शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।  सभाअध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। सभाले उनीहरुको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरेको छ। 

विसं २०१३ चैत १० गते मुस्ताङमा जन्मनुभएका संविधानसभा सदस्य जुहारचनको ६९ वर्षको उमेरमा यही जेठ २९ गते निधन भएको थियो।  स्व जुहारचन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट संविधानसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित भएका थिए।

यस्तै, विसं १९९३ मा अर्घाखाँचीमा जन्मनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउद्योगमन्त्री  शास्त्रीको यही असार २ गते निधन भएको थियो। नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट उनी निर्वाचित भएका थिए।

सभाको आजकै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। 

त्यसअघि, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गरेका थिए।

राष्ट्रियसभाको अर्को बैठक यही असार ९ गते सोमवार अपराह्न १:१५ बजे बस्नेछ।