शुक्रबार २२ चैत, २०८१
Friday, April 04, 2025

शिक्षामा ‘वसन्त’ ल्याउने ‘शिशिर’ चुनौती

मन्त्री हुनुभन्दा दुई दिनअघि दरमार्गको साम्स क्याफेमा शिशिर खनाललाई भेट्दा उनी करिब करिब शिक्षा मन्त्री बन्ने मनस्थितिमा पुगिसकेका थिए । शिक्षा क्षेत्रमा उनले गरेको छोटो तर महत्वपूर्ण योगदानलाई उनको दलले मात्रै होइन, अरु दलका नेताहरूले पनि नियालिरहेका थिए । जनतालाई धेरैभन्दा धेरै डेलिभरी गर्ने सोच बनाएको सरकारका लागि उनी शिक्षा सुधार्ने उपयुक्त पात्र नै थिए ।

छिनछिनमा बदलिने नेपाली राजनीतिको पासा उनको पोल्टामा पर्ला पर्ला जस्तो पनि थियो । ‘मन्त्री नभए पनि समितिमा बसेर राम्रोसँग काम गर्ने हो,” उनीसँग वैकल्पिक योजना पनि थियो । सायद यही वैकल्पिक योजनामा रमाउने आदतले नै उनलाई अमेरिकाको रहरलाग्दो जीवनशैली त्यागेर आर्थिक रूपमा ‘बेरोजगार’ (भन्नाले पैसा नआउने काम) हुँदा पनि खासै फरक परेको थिएन । नीतिशास्त्रमा स्नातकोत्तर गरेका खनालका लागि शिक्षाको नीति, थिति र विधि बसाल्ने यो गतिलो अवसर पनि हो ।

शिक्षा क्षेत्र सुधार्नका लागि ठूलाठूला योजना होइन, सामान्य कुराबाट नै उनले सुरु गर्न सक्ने आधार छन् । नेपालमा शिक्षक र विद्यार्थी अनुपातको अवस्थालाई संयोजन गर्नका लागि पहिलो चरणमा विद्यालय मर्जको अभियानलाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

अघिल्लो सरकारले अगाडि बढाएको विद्यालय मर्जका लागि वैज्ञानिक ढंगले अध्ययन (जसरी तुलसीपुरका विद्यालय मर्ज गरिएको थियो) गरेर कार्यान्वयनको चरणमा लैजानुपर्ने देखिन्छ । विद्यालय मर्जको अभियन्ता उनी स्वयम् भएको हुँदा पनि सार्वजनिक शिक्षा सुधारको महत्वपूर्ण कडीका रूपमा उनले यस कुरालाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । यसरी विद्यालय मर्जका लागि ठाउँअनुसार विद्यार्थी संख्याको मापदण्ड बनाएर लागू गर्न सकियो भने भौतिक संरचना र शिक्षक अभावको समस्या एक हदसम्म समाधान हुन्छ । तर, व्यक्तिको इच्छा र राजनीतिक पहुँच स्थापित गर्नका लागि खोलिएका विद्यालय मर्ज गर्नका लागि उनले फलामको च्युरा नै चपाउने हिम्मत गर्नुपर्ने हुन्छ ।

नेपालमा जनताको मन जित्नका लागि धेरै ठूला योजना र काम गर्नुपर्ने अवस्था नै छैन । सामान्य सानातिना कुराहरूको संयोजनबाट पनि जनता खुसी हुन जानेका छन् । अर्को सामान्य तर महत्वपूर्ण कुरा भनेको समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउनु नै हो । साझा प्रकाशनको एकाधिकारलाई तोडेर विद्यार्थीहरूले विद्यालयमा भर्ना हुने दिनमा पुस्तक पाउन सक्ने अवस्था सृजना गर्नका लागि उनले भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । सामान्य लागे पनि सामुदायिक शिक्षा सुधारको सबैभन्दा जटिल समस्याका रूपमा यो विषय उठिरहेको छ ।

शिशिरले अमेरिकामा पढिरहँदा नेपालमा सामुदायिक शिक्षाको अवस्था कारुणिय थियो । कुनै वियोगान्त गीत जस्तो लाग्थ्यो उनलाई, गरिबहरूका लागि बनाइएका सामुदायिक विद्यालय । देश सुधार्नका लागि धेरै नारा बनेका थिए । योजना बनेका थिए । निकाय बनेका थिए । निकायमा बस्ने विज्ञहरू पनि थिए । तर विज्ञ उत्पादन गर्ने गाउँ विज्ञ बन्न सकेन । गाउँमा सजिलै भेटिने विद्यालय थिएनन् । विद्यालय भेटिए शिक्षक थिएनन् । शिशिरले यही समस्याको खाडललाई अवसर माने । अमेरिकाको सपना उनलाई फिक्का लाग्यो । नेपाल आए ।

