सिनेमा

सिरिज रिभ्यू

दूषित राजनीतिको यथार्थ चित्र : महारानी

वसन्त आचार्य |
जेठ २९, २०७८ शनिबार १९:१५ बजे

लकडाउनको समयमा धेरैले घर छाडेका छैनन् । घरमै रहँदा सिनेमा सबैका लागि राम्रो साथी भएको छ । तर एकै मार्काका चलचित्र हेर्दा हेर्दा दिक्क परेकाहरूलाई लक्षित गरेर विभिन्न डिजिटल प्लेटफर्ममार्फत वेब सिरिजहरू रिलिज भइरहेका छन् । 

अहिले चलचित्रभन्दा पनि सिरिज हेर्न लहर बढेर गएको छ । यसैबीचमा डिजिटल प्लेटफर्म सोनी लिभमार्फत राजनीतिक विषयमा आधारित रहेर निर्माण भएको ‘महारानी’ सिरिज रिलिज भएको छ । प्रदुषित राजनीतिको सिकार भएको बिहार राज्यको दुई दशक पुरानो राजनीतिलाई सिरिजमा जोड्न खोजिएको छ, जुन नेपालको वर्तमान अंक गणितको राजनीतिसँग सन्निकट देखिन्छ । 


बिहारका मुख्यमन्त्री भिमा भारती (सोहुम शाह) आफ्नो गाउँ मोरिना गएको बेलामा गोली लाग्छ । श्रीमती रानी भारती (हुमा कुरेसी) सँग नदी किनारमा पूजा गरिरहेको बेलामा उनलाई गोली लागेको हुन्छ । घाइते भएका उनलाई तत्काल अस्पताल भर्ना गरिन्छ ।  

अचेत अवस्थामा रहेका भारती निको हुनका लागि निकै समय लाग्ने भएपछि पाटीभित्रकै गुटका नेता नविन कुमार (अमित सिअल) को मुख्यमन्त्री हुने पुरानो सपना फेरि पुनर्जागृत हुन्छ । पार्टीमा भिमा भारतीको बहुमतलाई घाइते भएको अवसरमा आफूतिर तान्नका लागि खुबै प्रयत्न गर्दछन् । बोल्न र हिडडुल गर्न नसक्ने भए पनि सबै घटनालाई भिमाले खुबै चासोका साथमा हेरिरहेका हुन्छन् । फरक गुटका सांसदहरूलाई मन्त्रीपद बाँडफाँड गरिरहेको नविनका बारेमा थाहा पाएपछि भिमाले थप चाल चलेर नविन गुटका सांसदहरूलाई आफूतिर तान्छन् । 

भिमा भारतीको समूहबाट मुख्यमन्त्री हुने पक्का भए पनि उनी निको हुँदासम्मका लागि अर्को नयाँ मुख्यमन्त्री राख्न चर्को आवाज उठिरहेको हुन्छ । भिमाका विश्वास पात्र मिश्रा जी (प्रमोद पाठक) ले भिमाको आदेशानुसार सामान्य लेखपढसमेत नगरेकी उनकी पत्नी रानी भारतीलाई मुख्यमन्त्री बनाउने  प्रयास गर्छन र सफल पनि हुन्छन् । श्रीमती रानी भारतीलाई गद्दीमा राखेर सत्ताको रिमोट कन्ट्रोल आफ्नो हातमा राख्ने मिठो सपना हुन्छ भिमाको । यही कारणले पनि उनको रोजाइमा पाटीका अन्य नेताभन्दा रानी  नै  पर्छिन् । 

बिहारका मुख्यमन्त्री लालुप्रसाद यादवलाई पशु आहारा घोटाला काण्ड लागेपछि गृहिणी राबरीदेवी मुख्यमन्त्री बनेको घटना सिरिजको भावभूमि हो । 
 

गाउँबाट कहिल्यै पटनासमेत नआएकी पूर्णत घर ब्यवहार मात्रै चलाएकी रानीका लािग मुख्यमन्त्रीको पद निकै बोझिलो हुन्छ । पाटीकै विपक्षी नेताहरूले उनको खिल्लीसमेत उडाउँछन् । सुरुवातमा केही अलमलिए पनि  उनी राज्य सञ्चालनमा अभ्यस्त हुँदै जान्छिन्  । तर राजनीति उनले देखेजस्तो थिएन । जुन आवरणमा उनले राजनीतिलाई देखिन् यसको अन्तर्य निकै नै फरक थियो । राजनीतिमा आदर्श छाट्ने र सत्ता चलाउँदा त्यसलाई नै कुल्चने प्रवृत्तिले उनलाई निराश बनाउँछ  ।

सरकारका काम अगाडि बढाउने सवालमा मुख्यमन्त्री रानी भारतीले विभिन्न मन्त्रालय र विभागलाई परियोजना अगाडि बढाउनका लागि निर्देशन दिन्छिन् तर विकासको काम अगाडि बढाउनका लागि बजेट नै नभएको सबै मन्त्रालयले रिपोर्ट गर्दछन् । उनले केन्द्रीय वित्त सचिव परवेज आलम (इनामुल्लाक) सँग कुरा बुझ्दा भ्रष्टाचारका कारण बजेट अभाव भएको  थाहा पाउँछिन् र तत्काल पशुपालन मन्त्रालयबाट यसको अनुसन्धान गर्नका लागि निर्देशनसमेत दिन्छिन् । 

