तपाईंको घरभित्र महिलालाई आराम छ ?

समीक्षा दाहाल | चैत १६, २०७८

क्लारा जेटकिनदेखि मलाला युसुफजाईसम्म, योगमायादेखि काभ्रेकी ‘तारा’सम्म आइपुग्दा संसारभरका महिलाहरूले अधिकार प्राप्तिका लागि धेरै ठूलो संघर्ष गरिरहेका छन् । केही उपलब्धि हासिल नभएका पनि होइनन् तर जति छ त्यो पर्याप्त छैन । महिलाहरू घरबाहिर निस्किन थालेका छन् तर तिनका खुट्टामा दाम्लो बाँधिएको छ । कार्यालयसम्म मात्रै पुग्ने, बजारबाट बेलैमा फर्किने, पसल, छिमेकी, आफन्तभन्दा दायाँबायाँ नगर्ने जसरी वस्तुहरू दाम्लोले भ्याएजति ठाउँमा मात्रै चर्न स्वतन्त्र हुन्छन् ।

त्यत्रो अजंगको वस्तु जाबो एक फुट पनि नपुग्ने किलोमा अल्झेर बसेझैं हामी पनि पुरानो मान्यतालाई तोड्न नसक्दा घररूपी किलोमा गाडिएर बस्न विवश छौँ । नयाँ र परिवर्तित विचार राख्ने महिलाहरू पुराना मान्यतालाई अँठ्याएर बसेका पुस्तासँग एकै छानोमुनि बस्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरू दोहोरो चपेटामा परेको देखिन्छ । 

म एक निजी बोर्डिङ स्कुलकी शिक्षिका हुँ । संयुक्त परिवारमा बस्छु । मेरो घरमा सासू, ससुरा, देउरानी, उनकी छोरी, म, मेरो श्रीमान् र छोरा गरी सात जनाको परिवार छ । नौ बज्दा स्कुलको गेटबाट भित्र नछिरे रजिस्टार गायब हुन्छ र आधा तलब काटिन्छ । तलब जोगाउन र परिवार हँसाउन म बिहान ५ बजे उठ्छु, हतारहतार सबै काम सकाएर भान्सा घरमा पस्छु । दाल भातबाहेक छोराको टिफिनको डिमान्ड छ । श्रीमान्लाई अन्डा पकाइदिनु छ । 

आलु हालेको र नहालेको सब्जी बन्छ । खुर्सानी हालेको र नहालेको अचार । घडीमा आठ बज्दा छोरा र श्रीमान्लाई खाना पस्कनु छ । आफ्नो लागि खाना पस्किदिने मान्छे खोज्न हिँड्नु छ । अरू सबैलाई खाना दिने हैसियत छ तर आफ्नो लागि पस्कने हैसियत राख्दिन म । सासू कता ? देउरानी कता ? बलैले भित्र पस्छन् । उनीहरूलाई केको हतार तर मेरो घडीले मलाई छोडिसक्छ । बल्ल–बल्ल हातमा भात आइपुग्छ । आफ्नै हातले पकाएको त्यो खानाको स्वाद कहिल्यै मलाई थाहा हुँदैन । जुठेल्नामा भाँडा छोडेर हिँड्न मिल्दैन, भ्याएसम्म सबै नभ्याए नि मेरो परिवारको त माझ्नै पर्छ ।

हामी जस्ता कामकाजी महिलालाई घर र अफिसको समय मिलाउन चर्को छ । संयुक्त परिवारमा बस्ने महिलाले श्रीमान्बाट घरायसी कामको सहयोग पाउन सकेका छैनन् । सानैदेखि आमाबुबाले ‘कहिले स्वास्नी ल्याउलास् र मलाई सुख देलास्’को रटान लगाएर हुर्काएका छोराहरू देश, समाज, काल, परिस्थिति बुझेर पनि ‘जोइट्रिङे’ हुने डरले श्रीमतीलाई सहयोग गर्ने सकिरहेको देखिँदैन । 

