सप्ताहन्त

मामपाखा केटो !

सुमन सिग्देल | असार ८, २०८१

चारतिर सेतो सिसाले घेरिएको बन्द कोठालाई एसीको चिसो हावाले चिसो बनाई रहेछ । कोठको एक कुनामा छ ठूलो सफा टेबल अनि टेबल पछाडि छ एक शानदार घुम्ने कुर्ची र कुर्चीमा बिराजमान छन् ह्युम पाइप फ्याक्ट्रिका म्यानेजर निमा शाक्य ।

निमाको अनुहारमा मुजा परेका छन्, उनको अनुहार र टाउकोमा अलि अलि मात्र बाँकी रहेका फुलिरहेको कपालले उनी आफ्नो बुढ्यौली जीवनको सुरूवातमा छन् झै लाग्छ । रङ्ग उडेको फिक्का सर्ट, मुजा परेरको पाइट अनि उनको तालु जस्तै खुइलिएका एक जोर जुत्तामा उनी हरेक दिन दश बज्नु अगाडि नै हाजिर हुन्छन् त्यही बन्द कोठा भित्र ।

उनलाई आनन्द त त्यही कोठाभित्र मात्र लाग्छ बाहिर त उनलाई फिटिक्कै मन पर्दैन । बाहिरको तातो गर्मी त्योभन्दा बढी सिमेन्टको धुलो र डडेको मोबिलले कालो भएका फोहोरी मजदुरहरू, उनलाई त्यति घृणा त  फ्याक्ट्रि वरपर बग्रेल्ती भौतारी रहेका भोका कुकुरहरूप्रति पनि छ‌ैन । उनलाई देखेर कुकुरहरू चुपचापपछि लाग्थे मजदुरहरूलाई देखेर कुकुरहरू झम्टिन्थे ।

किनकी उनले भोका कुकुरहरूलाई बिस्कुट दिन्थे । उनलाई पहिले कुकुर मन नै पर्दैन्थ्यो । घरमा न छोराहरू बसमा भए, न छोरी, छोरी मेकअपले पोतिएर दिनभर जसो टिक टकमै ब्यस्त हुन्थिन् ।

पढाईको कुनै न मेलो थियो, न कुनै मेसो ।  जेठो छोरो दिनभर कोठा बन्द गरेर टोलाएर बस्ने भयो । उसलाई प्रेमले समात्यो ! कान्छो घरमै हुँदैन्थ्यो उसलाई साथीहरूले समाते ! घर सोचेभन्दा नराम्रोसँग चलिरहेको थियो । एक दिन विहान दैलोमै अघोरी झैँ लाग्ने बाबा आयो, उसको कालो अनुहार कालै फेटाले पुरै अघोर बनाएको थियो । बम बम भोले भनेर जोडले चिच्याउने बित्तिकै शाक्यकी श्रीमती दगुर्दै आइपुगिन् र दक्षिणा स्वरूप पाँचका दुई नोट टोकरीमा खसालिन् ।

उनको मनमा झस्स आयो बाबाहरूमा अलौकिक शक्ति हुन्छ भन्थे यिनीसँग पनि छ कि । उनले सोधिन बाबा घर सोचे जस्तो राम्रो चलेन के गर्ने होला ? बाबाले दक्षिणा हेरेर नाक खुम्च्यायो । उनले कुरा बुझिन् र हरियो सयको नोट टोकरीमा खसालिन् । बाबा मख्ख भयो र भन्यो 'चावल ल्याइए मे देख्ता हुँ' भन्यो र उनी दौडदै चामल लिएर आउँछिन् !

बाबाले घोत्लिएर चामलका दानालाई हेर्‍यो । भन्यो 'ईसमे पैसा डालिए कुच बढा वाला डालिए' उनले  बाघको पाँच सयको एउटा नोट थालीमा राखिन बाबाको दृष्टि झन्‌ तेज भयो र चामलका दानालाई यताउता गर्दै उसले भन्यो संकट हे ! उनले भनिन् 'तो क्या गर्नुपर्छ ?' बाबाले भन्यो- 'घरमे कुत्ता पालिए , कुत्तेका आच्छा आच्छा भोजन खिलाइए सब ठिक हो जाएगा ।'

हो निमालाई त्यसै दिनदेखि कुकुर प्रिय लाग्न थालेको । निमाकी श्रीमती दिनमा तीन पटक भोजन दिन्थिन् । कुकुर मोटायो उनी भने दुब्लाइन् घरको अवस्था जस्ताको त्यस्तै भयो । निमा अफिसको भित्तामा झुन्डिएको घडी हेर्छ तीन बजेछ उ बाहिर निस्कन्छ मजदुरहरू लामो डोरीले पोखरीमा डुबाएको पाइपलाई निकाल्द‌ै थिए । उनीहरूलाई हेरेर निमा चिच्यायो, दिनभरिमा जम्मा दश ओटा पाइप मात्र ? हैन खाएर पचाउन मात्र आउँछौ कि क्या हो । पोखरीमा बस्यो गुड्डी हाक्यो बस्यो ।

