध्ययनका विषय प्रकृति दुई

संगठनभित्र सेवा, समूह, उपसमूहका आधारमा (कार्यालय सहायकदेखि सहसचिवसम्म) को पदस्थापन, जिम्मेवारी, सरुवा, बढुवा, कार्यजिम्मेवारी छनौट र समयावधिको मापदण्ड÷कार्यसूचकहरूको व्यवस्थाबारे अध्ययन आवश्यक छ । जस्तै :
१) नेतृत्व गर्ने, जिम्मेवारी बहन गर्ने पदको स्पष्ट कार्यविवरण बनाइएका छन्, छैनन् ।
२) संगठनको विद्यमान प्रगति सूचक तथा भावी योजनावद्ध लक्षित प्रगतिका सूचकहरू स्पष्ट बनाइएका छन्, छैनन् ? 
३) नेतृत्वको जिम्मेवारी पाएमा हरेक पदाधिकारीले संगठनको लक्षित परिणाम निकाल्ने प्रस्ताव गर्ने अवसर पाउँछन्,पाउँदैनन् ? 
४) प्रस्ताव तथा दायित्व पूरा गर्न लाग्ने समयावधिको पालना हुने गरी जिम्मेवारी दिने प्रावधान विकास गरिएका छन् , छैनन् ? 
५) पदाधिकारीलाई कार्र्यसम्पादन गर्न पाउने समयको कुनै निश्चितता हुन्छ ? हुँदैन ?

अध्ययनका विषय प्रकृति तीन 

यसरी नै राज्यका निकाय तथा पदाधिकारीबाट मुलुकमा जारी ऐनकानूनको पारदर्शी रूपमा मापदण्डको पालना तथा वृत्ति विकासका अवसर वितरण हुन्छन् वा हुँदैनन् ? अवसरको दुरूपयोग गर्नेहरूलाई निरुत्साहित गर्ने व्यवस्था कति व्यवहारिक तथा पारदर्शी रूपमा इमानदारितासाथ कार्यान्वयन हुन्छन् ? हुँदैनन् ? जस्ता प्रश्न उठिरहेका छन् । यसर्थ राज्यले देहायका विधिमा अध्ययन थाल्नु पर्दछ । 

१) कुनै व्यक्तिले बार बार अवसर पाउने तथा कसैले एक पटक पनि मौका नपाउने अवस्था छ ? छैन ?
२) आफू सम्बन्धित नभएको विषय क्षेत्र र कार्यमा समेत प्रभाव पारी अवसर लिने दिने प्रवृत्ति छ ? छैन ?
३) लक्षित सूचकको प्रगति नदिने र जिम्मेवारी बहन नगर्नेले फेरी मौका पाउँछ ? पाउँदैन ?
४) निरन्तर राज्यका सेवासुविधा प्राप्त गर्ने मौका पाउनेहरूलाई दुरूपयोग हुन नदिने नियमन गरी क्षतिपूर्ति भराउने व्यवस्था छ ? छैन ?
५) क्षतिपूति लिने व्यवस्था कार्यान्वनबाट विगत ५ वर्षमा कोही प्रभावित भए ? नभएको निश्चित अभिलेख छ ? छैन ?

अध्ययनका विषय प्रकृति चार 

अध्ययनको अर्को विषय स्वदेश, विदेश, तालिम, प्रशिक्षण र अध्ययन अवसरको छनौट विधि तथा प्रक्रिया कसरी पारदर्शी तथा सर्वस्वीकार्य बनाइएका छन् , छैनन् ? देहायका विधि  तथा प्रक्रियासम्मत नभएको गुनासो गर्नेहरूको जोडदार माग रहेको छ । 

१) खुला सार्वजनिक सूचना निकालेर उम्मेदवार माग गर्ने ।
२) नेतृत्वले विश्वास गर्ने, कार्यसम्पादनमा अब्बललाई अवसर दिने ।
३) कुनै विधि, प्रक्रिया र आधारभूत सूचकको मापदण्ड छैन ।
४) सेवासुविधा सर्त, जिम्मेवारी पालनाका सर्त तोकिएका हुने
५) सेवा, समूह, उपसमूहबीच सेवासुविधा प्राप्तिमा कुनै विभेद छैन ।
६) सेवा, समूह, उपसमूहबीच सेवासुविधा प्राप्तिमा धेरै विभेद छ ।