गाउँगाउँमा गएर निःशुल्क पढाउने मनकारी शिक्षकको खोजीमा लागे उनी अनि खोले टिच फर नेपाल । देशैव्यापी सञ्जाल बनाएर टिच फर नेपाल अहिले फैलँदै गएको छ । सरकारले व्यवस्था गर्न नसकेका ठाउँमा त्यो पनि गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षक व्यवस्थापन गर्छु भनेर कम्मर कस्ने शिशिर यति बेला त्यही सरकार बनेका छन् ।

नेपालमा सबैभन्दा बढी दबाब थेग्नुपर्ने कुरा भनेको राजनीतिक दबाब नै हो । जुन उनका लागि निकै सहज छ ।

अब उनले हिजो उठाएको आवाजलाई आज नीति बनाएर लागू गर्नुपर्ने बेला आएको छ । टिच फर नेपालको मोडललाई आत्मसात् गर्दै गिरीराजमणि पोखरेल शिक्षामन्त्री हुँदाका पालामा खुलेको स्वयंसेवक शिक्षकको दरखास्त फाराम खोल्ने साहस शिशिरले लिनुपर्दछ ।

तुलसीपुर उपमहानगरपालिकाको सल्लाहकारका रूपमा केही समय गुजारेका शिशिरले विकास गरेको तुलसीपुर मोडल देशैभर लागू गर्ने उनका लागि अवसर भएको छ । सामुदायिक शिक्षा सुधारको उनको अभियान सरकारको आँखाबाट धेरै टाढा थियो । केही धन हुने मनकारीहरूलाई साथमा लिएर उनले अभियान अगाडि बढाएका थिए ।

अब टिच फर नेपालको अभियानलाई मिनिस्ट्री अफ एजुकेसनको अभियान बनाउने अवसर उनले पाएका छन् । नेपालको शिक्षा क्षेत्रको अवस्था देखेर दिग्दार भएका एकथरी मानिसहरूले चिया पसलमा ‘यो मान्छेले पनि गर्न सकेन भने कसैले पनि गर्न सक्दैन’ भन्ने खालका आशावादी टिप्पणी हुन गरिरहेका छन् । यी टिप्पणीहरू शिशिरका लागि चुनौतीका पहाड हुन् । पहाडका गाउँ गाउँमा शिक्षक पुर्याएका शिशिरका लागि यो पहाड सहज हुने अपेक्षा छ ।

सार्वजनिक शिक्षा सुधारका लागि शिशिरले नै देखेको सपना भनेको विद्यार्थी र शिक्षकको तालमेल हुनु हो । तुलसीपुरमा उनले गरेको सबैभन्दा राम्रो काम भनेको नै शिक्षक र विद्यार्थी अनुपातलाई मिलाउनु हो । धेरै विद्यालय बनाएर शिक्षकको अभाव हुनुभन्दा सीमित विद्यालय बनाएर सबै  पूर्वाधारको व्यवस्था मिलाउनु महत्वपूर्ण कुरा हो । विद्यार्थीविहीन विद्यालयलाई मर्ज गरेर विद्यालय भएको विद्यालयमा जनशक्ति स्थानान्तरण गर्ने उनको अभियानले तुलसीपुरमा गतिलोसँग काम गरेको छ । समय हिजोको जस्तो छैन । आज गाउँगाउँमा बाटो पुगेको छ । बरु विद्यालयहरूलाई स्कुल बसको सुविधा प्रदान गरेर भए पनि मेघा विद्यालयमा जान सकियो भने सामुदायिक शिक्षा सुधारको एउटा बाटो फराकिलो हुने निश्चित छ ।