ठूलो परिवारमा घरायसी काम सकेर अफिस जान महिलालाई कति कठिन हुन्छ ? यो भुक्तभोगीलाई मात्रै थाहा हुने कुरा हो । खाना पकाइसकेर सबैलाई खुवाएर हिँड्नुपर्ने, खाना खाने बेलामा सबै नआइदिने, कुनै दिन आफूले पहिले खाएमा सासू ससुराको अपहेलना गरेको अपजस र वचन पाइन्छ, बुहारीले खाएर छोडेको भात अरुले खान मिल्दैन भन्‍ने जब्बर कानुनको पालना गर्नैपर्छ । बरु पस्केर दिने कोही नभए भोकै पनि हिँड्नुपर्छ । दिनभर आफूले पकाएको खानाको परिकार सम्झेर घुटुक्क थुक निल्नु मेरो वास्तविकता हो । घरमा बस्नेहरूलाई लाग्छ, म काम गर्न होइन घुुम्न जान लागेकी हुँ । 

यो मेरो मात्रै कहानी होइन, संयुक्त परिवारमा बस्ने आम कामकाजी महिलाको व्यथा हो । मेरै अफिसमा काम गर्ने धैरै महिला शिक्षिकाको भोगाइ पनि उस्तै छ । घर बस्ने महिलाका यीभन्दा बढी समस्या छन् । बुहारी, देवरानी, जेठानी जो होस् जागिर खान जाने तर एक पैसामा भागिदार नहुने भएपछि किन सहयोग गर्नु भन्‍ने पनि होला ? घरभित्रै जकडिएर बस्नुपर्दाको गुम्साहट वा बाहिर निस्किन नसक्नुको कुण्ठा पनि होला । एक दुई काम ज्यादा भयो भने सासू–ससुराको गनगन सुरु हुन्छ, ‘हामीले कहिल्यै बूढो हुन नपाउनु ?’ तर मसँग मनमनै प्रश्न गर्नेभन्दा बढी हिम्मत छैन, ‘बुहारीले चाहिँ मान्छे हुन नपाउनु ?’

बुबाआमा प्रतिको जिम्मेवारी छोराछोरी, ज्वाइँबुहारी कसैले भुल्न हुँदैन । घरको काम सधैं चटक्क छोडेर हिँड्न कसैले मिल्दैन । तर काम गर्ने कमारीका रूपमा बुहारीलाई दर्जा दिन शरम नमान्‍ने व्यक्तिहरूलाई अनावश्यक सुविधा खोज्ने कत्ति पनि अधिकार छैन । कतिपय बुहारी पनि देखिन्छन् समाजमा, एउटा जागिरको बहानामा घरमा सिन्को नभाँच्ने । ती यस्तै व्यवहारबाट आजित भएर घृणाको बदला घृणा पोखिरहेका छन् । कामकाजी बुहारीलाई परिवारले सहज वातावरण तयार नपारीदिने, बुहारीले पनि आफ्ना समस्या खुलेर भन्‍न नसक्ने, भन्दा नबुझिदिने आदि कारण एकल परिवारको संख्या दिनानुदिन बढिरहेको छ । तर एकल परिवार हुनु मात्रै जागिरे महिलाका समस्या हल हुनु भने होइन । घरायसी काम गर्न बाबुआमाले देख्लान् कि, छिमेकीले देख्ला कि, म त स्वास्नीको कमारै पो भएँ कि, साथीले खिल्ली उडाउलान् कि भन्‍ने सोच भएका पुरुष भएसम्म अर्थात् यस्तो दरिद्र सोचलाई पुरुषले नफालेसम्म महिलाले घररूपी किलोबाट उम्किन कठिन छ । 

घरका नियम बुहारीलाई मात्र होइन सबै सदस्यलाई लागू हुनुपर्छ । पकाउनेले पहिले खान नमिल्ने हो भने बुहारीले पकाए पनि, छोरीले पकाए पनि, सासूले पकाए पनि पहिले खान मिल्दैन । तर यो नियम कुनै हालतमा राम्रो हुनै सक्दैन । यहाँ बुहारीले पहिले खाए खाएर छोडेको हुने अनि छोराछोरीले पहिले खाए केही नहुने ? कुच्चो, मस्को बुहारीबाहेक अरुले छुनै नहुने । अरुले भाँडाकुँडा लात्तले हान्‍न हुने र बुहारीले ढलेको लोटा नउठाए अलच्छिना बन्‍ने जस्ता विभेदहरू थुप्रै छन् । घर बुहारीले नै लिप्नुपर्ने । बुहारीले लिपेको ठाउँमा लात्तले हान्‍न हुने अनि छोरीले लिपेको घर टेक्नै नहुने ।