रानी भारतीलाई प्रयोग गर्न सहज हुन्छ भनेर मुख्यमन्त्री बनाएका उनका श्रीमान् भिमा भारती उनको कामबाट सन्तुष्ट हुँदैनन् । उनलाई सबै अनुसन्धान रोक्न निर्देशन दिन्छन् । पशुपालन मन्त्री प्रेमकुमार (मोहम्मद आशिकी आलम) को भ्रष्टाचार प्रमाणित भइसक्दा पनि उनलाई रानीले गरेको कारबाही फिर्ता लिन दबाब दिन्छन् । 

सत्ताको उलटपुलटमा राजनेताहरू कतिसम्म तल्लो तहमा ओर्लिएर सहमति गर्छन् भन्ने कुरालाई सिरिजले यथार्थपरक ढंगलेउठाएको छ । 
 

यसपछि १० भागको सिरिजले कथामा नयाँ मोड लिन्छ । आतंकवादीलाई राजनीतिज्ञले नै कसरी प्रयोग गरिरहेका हुन्छन् भन्ने कुरालाई सिरिजमा निकै कलात्मक र यथार्थपरक ढंगले देखाइएको छ । अवैधानिक ढंगले बनाइएको भिसी कम्पनीमार्फत हरेक वर्ष अरबौं रकम घोटाला हुने तथ्य सार्वजनिक गरेर मुख्यमन्त्री रानीले सदनमै मन्त्री प्रेमकुमार र आफ्ना श्रीमान पूर्व मुख्यमन्त्री भिमा भारतीलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिन्छिन् । रानीलाई हटाएर आफू मुख्यमन्त्रीमा पुनर्वहाली हुन लागेका भिमाको राजनीतिक जीवन अन्ततः सकिन्छ । राज्यको स्रोत साधन दुरुपयोग गर्नेको ईशारामा बन्दुक बोकेकालाई पनि उनले कारबाहीको दायरामा ल्याउँछिन् । 

 करिब ७ घण्टा लामो सिरिजमा संसदीय राज्य प्रणाली कसरी विकृत बन्दै गएको छ भन्ने कुरालाई निकै मिहिन ढंगले केलाइएको छ । सत्ताको उलटपुलटमा राजनेताहरू कतिसम्म तल्लो तहमा ओर्लिएर सहमति गर्छन् भन्ने कुरालाई सिरिजले उठाएको छ । एउटै पाटी भित्रको आन्तरिक खिचातानीले गर्दा समग्र राज्य र जनताले भोग्नुपरेका समस्या हाम्रा सामु ताजा भएर आउँछन् । 

 संसदको टाउको गनेर सत्ताको भर्याङ उक्लने राजनीतिको पछिल्लो अवस्थाको यथार्थ चित्र यसमा देखिन्छ । सन् १९९७ मा बिहारका मुख्यमन्त्री लालुप्रसाद यादवलाई पशु आहारा घोटाला काण्ड लागेपछि सामान्य गृहिणी मात्रै रहेकी  उनकी श्रीमति रावरीदेवीलाई मुख्यमन्त्री बनाएको घटनाबाट प्रेरित भएर यो सिरिज निर्माण गरिएको हो । रावरीदेवी मुख्यमन्त्री भएपछि बिहारको विधान सभामा उनलाई राजनीतिक अनुभव नभएको र अशिक्षित भनेर निकै आलोचना गरिएको थियो । तर उनले निकै सफलताका साथ ३ कार्यकाल मुख्यमन्त्री भएर बिताइन् । 

करिब ३ दशक पूरा हुँदा पनि  अहिलेसम्मको राजनीतिक प्रदूषण उस्तै रहेको देखिन्छ । विश्वासको मतको फेरो समातेर राजनीति गर्दा एउटा राजनेताले कतिसम्म जनतामाथि अन्तर्घात गर्छ भन्ने कुरालाई सिरिजले देखाएको छ  ।

विश्वासको मतको फेरो समातेर राजनीति गर्दा एउटा राजनेताले कतिसम्म जनतामाथि अन्तर्घात गर्छ भन्ने कुरालाई सिरिजले देखाएको छ  ।

 

 

सिरिज भएका कारण कथाकारले कथालाई रोमाञ्चक ढंगले अन्त गरेर राज्यमा सुशासन कायम गरेको देखाइएको छ । तर अझै बिहार उस्तै छ  जस्तो संघीयताको अभ्यास गर्दै गरेको नेपालका हरेक राज्य देखिन्छन् । समस्या सबैलाई थाहा छ समाधान किन हुँदैन त्यो पनि थाहा छ । तर त्यसलाई सुक्ष्मतम ढंगले बुझ्न मन लाग्यो भने यो सिरिज हेर्नेपर्दछ । 

करन शर्माले निर्देशन गरेको ‘महारानी’लाई सुवास कपुरले लेखेका हुन् । यसले बिहार मात्रै होइन सत्ताका लागि जे पनि गर्न सकिन्छ भन्ने सोच भएका सबै राजनेताहरुको मनोवृत्तिको चित्रण गरेको छ । हेर्नका लागि बसेपछि पुरै सिरिज नसकिँदासम्म उठ्न मन लाग्दैन । अभिनयको कुरा गर्दा सबैको अभिनय उत्तम छ तर रानी भारतीको रुपमा हुमा कुरेसीको अभिनय उत्कृष्ट छ ।  
 


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
x