विचार

बाबासँग दिनभर छुटेको छोरो ढोका खोल्न किन उत्सुक भइरहेको छैन ?

वसन्त आचार्य |
भदौ ७, २०७८ ८:७ बजे

घरमा परिवारका सदस्यबीच आधा घण्टासम्म कुरा नभएको कति समय भयो होला ? बाबा-आमा घर आउनेबित्तिकै छोराछोरीले अँगालो हालेर केही क्षण नखेलेको कति भयो होला ? तपाईंकै लागि तपार्इंको घरमा आउनुभएको पाहुनासँग मनबाट बात नमारेको पनि कति भयो होला ? तपाईं सक्रिय हुँदाको समयको कति समयसम्म तपाईंको हातमा मोबाइल फोन हुँदैन ? खाना पकाउँदा मोबाइल नहेरेर मनैबाट नपकाएको पनि कति भयो होला ? श्रीमान् या श्रीमतीको जन्मदिनमा शुभकामना र फोटो हाल्नका लागि १२ बजेसम्म कुरेर प्रेमको अग्नि परीक्षा कसकसले पास गर्नुभएको छ ?

घरमा इन्टरनेटको सुविधा हुनेहरूका लागि मात्र माथिका प्रश्न गरिएका हुन् । संसार जोड्नका लागि इन्टरनेट आयो । संसार जोडियो पनि, आज भूगोलको दूरताले कसैलाई पनि बेखबर हुनुपरेको छैन । संसार मोबाइलको खोस्टोमा अटाएको छ । प्रविधिको यो दुनियाँमा भर्चुअल माया साट्न तड्पनु परेको छैन । आफ्नै मान्छेको ताजा गतिविधि हेर्न पर्खनुपरेको छैन । तर संसार जोड्ने इन्टरनेटले के हाम्रो गाउँ समाजलाई जोडिरहेको छ त ? लौ यो अलि व्यापक भयो भने परिवारलाई जोडिरहेको छ त ? 


हाम्रा सुख-दुःख अनि मनका बहहरूलाई साट्न सकिएको छ त ? संसार बुझेको मान्छेको परिवारमा किन आज फाटो आइरहेको छ ? किन आत्मीयता हराउँदै गएको छ ? डोरबेल बज्दा ढोका खोल्न आउने छोराले किन माया र उत्सुकता बोक्न छाडेको छ ? दिनभर छुटेकी छोरीले एक हातमा मोबाइल र आँखा दौडाएर अर्को हातले किन ढोका खोल्छे ? कहाँ गयो बाबु-आमा आउँदा आकाश नाघ्‍न खोज्‍न मन ? हामीलाई इन्टरनेटले जोड्दै छ या तोड्दै छ ?

मैले अगाडि नै भनेँ, घरमा इन्टरनेट जोडिएका हरेक परिवारका मनका भाव हुन् यी । यसबाट हामी कोही पनि अलग रहन सकेका छैनौँ । म पनि रहन सकेको छैन । संसारका हरेक कुरा इन्टरनेटमा रूपान्तरण भएपछि भावना, आवेग अनि उद्वेगहरू हराउने नै भए । प्रेमको परिभाषा मनमा स्वच्छता होइन, फेसबुकका लाइक र कमेन्टमा गणना हुन थालेको छ । ‘तैँले कहिल्यै मेरो फोटो लाइक र कमेन्ट गर्दैनस्, माया पनि गर्दैनस् जस्तो लाग्छ,’ यस्ता गुनासाका पोका सुनि नसक्नु हुन्छ । 

घरमा आइसकेपछि किन फोन उठ्दैन ? किन फोन काटिन्छ ? यस्ता अनेकानेक प्रश्नको सामना आज म जस्ता हरेकले गर्नुपरेको छ । घरमा आउनेबित्तिकै मोबाइल अपहरणमा नपर्ने बाबु-आमा को होलान् र ? साना सन्तानहरूलाई मोबाइल किन्‍नु हँुदैन भन्‍ने सोच त हामीसँग छ तर मोबाइल नकिन्दैमा सन्तानहरूले मोबाइल हेर्दैनन् भन्‍ने केही पनि छैन । बाआमा होइन, मोबाइल चाहिएको छ आज सन्तानलाई । एक समय थियो, मन लागेको नकिनिदिँदा बाआमासँग रिसाउन मन पथ्र्यो । अहिले समय आएको छ, मोबाइल नपाउँदा बाबु-नानीहरू रिसाउने मात्रै होइन, खानासमेत खान मन गर्दैनन् । 