अध्ययनका विषय प्रकृति पाँच 

सेवा उत्प्रेरणा, पुरस्कार तथा कार्यसम्पादन वातावरण तथा सम्मानको अवस्था कुन तह र पदमा सिमित छन् ? सेवा, समूह, उपसमूहका कति जना कुन कुन कार्यसम्पादनका लागि कुन हैसियतको पुरस्कार तथा सम्मानबाट पुरस्कृत भए ? सूचकका आधारमा जनताले थाह पाउने व्यवस्था खोई ? त्यस्तै संगठनभित्र सेवा, समूह, उपसमूहका आधारमा अधिकृतदेखि सहसचिवसम्मको सुशासन, आचरण विपरीतका कार्यबाट कति जना विभागीय कारवाही, दण्ड सजाय र जागीरबाट समेत हट्न बाध्य हुनु प¥यो ? कर्मचारीमाथि लागेका आरोप, मुद्दा र पेसागत आचरण विपरीतका विषयहरू के के हुन् ? तथ्यांकबाट स्पष्ट हुनु पर्दैन ? प्रश्न उठाइएको पाइन्छ । 

अध्ययनका विषय प्रकृति छ

संगठनभित्र सेवा, समूह, उपसमूहका आधारमा अधिकृतदेखि सहसचिवसम्मका कर्मचारीले आवास सुविधा, चार पाङ्ग्रे गाडी, दुई पाङ्ग्रे गाडी तथा कार्यालयका भौतिक सामग्री उपभोगका सुविधा प्राप्त गर्ने सूचक तथा मापदण्ड बनाएर सार्वजनिक गरिएका छन् ? कसले सुविधा पाउने ? कसले नपाउने ? कारण सार्वजनिक हुने, नहुने ? संगठनभित्र सेवा, समूह, उपसमूहका आधारमा अधिकृतदेखि सहसचिवसम्मका कर्मचारीलाई आवास सुविधाबाट लाभान्वित प्रतिशत कति ? वैयक्तिक यातायात सुविधा ( चारपाङ्ग्रे, दुई पाङ्ग्रे ) सामूहिक यातायात साधन प्रयोग गर्नेहरूको प्रतिशत कति ? वैयक्तिक पेसागत अभिवृद्धिका लागि उपलब्ध ल्याबटव, मोबाइल, सञ्चार उपकरण तथा विभिन्न सेवासुविधा प्रयोग गर्नेहरूको प्रतिशत कति ? 
संगठनभित्र पद सोपान, कार्य प्रणाली, कार्यसम्पादनका कर्मचारीहरू बीचमा सेवासुविधा प्राप्त गर्ने र नगर्ने कर्मचारीहरूको कार्यसम्पादन गुणस्तर मापन विधिको विकास नहुँदा सेवामा देखिएका सकारात्मक, सबल तथा नकारात्मक, कमी कमजोरीहरूबारे अध्ययन विश्लेषण हुनु पर्दैन ? सुविधा पाएका र नपाएकाहरूको कार्यसम्पादनमा फरक हुने, नहुने ?संगठनभित्र पद सोपान, कार्य प्रणाली, कार्यसम्पादनका कर्मचारीहरू बीचमा सेवासुविधा प्राप्त गर्ने र नगर्ने कर्मचारीहरूको कार्यसम्पादन गुणस्तर तथा सेवा प्रदायकहरूमा पाइने सन्तुष्टि, असन्तुष्टिको अध्ययन अवस्था सार्वजनिक गरिनु पर्दैन ?

अध्ययनका विषय प्रकृति सात 

संगठनभित्र नेतृत्वको अभिभावकीय धर्म र पेसागत दायित्व मुख्य हुन्छ । देहायका जुनसुकै अवस्थामा पनि नेतृत्व चलेका हुन सक्छन् तर नतिजा चाहिँ अपेक्षाकृत हुन्छ कि हुँदैन ? तसर्थ राज्यले नेतृत्व शैली र कार्यसम्पादनलाई जोड्न आवश्यक हुन्छ । जुन २५ वर्षको अनुभवमा मैले पाइनँ, यसैले अध्ययन गर्न आवश्यक देखिन्छ ।

१)    कर्मचारी उत्प्रेरणा, मनोबलवृद्धिका लागि सेवासुरक्षाको सुनिश्चितता, सरुवा, बढुवा र कार्यजिम्मेवारीको पारदर्शिता, सुपरिवेक्षण तहबाट कोचिङ, मेन्टोरिङ र पृष्ठपोषणको असल अभिभावकत्व छ, छैन ? 

२)    सुपरिवेक्षण, सुपरिवेक्षक तहबाट जनशक्तिको वैयक्तिक समस्या, कार्यमा उपस्थित बाधा व्यवधान हटाउन चासो र पहल हुन्छ, हुँदैन ? 

३) संगठनभित्र कार्यकक्ष तथा कार्य वातावरण निर्माणमा समान व्यवहार, तोकिएको कार्य विवरण सम्पादनका लागि दक्ष र सिर्जनशील जनशक्ति व्यवस्थापन,साथै सेवासुविधाको निष्पक्षतासाथ उपलब्ध गराइन्छ, गराइँदैन ?

