विचार

समुन्‍नत नेपाल

हुलाक टिकटमा नेपालको इतिहास : जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म

भुवनेशकुमार प्रधान |
बैशाख ४, २०७९ आइतबार ७:२५ बजे

हुलाक टिकट संग्रह (फिलाटेली) भनेको एउटा कला हो । यो प्रकाशित भइसकेका हुलाक टिकटहरूको संग्रह पनि हो । टिकट मात्रै भनेर हेर्दा खासै महत्वपूर्ण लाग्दैन । तर, टिकट देशलाई चिनाउने एउटा माध्यम पनि हो । त्यसैले फिलाटेलीको महत्व निकै छ । यो मात्रै टिकटको हिसाबले होइन । यसबाट नेपालको विकासक्रम नै पत्ता लगाउन सकिन्छ ।

मानौं, कर्णालीको पुल बन्यो । पुलको टिकट बन्यो । यत्तिमै सकिँदैन । कर्णालीको जस्तो पुल एसियामै छैन । यो विषय टिकटमा चित्रण गरिएको हुन्छ । कसले बनायो ? कसरी बन्यो ? कहिले बन्यो ? यी सब कुरा भन्‍न सकिन्छ । म १६ वर्षको हुँदा टिकट संकलन र जगेर्ना गर्न सुरु गरेको थिएँ । म ८६ वर्षको भएँ । अझसम्म पनि म प्रकाशित भइसकेका टिकटहरू संकलन गरिरहेको छु । मैले सात दशकसम्मका टिकट संकलन गरिसकेको छु । नेपालमा ईस्वी सम्वत् १८८१ अर्थात् विक्रम सम्वत १९३८ देखि हुलाक टिकट निस्कन सुरु भएको थियो । त्यसपछिका सबै टिकट मैले संकलन गरेको छु ।


टिकटको धर्म, संस्कृतिसँग त्यत्तिकै सम्बन्ध छ । देशका हरेक ठाउँमा बनेका महत्वपूर्ण मठ मन्दिर टिकटमा चित्रण गरिएको छ । धर्म संस्कृति भनेको के हो ? कसले, किन, कसरी बनायो ? कुन मन्दिर कहिले, किन, कसरी बन्यो भन्‍ने हुलाक टिकटबाट थाहा पाउन सकिन्छ । 

टिकटमा सबै कुरा लेखिएको त हुँदैन हुँदैन तर मैले त्यसकै आधारमा सम्पूर्ण तथ्य लिपिबद्ध गरेको छु । प्रसिद्ध मठ मन्दिरहरूको इतिहास खोतल्ने प्रयास गरेको छु । ‘द हिस्ट्री अफ नेप्लिज पोस्टेड स्टाम्प’ नामको मेरो प्रकाशित पुस्तकमा प्रकाशित टिकट राखेको छु । यस प्रकाशनले देशकै चित्रण गरेको छ । अहिलेसम्म प्रकाशित भएका १३५० वटा टिकटको वर्णन पुस्तकमा गरिएको छ । पुस्तकले देशकै विषयमा सम्पूर्ण चित्रित गरेको छ । 

हामीकहाँ धेरैथरिका चराचुरुङ्गी छन् । संसारमै नभएको काँडे भ्याकुर नेपालमा पाइन्छ ।  नेपालमा मात्रै पाइनु भनेको निकै अमूल्य चिज हो । त्यसैगरी धेरै प्रकारका फूल, जनावर, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा हामीकहाँ छन् । यो प्रकाशित भएका टिकटहरूले चित्रित गरेका छन् । टिकट छाप्ने मात्रै गर्ने र संकलन नगरेमा हराउने डर पनि भयो । तर, पुस्तकको रुपमा निकालेपछि हराउने डर पनि भएन । यो टिकट संकलन मात्रै होइन । देशको विकास, नेपालमा भएका विशेषता, सम्पदाहरूको ऐतिहासिक दस्तावेज पनि हो ।

पशुपतिनाथको कुरा गर्दा हामीले सबै इतिहास बुझ्नपट्टि लाग्दैनौं । कहिले, कसरी स्थापना भयो भन्‍नेबारे चासो राख्दैनौं । त्यसैगरी बुढानीलकण्ठको मन्दिर कहिले बनाइएको हो ? पत्ता लगाउन कठिन छ । लिच्छविकालमा बनेको हो भन्‍ने मेरो ठहर छ । लिच्छविकालमा धेरै कला र संस्कृतिको विकास भएको छ । यस्ता कुरा प्रकाशित भएका टिकटले जनाउँछन् । डोलेश्वरको मन्दिरका विषयमा कतिलाई थाहा पनि छैन । तर, टिकटबाटै मैले इतिहास खोतलेको छु । 

मैले भूपतिन्द्र मल्लको शिलापत्र भेटाएँ । शिलापत्रमा ४५० वर्ष अगाडि डोलेश्वरको मर्मत भएको उल्लेख गरिएको रहेछ । मन्दिर बनेको कति वर्ष भयो थाहा छैन । तर, डोलेश्वर महादेवको मन्दिरको ४५० वर्षको इतिहास थाहा भयो । डोलेश्वर मन्दिरको महत्व अहिले पनि उत्तिकै छ । पहिले प्यागोडा शैलीको मन्दिर थियो । पहिले भूकम्प आएपछि लडेको थियो । त्यसपछि गुम्बज शैलीमा बनाइएका थियो । त्यो गुम्बज फेरि २०७२ सालको भूकम्पमा लड्यो ।