आजको समाजमा घरमा श्रीमान्ले थाकेर आएकी श्रीमतीलाई सुख-दुःख होइन, मेसेन्जरबाट सात समुद्रपारिको मान्छेलाई सोधिरहेको हुन्छ । श्रीमान् या श्रीमतीले एक अर्कासँग मीठो कुरा गर्नुपर्ने भयो भने कुनै एक जना घरदेखि टाढा जानुपर्ने बाध्यतासमेत रहेको छ । मेसेन्जरमा मात्रै कुरा गर्नेमा हामी ‘एडिक्ट’ हुँदै गएका छौँ । सँगै जोडिएर बसेका जोडीहरूले एकअर्काको स्पर्श महसुस गर्न सक्दैनन् । स्पर्श पनि भर्चुअल भइसकेको छ । 

समय परिवर्तनशील हुन्छ । यसको गतिको मापन यसले आफैँ तय गर्छ । तर यो पनि होइन कि हामी समयलाई पछ्याउँदा पछ्याउँदै आफैँभन्दा पनि अगाडि नहिँडौँ । गाउँमा आहान हाल्ने गर्छन्- रक्सी पनि चाहिँदो खायो भने औषधि हुन्छ, मन लाग्दो खायो भने विष हुन्छ । इन्टरनेटको प्रयोग हाम्रा लागि त्यस्तै त होइन । दिनभर अफिस, पसल या अन्य कार्यस्थलमा पनि हामी इन्टरनेटमै टाँसिएका हुन्छौँ, अनि घरमा पनि । हुँदाहुँदा ओछ्यानमा निद नलाग्दासम्म पनि मोबाइल छाड्न मन लाग्दैन । ‘सुत्ने बेला भयो अब टिकटक हेर्नुपर्छ’ घरघरको कहानी हो यो ।

एक समय फेसबुक चलाउने लत हुन्थ्यो मान्छेको धेरै चलाउँदा दिक्क लाग्थ्यो । या युट्युब चलाउँदा चलाउँदा दिक्क लाग्थ्यो । आज फरक भएको छ । फेसबुक चलाएर दिक्क भएको मान्छेले मोबाइल टाढा फाल्दैन, टिकटक हेर्न थाल्छ । फेरि बोर लाग्यो इन्स्टाग्राम चलाउँछ, त्यहाँ बोर भयो क्लब हाउसमा गन्थन सुन्छ । त्यहाँ पनि दिक्क लाग्यो ट्‍वीटर छँदै छ । फेरि दिक्क लाग्यो, युट्युब उपस्थिति भइहाल्छ । ल हेर्नुस्, मान्छे इन्टरनेटबाट टाढा हुन सक्यो त ? चिज एक काम अनेक ।

इन्टरनेटबाट पूरै छुट्नु भनेको अहिलेको संसारबाट शून्य हुनु हो । अधिकांशले चलाउने फेसबुकमै छन्, सबै कुरा । तर त्यसको पनि केही सीमितता अवश्य पनि हुन्छ । मान्छेलाई नियन्त्रण गर्ने भनेकै अनुशासनले हो । यसलाई अर्को भाषामा आचारसंहिता पनि भनिन्छ । इन्टरनेटलाई पछ्याउँदै जाँदा जीवनमा सबै कुरा भर्चुअल हुने त होइन ? कुनै सिरियल या भिडियो हेर्दै खाना पकाइरहेकी श्रीमतीको मोबाइलमा श्रीमान्को मेसेज आउँछ । ‘चिया खान मन लाग्यो ?’ श्रीमती पनि लेखिहाल्छिन्, ‘हुन्छ एकछिन पकाएर ल्याउँछु’ अरे बाबा अर्को कोठामा रहेकी श्रीमतीलाई गएर अँगालो हाल्दै ‘आज तिम्रो हातको मीठो चिया खान नपाएर कस्तो कस्तो भएको छ’ भन्‍नु नि । श्रीमतीले हात पन्छाउँदै ‘कस्तो चिया खान मन लागेको हो प्रस्ट भएन नि ?’ भन्दै बाँधेका हात पन्छाएर आफूले बाँधून ।

घरमा सँगै बसेर पनि एकअर्काको अनुहार हेर्न हामीलाई फेसबुक प्रोफाइल चेक गर्नुपर्ने त होइन ?