निमाको कुरा सुनेर उसको उमेरभन्दा पाको बुढोले खुइ्य गर्‍यो । बुढोले आफ्ना छालाले मासु छाड्दै गरेको हातले निधारको पसिना पुछ्यो । छेउमै बसेको केटो भने मुखमा भएको सुर्ती थुकेर ङिच्च हाँस्यो । ऊ अक्सर जति गाली सुन्थ्यो त्यति हाँस्थ्यो, माम पाखाहरू भन्दै निमा फेरि अफिसमा फर्कियो । कुकुरहरूले उसलाई हेरेर पुच्छर हल्लाए ऊ कुकुरहरूलाई हेरेर मुस्कुरायो । ऊ अफिसको कुर्चीमा बसेर आधा आँखा खोल्दै आधा आँखा चिम्लिदै बसिरहेछ ।

'सर सर' निमाका आँखा पुरा खुले त ! उसले केटोलाई देख्यो सर मलाई हजार रूपैयाँ दिनुन ? । 'मामपाखा' केटो ङिच्च हाँस्यो कस्लाई दिन्छस् हँ पैसा ? ऊ अनुत्तरितसहितको मुस्कानमा छ । निमा टेबलको घर्रा तान्छ र हजारको नोट दिन्छ । 'मामपाखा' दिनकै माग्न आउने हैन नी ! ऊ फेरि ङिच्च हाँस्छ र फर्कन्छ । 

दिनभरको थकान र भोकले उसको पेट बटारी रहेछ । फ्याक्ट्रीको कालो ठूलो गेटबाट ऊ बाहिर निस्किएको छ । ऊ जब बाहिर निस्कन्छ उसलाई लाग्छ आफूभन्दा बाहिर पनि छुट्टै निकै सुन्दर संसार छ जहाँ बच्चाहरू खेलिरहन्छन् । आफ्नै उमेरका जोडीहरू हात समातेर रोमाञ्चित हुँदै हिँडिरहेका छन् ।

अलि पर उमेर ढल्दै गरेका बिवाहित जोडी पसलमा सामान मोलमोलाई गरिरहेका छन् । फ्याक्ट्री र सहर त्यति दुर छैनन् जति उसका सपनाहरू ऊबाट धेरै दुर छन् । जुन सपना अरूका लागि साना निकै साना छन् उसका लागि त्यही सपना जीवनभन्दा ठूला भएका छन् ।

ऊ हरेकलाई आफूभित्र खोज्‍ने गर्थ्यो बच्चाहरूलाई देख्दा ऊ सोच्थ्यो कस्तो निस्फिक्री उढ्न खोज्दै गरेका बचेराहरू, ऊ यस्तो बचेरा भएको थियो जसलाई उढ्नु त थियो तर एक्लै गुँडमा एक्लै छोडिएको बचेरा जस्तो उसको बाल्यकालका  जोडीहरूलाई देख्दा ऊ सोच्थ्यो कस्तो सुन्दर मलेवाका जस्ता जोडी तर ऊ मलेवाभित्र पनि जोडि भेट्टाउन नसकेको एक्लो मलेवा जस्तो उसको बितिरहेको वयस्क अवस्था । 

सहर व्यस्त छ, सबै हतारोको दौडमा लम्कि रहेछन् । सहरको व्यस्ततालाई पर्दै गरेको साँझले अझ व्यस्त बनाउँदै छ । सहर व्यस्त छ तर ऊ व्यस्त छैन सबैलाई हतार यसमा छ कि कोहि कसैलाई पर्खिरहेछन् । कोहि कस‌लाई भेट्न दौडिरहेछन् तर उसलाई न कसैलाई भेट्नु थियो न कोहि उसलाई पर्खि रहेछ । उसको यात्रा त्यहीसम्मको हो जहाँ म:मका केही डल्ला हुन्थे । जसले उसको भोक मेटाउँथ्यो अनिसँगै हुन्थे लोकल रक्सि जसले उसको पीडा लुकाउँथ्यो । 

रात छिप्पिँदै छ ऊ लड्‌खडाउँदै फ्याक्ट्रीको गेटभित्र छिर्छ । ह्युम पाइपका भित्र लुकेका कुकुरहरू एकपछि अर्को गर्दै बाहिर निस्कन्छन् र जोडले घुँक्दै उसको पछि लाग्छन् । ऊ हातमा डुंगा लिन्छ र हिर्काउन खोज्छ तर हिर्काउँदैन ऊ सोच्छ यी कुकुरहरू पनि त म जस्तै निरिह छन् । एउटा निरिहले अर्को निरिहलाई किन चोट दिनु उनीहरू पनि बाँच्नका लागि कसैका भरमा छन् म जस्तै तर उनीहरू र म मा भएको एउटा असमानता छ त्यो हो उनीहरू स्वतन्त्र छन् म आफैमा कैदमा छु । 