४) सेवा प्रवेशदेखि अवकास( विरुवादेखि वटवृक्ष समान) को फैलावट र हैसियतको नेतृत्वमा पुग्न सक्ने स्पष्ट मार्ग चित्र र सम्भावनाको मार्ग दर्शन सबै सेवामा समान छ, छैन ?

५)    सिर्जनशील, आत्मस्वाभीमानी, निष्पक्ष, निर्डर तथा तटस्थ जनशक्तिको पेसागत कार्यको सम्मान र प्रशंसा गर्ने नेतृत्व छ, छैन ?

अध्ययनका विषय प्रकृति आठ

विगत १० वर्षमा संगठनका लागि स्वदेश तथा विदेशबाट उत्पादित जनशक्ति प्रयोग हुने सेवा, समूह, उपसमूहगत विशेष क्षमताका लागि उत्पादित विषयगत दक्ष जनशक्तिबाट देहायका विषयमा निकायभित्र तपसिलका कार्यहरू हुन्छन् ? हुँदैनन् ?

१) उच्च व्यवस्थापकीय सीप अभिवृद्धिका लागि राष्ट्रिय मापदण्ड विकास गरिएको तथा तीबारेमा चिन्तन,मनन हुने गरेको ।
२)    उच्च पेसागत सीप र प्रयोगका क्षेत्र पहिचान तथा उत्पादन र विकासका लागि राष्ट्रिय मापदण्ड तयार गरिएको तथा तीबारे चिन्तन,मनन र कार्यक्रम गर्ने ।
३)    निम्न तथा मध्यमस्तरीय स्थानीय तथा विश्व बजार मागका विषयगत क्षेत्रका क्षमता सीपका जनशक्ति विकासबारे मापदण्ड तयार तथा चिन्तन हुने गरेको ।
४)    नेतृत्व तहबाट स्थानीय तहका आवश्यकताको सम्बोधन हुने गरी सामान्य जानकारी, अवलोकन तथा भ्रमण गरी जनशक्ति विकास योजनाको मापदण्ड तयार तथा चिन्तन हुने गरेको ।
४)    उच्चस्तरको जनशक्ति विकास तथा सीप अभिवृद्धि योजनामा राज्यबाट लगाइएको आर्थिक लगानीको प्रतिफलबारे संगठनभित्र लाभ लागतको चिन्तन हुने ।

अध्ययनका विषय प्रकृति नौ
सेवा, समूह, उपसमूहगत विशेष क्षमताका काम गर्ने विषयगत दक्ष जनशक्तिबाट सम्पादन हुने काम देहायका पद्धतिबाट सार्वजनिक हुन्छन् ? हुँदैनन् ?
१)     नागरिक बडापत्र बमोजिम कामहरू पारदर्शी भए, नभएको सेवाग्राहीको सन्तुष्टि अध्ययन ।
२)    आफ्ना निकायगत कामहरूका विषयमा उठ्ने जनताका गुनासा, आम बौद्धिक वर्ग तथा सरोकारवालाका विचार खुला रूपमा राख्ने मञ्चको व्यवस्था ।
३) निकायगत हुने कामकार्वाहीहरूको प्रारम्भकालदेखि कार्य समापनसम्मका सबै विवरणहरू सार्वजनिक गर्ने प्रबन्ध ।
४)    निकायगत सयन्त्रबाट वेब साइटमा प्रगति तथा विधि, प्रक्रियाका सूचनाहरू सार्वजनिक गर्ने प्रबन्ध ।
५)    समग्रमा संगठनमा कुन तह र हैसियतमा काम र जवाफ पाइन्छ भन्ने जनताले स्पष्ट थाह पाउन सक्ने विधि र प्रक्रिया मिलाइएका छन् ।

अध्ययनका विषय प्रकृति दश

अधिकृतदेखि विशिष्ट श्रेणीसम्मका पदाधिकारीले नेतृत्व गर्ने कार्यालय, शाखा, महाशाखा तथा समग्र मन्त्रालयसम्म जनशक्ति परिचालन, व्यवस्थापन र कार्यसम्पादनको पक्षलाई के कसरी जोडिएको छ ? विषयगत कार्यक्षेत्रको कार्यसम्पादनलाई प्रभावकारी तथा नतिजामुखी बनाउन अपनाइएका विधिहरू के–के छन् ? देहायका विधि तथा तौरतरिकामध्ये त्यस निकायले सबभन्दा बढी प्रयोग गर्ने तथा अवलम्बन गरिने तौरतरिका कुन–कुन हुन् ?