इन्टरनेटले श्रीमान् श्रीमतीको आवश्यकता कम गराउँदै लगेको त छैन ? ल हेर्नुस् हिजोका दिनमा घरमा नआउँदा तपाईंलाई कति पटकसम्म फोन आउँथ्यो, आज कतिपटक आउँछ ? एकअर्काको अनुपस्थितिमा पनि रमाउन सक्ने भएपछि काम परेको बेलाबाहेक किन चाहियो श्रीमान्-श्रीमती होइन र ? यसरी आवश्यकता ह्रास हुँदै गयो भने सम्बन्धको डोरी कति दिनसम्म बाँधिन सक्ला ?

यसबाट जोगिन के गर्ने ? के बाहिर आउन सकिन्छ ? इन्टरनेट प्रयोग खराबै पनि त होइन । तर हामीले सबै कुरा इन्टरनेटमै निर्भर हुन थाल्यौँ भने हाम्रो आत्मीयताको पहाड खस्‍ने त होइन ? मलाई यही अनुभूत भएपछि मैले इन्टरनेट टाइम-टेबल बनाएको छु । साँझ ६ देखि ७ बजेसम्म घरमा इन्टरनेट कसैले पनि चलाउन नपाइने । घरमा सबैले आवश्यक फोनबाहेक मोबाइल बन्द गर्नै पर्दछ ।

यसो भएदेखि श्रीमतीसँग दिनभरका कुरा साट्ने समय पाएको छु । छोरोसँग आजभोलि मेरो फुटबल म्याच दिनहुँ चलेको छ । छोराको साइकल डोर्याउँदै उसलाई गाउँ चिनाउन सकेको छु । इन्टरनेटभन्दा बाहिर झन् मज्जा छ भन्‍ने कुरा उसले महसुस गरिरहेको छ । राती नौ बजेदेखि इन्टरनेट बन्द गर्ने सहमतिअनुसार पारिवारिक कुराकानी हुन पाएको छ । धेरैपछि टेलिभिजनले रोजगार पाएको छ । ‘बाबा आज बिहिबार सक्किगोनी हेर्नुपर्छ’ भनेर छोरोले बिहानैदेखि उत्साह व्यक्त गरिरहेको हुन्छ । तीनतिर तीन कुरा हेर्ने हामी सामूहिक रूपमा एउटै कुरा हेरेर रमाउन थालेका छौँ ।

बिदाको दिन सबै घरमा हुँदा खाना खाएपछि इन्टरनेट चलाउन पाइँदैन । अनिवार्य रूपमा अन्य वैकल्पिक कुरामा अल्झनुपर्दछ । यसले गर्दा घरमा धेरै पहिले ल्याइएर थन्काइका किताबहरू पढेर सकिन थालेको छ । मोबाइलमा घोप्टो परेर व्यस्त छु भन्दै टारिएका कयौँ लेख्न बाँकी कुरा लेख्‍न थालिएको छ । छोरो बालकथाका किताब आफैँले पढ्न थालेको छ । बजार जाँदा नयाँ बालकथाको किताब आयो कि भनेर छोरोले उत्सुकता व्यक्त गर्न थालेको छ । 

घरमा केही क्षण आउने पाहुनालाई अनेक बहानामा इन्टरनेटको पासवर्ड दिन बन्द गरिएको छ । यसले गर्दा इन्टरनेट चलाउनकै लागि आउने पाहुना आउन छाडेका छन् । गफ गर्नका लागि आउने पाहुनाहरू रमाउन थालेका छन् । साँच्चै मलाई आजभोलि पाहुना पर्न पनि जान मन लाग्दैन । केही कुरा गरौँला, केही सुझाव लिउँदा भनेर कसैको घरमा गयो, जानेबित्तिकै ‘खोइ मोबाइल ल्याउनु त नानीले पासवर्ड हानिदिन्छे’ भनेर मोबाइल माग्‍ने पो गर्छन् । इन्टरनेट नै चलाउन भए, मलाई किन घर छाडेर जानुपर्थ्यो होला ? 

इन्टरनेटले धेरै कुरा सिकायो । तर मान्छेलाई बाँध्दै बाँध्दै दास बनाउन थाल्यो । घरमा एक्लै बस्‍न मन नपराउने मान्छे, एक्लै बस्‍न थालेको छ । साँझ चौरहरूमा घुम्दै गरेका मान्छे भेट्न गाह्रो छ । साँच्चै आचारसंहिता बनाइएन भने, घरमा सँगै बसेर पनि एकअर्काको अनुहार हेर्न हामीलाई फेसबुक प्रोफाइल चेक गर्नुपर्ने त होइन ?


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
ad
x