आमाको खुट्टामा छोरीले तेल लगाउँदा पाप लाग्ने बुहारीले लात्ती खाँदा पनि धर्म हुने । छोराले खरेटो छुनै नहुने, लुगा धुनै नहुने, जुडो भाँडा हेर्नै नहुने विभेदकारी नियमहरू जरो गाडेर बसेका छन् । आमाहरूले छोरालाई तँ लुगा धुनू, बुहारी भात पकाउछिन्, तँ कुच्चो लगा, बुहारी भाँडा मोल्छिन् भनिदिए ! घरका काम सबैको हो भन्‍ने सबैले सोचिदिए ! अलिकति खाना थोरै भएमा लोभी र धेरै भएमा संहारेको पगरी पाउनु पर्छ । आफ्नो मन मारेर अरुको स्वादको खाना बनाउनु पर्छ । यस्तो लाग्छ कि बुहारी भनेको लाखौं खर्च गरेर काम गर्नै भित्र्याइएको मेसिन हो ।

हुँदाहुँदा आफैँले जन्माएको सन्तानले पनि आफ्नी आमालाई घरको काम गर्ने मान्छेको दर्जामा राख्न थाल्छ । बिहानदेखि रातिसम्म काममै खटिएकी आमाको कुनै हैसियत हुँदैन । उसले यसैगरी आमालाई चिन्छ, यसैगरी बुझ्छ । आमा गल्छिन्, थाक्छिन्, आमालाई भोक लाग्छ, निन्द्रा लाग्छ, आमालाई पनि घुम्न जान मन लाग्छ, गीत गाउन, नाच्न मन लाग्छ, आमाका पनि रहर हुन्छन् भनेर सन्तानले थाहै पाउँदैन । उसले बुझेको छ आमा भनेको धर्ती हो । 

आमाले जे पनि सहन सक्छिन् र सहनुपर्छ । आमालाई बुझाइएको छ, सन्तानका अघि कहिल्यै आफ्नो दुःख नदेखाऊ । कहिलेकाहीँ लाग्छ, अरुहरूलेझैँ मैले पनि यी कुरा नबुझेको भए बेस हुन्थ्यो । जब आफ्नै सन्तानका अघि आफू बारबार अपमानित हुनुपर्छ त्यतिबेला भने असाध्यै पीडा हुँदो रहेछ । कम्तीमा अब आउने पुस्तालाई त असल संस्कार दिन सकियोस् । तर गर्भबाटै आमा, काकी, भाउजूलाई विनाहैसियतका मान्छे देखेर हुर्केका यिनमा पछि आफ्नी श्रीमतीलाई आफूजस्तै मान्छे हो भनेर स्वतःस्फूर्त स्वीकार्न सक्लान् ? लोग्ने, सासू–ससुरा, बिहेप्रति छोरीको धारणा कस्तो बन्ला ? 

अचेल म सानो छोरालाई आफ्नो थकान बाँड्न थालेकी छु । स्कुलबाट फर्केपछि उसको हातले दिएको एक गिलास पानी पिएर बुहारीजन्य काममा फर्किन्छु । पुरानो संस्कार र नयाँ विचारलाई मिलाएर लैजान नसके धेरै महिला घर बाहिर निस्कन सक्दैनन् । दोहोरो चपेटामा परेका महिला डिप्रेसनको सिकार बन्‍न सक्छन् । घर बाहिरको समाज र घरको उही पुरानो संस्कारबीचको फरकले विद्रोहको रूप लिन्छ । म आफैँ मेरा विद्यार्थीलाई एक सितो भात फाल्नु हुँदैन भनेर सिकाउने गर्छु ।