सामुदायिक विद्यालयको अर्को जटिलता भनेको सिकाइ उपलब्धि संकटपूर्ण अवस्था हो । उनले नै तुलसीपुरमा गरेको अध्ययनले सार्वजनिक विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थीले पनि राम्रोसँग अंग्रेजीमा मात्रै होइन, नेपालीमा पनि आफ्नो नाम लेख्न नसक्ने अवस्था थियो । सामान्य जोड घटाउ गर्नका लागि औला भाँचिरहेको अवस्था थियो । यसका अनेक कारण होलान् तर सामुदायिक विद्यालयहरूमा भएको सिकाइ उपलब्धि निकै संकटग्रस्त देखिन्छ । विद्यार्थीले जानेर कक्षा चढ्यो या नजानेर भन्ने कुराका बारेमा वस्तुनिष्ठ मूल्यांकनको अहिले अभाव देखिन्छ । विद्यार्थीलाई जान्ने बनाउनका लागि सामुदायिक विद्यालयका शिक्षकहरूलाई परिचालन गर्नुपर्ने बलियो आवश्यकता छ । 

सामुदायिक विद्यालयलाई नजिकबाट नियालेको मात्रै होइन त्यसका कमजोरीलाई पनि तथ्यपरक ढंगले केलाएका कारण शिशिरमा विज्ञता हाबी नै छ । अहिले विज्ञता र नेतृत्वको संयोजन भएको छ । सबैलाई थाहा छ, परिवर्तन एकैपटक र एकै झोँक्कामा सम्भव हुँदैन तर परिवर्तनको सुरुवात भने अवश्य पनि हुन सक्छ । शिशिरका लागि सबैभन्दा सहजता भनेको उनलाई दबाब दिनका लागि उनको पार्टीको कुनै पनि भ्रातृ संगठन छैन ।

नेपालमा सबैभन्दा बढी दबाब थेग्नुपर्ने कुरा भनेको राजनीतिक दबाब नै हो । जुन उनका लागि निकै सहज छ । तर आफूलाई दबाब दिने संगठन नहुनु भनेको आफ्नो पक्षमा बलियो ढंगले आवाज उठाउने पक्षधरता भएको मान्छे गुमाउनु पनि हो । तथापि स्वतन्त्र पार्टीका लागि भ्रातृ संगठनको सबै काम जनताले गरिरहेका छन् । अर्थात् राम्रो  कुरामा कुनै पनि खालको समस्या उत्पन्न भएमा जनताले त्यसको खबरदारी गरिरहेका छन् ।

प्राविधिक शिक्षाको विकासका लागि स्थापना गरिएको सिटिइभिटी आफैँ थला परेको छ । प्रविधिले फड्को मारेर कहाँ गइसक्यो तर अहिले पनि ट्युबलाइट जोड्ने कुरा सिकाइरहेको छ । मध्यम खालको प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्थाले बनाएको पाठ्यक्रमका कारण हरेक वर्ष बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्या उकालो लागिरहेको छ । न त समयानुकूल पाठ्यक्रम परिमार्जन हुन सकेको छ, न त समयमै नतिजा प्रकाशन र परीक्षा नै सञ्चालन भइरहेको छ । यसरी साख गुमाउँदै गरेको सिटिइभिटीलाई सही गन्तव्यमा ल्याउनु उनका लागि चुनौती छ । प्राविधिक शिक्षालाई गाउँ गाउँ लैजाने नारा कत्तिको जायज छ ? गाउँ गाउँमा पुगेका प्राविधिक शिक्षालयहरूमा पढ्ने विद्यार्थीहरूले गतिलोसँग अभ्यास गर्न पाएका छन् त ? 

एकपटक पुनरावलोकन गर्नुपर्ने देखिन्छ । नेपालमा हरेक वर्ष विद्यालयहरूले लाइब्रेरी, ल्याब, भवन लगायतको निर्माणका लागि अनुदान पाइरहेका छन् तर किन विद्यार्थीले उपयोग गर्न सक्ने गरी निर्माण हुन सकेको छैन ? यसलाई केलाए भने मात्रै पनि गरिब जनताका केट्केटीले (शिशिरको भाषामा) गतिलो शिक्षा पाउने थिए ।

एउटा शिक्षा सुधार्छु भन्ने अभियन्तालाई देशले बलियो अवसर दिएको छ । सामाजिक सञ्जालमा पनि राइट म्यान राइट प्लेसको नारा घन्किएको छ । शिक्षामा वसन्त ल्याउन शिशिर चुनौतीहरू सजिलो बन्नेछ । अहिले सबैभन्दा बिग्रिएको क्षेत्र शिक्षा नै हो । र, अहिलेको क्याबिनेट हेर्दा शिक्षा मन्त्रालय सबैभन्दा योग्य पात्रका हातमा गएको देखिन्छ । यो अवसरलाई शिशिरले समाउनुपर्छ । अन्यथा, सानो गल्तीमा पनि ठूलो निराशा छाउनेछ ।

[email protected]

आचार्यका लेखहरू