फेरि पशुपतिनाथको शैलीमा बनाइएको छ । त्यहाँ साँढे पनि राखिएको छ । यसो हेर्दा मिनी पशुपति मन्दिर जस्तै देखिन्छ । हरेक दिन मानिसहरू झुम्मिन्छन् । शनिवारको दिनमा भिडभाड हुन्छ । अर्को चण्डेश्वरी मन्दिर पनि उत्तिकै चर्चित मन्दिर हो । यी सबै टिकटमा पाइन्छ । यस्ता इतिहासका कुरामा हरेक मान्छेको आस्था जोडिएको छ । महाँकाल, संकटालगायतका मन्दिर पनि टिकटमा उल्लेख छन् ।  

टिकटले नेपाललाई चिनाउने मात्रै होइन, राष्ट्रियता पनि चिनाएको छ । राष्ट्रिय धन के के छन् भन्‍ने संसारलाई चिनाउँछ । सगरमाथालाई विश्वभरि चिनाउँछ । अन्य प्रख्यात हिमालहरूका विषयमा पनि टिकटमा थाहा पाउन सकिन्छ । 

जस्तै राजसंस्थाको विषयमा पनि टिकटबाटै थाहा पाउन सकिन्छ । कुन समयमा कसले शासन ग¥यो । के के कुराको विकास भयो भन्‍ने थाहा पाउन सकिन्छ । मानदेव पनि राजा थिए । पाटनका सिद्धिनर सिंह मल्ल, भक्तपुरका भूपतिन्द्र मल्लको पनि टिकटमै इतिहास छ । 

टिकट संकलन गर्न मलाई त्यति गाह्रो लागेन । यसलाई मैले रुचिको रुपमा विकास गरें । यसलाई संकलन गर्नु मेरो लागि एकाग्रता पनि हो । यसका फाइदा पनि छन् । कतिले संकलन गरे पछि के फाइदा हुन्छ ? भनेर पनि सोध्थे । मेरो त्यही इच्छा र लगनशीलताले टिकटकै किताब बनाउन सकें । 

मेरो बुबाको सानो कलेक्सन थियो । त्यसैबाट मैले अग्रसरता लिएँ । विस्तारै सिक्दै गएँ । पहिले एल्बममा टाँसेर संकलन गरिन्थ्यो । त्यसलाई किताबको रुपमा दिने सोच आयो । नेपालका विषयमा सबै राख्ने प्रयत्न गरेको छु । यो पुस्तक हेर्नेले नेपालको इतिहासदेखि अहिलेसम्मको परिचय थाहा पाउन सक्छन् । राष्ट्रिय गान, राष्ट्रिय चिह्न, राष्ट्रिय जनावर, संविधानदेखि लिएर धेरै विषय पुस्तकमा समेटिएका छन् । नेपालको विमानस्थलको हामी टिकटबाटै थाहा पाउन सक्छौं । अहिले दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनेका छन् । 

कतिपय चिज टिकटमा नआएका पनि हुन सक्छन् । केही महत्वपूर्ण विषय मैले पनि थप्ने मौका पाएको छु । म सिंचाई विभागको महानिर्देशक भएको बेला राजाले योजनाको उद्घाटन गर्नुभएको थियो । मैले त्यसको फोटो खिचें । उद्घाटनको फोटोको महत्व देखेर  टिकट बनाउन आग्रह बनाउन गरें । त्यो एउटा इतिहास हो । १९८६ सालमा बनेको फर्पिङ जलविद्युतको मैले टिकट बनाउन लगाएको थिएँ । १९११ सालमा हामी कहाँ बिजुली बत्ती आएको थियो । त्यो बेला एसियामै बत्ती थिएन होला । 

जंगबहादुर राणाको पालामा २५० वाट सुरु भएको बिजुली बत्ती अहिले कतिसम्म पुग्यो ? हामी यो इतिहास पत्ता लगाउन सक्छौं । यो विकासको इतिहास हामीले टिकटबाटै थाहा पाउन सकिन्छ । कुलेखानी ड्याम्पको पनि टिकट निस्केको छ । मानव निर्मित इन्द्र सरोवर तालको नाम दिइएको छ । यो इन्द्रलक्ष्मी (राजा वीरेन्द्रको आमा) को नामबाट बनाइएको इन्द्र सरोवर ताल हो । 

धरहराकै कुरा हेरौं । भूकम्पले पटकपटक लडाएको भूकम्प पनि अब यसलाई ढलाउन हुन्‍न भन्‍ने मान्यताले यसलाई अर्बौं खर्चेर बनाइएको छ । देशका राजनीतिज्ञ पनि टिकटमा छन् । देशका लागि ज्यान दिने वीर सहिदहरूको नाममा टिकट छ । त्यसैगरि नेताहरू विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता छन् । बाँचुन्जेल गरेको कुरालाई समेटिएको छ । त्यसैगरी सय वर्ष पुगेका सत्यमोहन जोशीको बाँच्दाबाँच्दै टिकट निकालिएको छ । यो पनि एउटा इतिहास हो । मान्छे मरेपछि मात्रै होइन, जिउँदै पनि इतिहास लेखिन्छ । 

*समुन्‍नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ ।

प्रतिक्रियाका लागि : [email protected]


Author

थप समाचार
x