१)संगठनमा सबैको समान सहभागिता, सामूहिक बैठक, कार्यविवरणको जिम्मेवारी, बाँडफाँडले समस्या सिर्जना हुँदैन भन्ने विश्वासमा नेतृत्व गर्ने ।
२)    संगठनका मूल्यमान्यतामाथि कार्यालय सहयोगीदेखि उच्च पदस्थ नेतृत्वसम्म एकै  ठाउँमा बसी निरन्तर प्रजातान्त्रिक तथा सहभागितामूलक तरिकाले समीक्षा हुने, गर्ने र सबैको साथमा प्रभावकारी नतिजाको खोजी गर्ने नेतृत्व । 
३)संगठनभित्र सबै कर्मचारीलाई कम्तिमा मासिक रूपमा बैठकमा सहभागी हुन र आफ्ना विचार राख्न र सहयात्रीका धारणा सुन्न पाउने अवसर दिएर नेतृत्वसंग सौहार्द सम्बन्ध कायम गरी निर्देशन दिँदा मात्र गुणस्तरीय नतिजा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गर्ने ।
४)महाशाखा, शाखागत रूपमा हरेक हप्ता प्रमुखहरूसंग बैठक बसी कार्य सम्पादनको समीक्षा र समन्वयको अवसर तथा आफ्नो कार्यको जवाफदेही हुन प्रोत्साहित गरिने भएकोले संगठनको नेतृत्वप्रति गर्व गर्ने ।
५)    महाशाखा, शाखागत रूपमा हरेक दिन कार्यारम्भ वा समाप्तिकालमा १५÷२० मिनट सबै कर्मचारीहरूको बैठक बसी कार्यबाँडफाँट र जवाफदेहिताको समन्वयका तथा कार्यसम्पादन समीक्षा र पृष्ठपोषणसहित प्रोत्साहनको सुनिश्चितता गरिएकामा सन्तुष्ट हुने ।
६)कर्मचारीहरूलाई शाखागत र महाशाखागत रूपमा हरेक आर्थिक वर्षको अन्त र प्रारम्भमा विगतको समीक्षा र भावी कार्यक्रम माथि सहभागी हुने अवसर दिइने हुँदा सहभागितामूलक नेतृत्वको दाबी गर्ने ।
७)संगठनभित्र सबैको कार्य क्षमता र आचरण राम्रो हुँदैन तसर्थ धेरै पारदर्शी हुनु तथा सहकर्मीसँग निकट हुनु समस्या हुने भएकोले कार्यविवरण खुला गर्नु हुँदैन तथा आवश्यकतानुसार मन्त्रालय तथा निकायका निश्चित उच्चपदस्थ पदाधिकारीहरू बसेर नै गुणस्तरीय कार्यसम्पादनको समीक्षा गर्नेमा विश्वास गर्ने नेतृत्व ।

८)संगठनभित्रका पनि केही बढी सक्षम, कार्यकुशल तथा नेतृत्वले कार्यसम्पादनमा बढी विश्वास गर्ने, आनाकानीविना प्रश्नरहित जिम्मेवारी वहन गर्ने र चित्त बुझोस् नबुझोस् अन्धभक्तिसाथ जवाफदेही भएर नेतृत्व, संगठनलाई फाइदा पुराउने मानसिकताका पदाधिकारीका कर्मचारीको समूहबाट संगठनको कार्यसम्पादन गर्नु, गराउनुलाई सफलता ठान्ने नेतृत्व ।

सार्वजनिक सेवा सुदृढीकरणका वैज्ञानिक उपाय 

यसको उत्तर तथा समाधान दिने, निकाल्ने जिम्मेवारी प्रशासनवेत्ता, विज्ञ, नेता, अगुवा, राजनीतिज्ञ तथा आम सरोकारवालालाई जिम्मा दिएको छु । कोमामा राखिएको मन्त्रालयको जनशक्ति विकास योजना तथा समन्वय शाखामा कुनै जनशक्ति उपलब्ध नगराएर एक्लो १५ महिनादेखि संघर्षरत फुच्चे उपसचिवका उपाय यो मुलुकमा काम लाग्छन् वा लाग्दैनन् ? तर नेपाल सरकार तथा शिक्षा मन्त्रालयले यो अवसर दिएकामा अनुगृहीत छु । यसर्थ सत्ता, शक्ति र साधन–स्रोत मुठ्ठीमा लिएकाहरूले वैज्ञानिक सुदृढीकरण गर्दैनन् भन्ने मुख्य आग्रहसाथ मुलुकको राजनीति तथा प्रशासन चलाउनेहरूलाई अब के गर्ने ? प्रश्न गर्नु बाहेक मजस्तो फुच्चे कर्मचारीसँग के पो उपाय हुन्छ र ? 


(उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।)



Author

ईश्वरीप्रसाद पोखरेल

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उपसचिव हुन् ।


थप समाचार
ad
x