फ्याक्ट्रीको कुनामै छ उसको अध्यारो कोठा । पुराना धमिराले आदि खाएका पल्लाहरू, पल्लाहरू कतै कतै मात्र जोडिएका छन् उनीहरू बुढा भएका छन् सुकेर सकिँदै छन् । त्यहिँ कतै कतै मात्र जोडिएका पल्लाहरू बिचबाट मुसाहरूभित्र बाहिर गरिरहन्छन् । उसले त्यहि पल्लाहरूलाई धकेल्यो । जसै ढोका उघ्रियो मन्द जुनको उज्यालो प्रकाश उसको कोठामा पस्यो । जुनको त्यही उज्यालोमा उसले बत्ती बाल्यो ।

मुसाहरू सलबलाउँदै भागे । उज्यालो कोठाको भित्तामा उसका पुराना दुई जोर लुगा झुण्डाइएका छन्, कतै काला अङ्गारले झैँ कोरिएका दागहरू छन् कतै पत्रिकाहरू टाँसिएका छन् । भित्ताकै अर्को छेउमै छ एउटा झुस्स दारी भएको विदेशी मानिसको फोटो जो मन्द मुस्कानमा छ । जसले टोपी लगाएको छ उसको टोपीमा रातो तारा छ जुन उसलाई खुब सुहाएको छ । उसलाई यो मानिस को हो थाहा छैन कहाँको हो यो पनि थाह छैन तर उसलाई हेर्दा ऊ खुसी हुन्छ किनकी ऊ पनि ऊ जस्तै गोरो छ ऊ पनि ऊ जस्तै युवा छ । त्यो भन्दा ठूलो ऊ पनि त्यस्तै मुस्कुराउँछ जस्तो त्यो फोटोको मान्छे मुस्कुराउँछ ।

भुँइमा छन् छरपस्ट केही भाँडाकुँडा, केही प्लास्टिकका पुराना र निकै महिला डब्बाहरू, थोत्रा केही थान प्लास्टिकका झोलाहरू । एउटा खाट छ मुस्किलले ऊ एक्लै निदाउन सक्ने जसका गोडाहरू यति कमजोर भएका छन् कि जुनसुकै बेला भुँइमा थचक्क बस्लान जस्ता ।

केटो खाटमा पल्टिएको छ । ऊ निदाउन डराई रहेछ किनकि उसले केही दिनदेखि सपनामा आफ्नो बाबुलाई देखिरहेको थियो । उसलाई बाबुले भनिरहेका थिए छोरा हेर म यहाँ  कति खुसी छु यहाँ कति सुखी छु । कहिल्यै नअघाएको म यहाँ आएपछि अगाएको छु, हेर त यी मेरा हातहरू हड्डी मात्र थिए त्यहाँ हुँदा त अहिले गतिला भएका छन् । यहाँ कसैले कसैलाई केहि गर्दैनन् । सबै तृप्त छन् । सबै खुसी छन् । यहाँ न कोहि थिच्ने छ, न कोहि थिचिने छ । ईश्वरको राज्यमा छोरा  सबैलाई समान छ  तिमी पनि आउ ।

केटो सपना सम्झिँद‌ै मुर्छित भइरहेछ । सिरानमा राखेको बाबुको पुरानो धमिर फोटो हेरिरहेछ । उसका आँखाहरू टिलपिल भए । ओठहरूमा कम्पन छुटे । छाति गरूङ्गो भयो । उसका आँखाहरूबाट आँशुका थोपा सिरानीमा खसिरह्यो ऊ गहिरो निन्द्रामा डुब्यो, डुबिरह्यो ।

रातबाटै पानी परिरहेको थियो, बिहान भने आकाश खुल्यो निमा अफिसमा छिरे मजदुरहरू काममा आए । सबैले फेरि एकपटक धमिलो पोखरीमा आफ्ना पसिनाहरू मिसाए । काम सकेर मजदुरहरू टुसुक्क पोखरीको डिलमा बसे । बुढोले केटोलाई सँम्झ्यो । बुढोले आकाशतिर हेर्दै भन्यो आज त दिउँसै एउटा तारा हिँड्यो नि !

यसअघि सिग्देलका दुई कविता

ए मान्छे

शुरज थपलिया | मंसिर २०, २०८०

आफ्नो स्वाभिमानका लागि अभिमानी बन्नेहरू आफ्नो अधिकारका लागि कर्तव्य बिर्सनेहरू सबैको अधिकार समान हुन्...

दक्षिण कोरियाबाट नेपालको सम्झना : फेरियो कि मेरो गाउँ अझै उस्तै होला ?

माधव न्यौपाने | जेठ १, २०८०

परदेशको जीवन विचित्रको हुन्छ । अर्लामको आवाजसँगै उठ् । अनुहार पनि राम्रोसँग धुन नपाई हतारहतार केही खाऊ...