यतिसम्म भन्‍ने गरेकी छु कि हामी सबैले जोगाएको सिता सिता भातले एउटा गरिबको भोक मेटिन्छ । म नै घर गएर एक माना चामलको भात फाल्छु । सासू ससुरासँग बस्ने बुहारीले बासी खाना खान मिल्दैन । ठिक्क पकाए माइतीमा केही नदेखेकी लोभिनीको पगरी आइपर्छ । ‘अलिकति फाल्दा के हुन्छ । ‘उब्रिएकै छ’ भन्‍ने भनाइ खानुपर्छ ।’ विद्यालयमा आफ्नो काम आफैँ गर्नु पर्छ भनेर सिकाएर आएकी बुहारी घर आएर सासू, ससुरा, श्रीमान् र छोरा छोरीका लुगा धुन बस्नुपर्छ ।

अफिस ढिला पुगे हाकिमको गाली र तलब कटाउने चेतावनी । घर ढिला पुगे सासूको हप्की र १० बज्दा पनि नसकिने कामका लाइन । यस्तोमा महिलाको मानसिक स्वास्थ्य कस्तो होला ? कहिले टाउको, कहिले पेट, कहिले नसा, कहिले हड्डी दुखिरहन्छ । हर घरमा किन पुरुषभन्दा ज्यादा महिला बिरामी हुन्छन् ? यस्ता कुरा कसले सोचिदेओस् ?

के अबको समाजलाई बूढाबूढी धेर भएकै हुन त ? यो बडो गम्भीर प्रश्न हो । बूढाबूढी सबै हुनुपर्छ । यो रहर गरेर हुने वा नहुने अवस्था होइन तर बूढाबूढीले घरमा बस्ने कि वृद्धाश्रममा भन्‍ने कुरा धेरै हदसम्म अबका बूढाबूढी कत्तिको समय र परिवर्तनमैत्री बन्‍न सक्छन् भन्‍ने कुराले निर्धारण गर्छ । 

बाबुआमाको सेवा गर्नु सबै छोराछोरीको दायित्व हो । छोराबुहारी कामकाजी भएपछि सहज वातावरण सिर्जना गरिदिनु पर्छ । सकुन्जेल आफ्नो काम जस्तै लुगा धुने, बारीको तरकारी खोजेर ल्याउने, केलाउने, दिउँसोको खाजा बनाएर खाने जस्ता सक्ने काम गरेर परनिर्भर हुनबाट आफूलाई जोगाउनु पर्छ । आफू चिटिक्क परेर बस्ने अनि बुहारीलाई पेटिकोट, पेन्टी धुन लगाउनु कदाचित उपयुक्त हुँदैन । हाम्रो समाजमा यस्ता बुहारी पनि देखिन्छन् जो घरबाट बाहिर निस्कन चाहँदैनन् । उमेरदार सासू–ससुराको सेवा गर्नु आफ्नो कर्तव्य ठान्छन् । तिनमा महिलाको कामै घरधन्दा हो भन्‍ने बुझाइ छ । महिला भनेको धर्ती हो कसैलाई केही भन्‍नु हँुदैन जे परे पनि सहन सक्नुपर्छ । श्रीमान्लाई सन्तुष्ट पार्नु र सासूको चित्त बुझाउनु नै जन्मिनुको अन्तिम धर्म हो भन्‍ने ठान्छन् । यिनलाई यिनका अन्य आर्थिक उपार्जन लगायतका दायित्व सम्झाइदिने भूमिका पनि असल सासू–ससुराले निर्वाह गर्नुपर्छ । 

बेलुका कामको धपेडी सकेर घर आउँदा सबैको हँसिलो मुख देख्न पाइयोस् । जाने बेलामा खुसीसाथ खाना पस्केर दिने हातहरू हुन् । तिमी बाहिर काम गर आफ्नो पहिचान बनाऊ’ भनेर घरको वातावरण सहज बनाइदिने परिवार होस् । गल्ती गर्दा सम्झाउने र राम्रो काम गरे बुहारीको सफलतामा गर्व गर्ने घर होस् । घरको काम छोराबुहारीमा, सासूससुरामा, नन्ददेवरमा, छोराछोरीमा बाँडियोस् । घर एकअर्काको आड र भरोसाको छानोले अडियोस् ।
 
लेखक हाल झापाको एक विद्यालयमा अध्यापनरत शिक्षिक हुन् ।