यी अभियुक्त जसले बीस वर्षअघि पाँच वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरे
काठमाडौं–बीस वर्षअघि एक पाँच वर्षीया बालिकालाई बलात्कार पछि हत्या गरेर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । हेटौंडाको सिमलटार बस्ने सोमबहादुर राई पक्राउ परेका हुन् ।
उनले १८ असोज २०६० मा सिमलटारमा पाँच वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । ‘मकवानपुरको साविक हेटौंडा-१० स्थित राप्ती खोलामा लगेर बलात्कार गरी हत्या गरेको अवस्थामा बालिकाको शव फेला परेको थियो,’ वागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले भने, ‘शव राप्ती खोलाको पानीमा ढुंगाले च्यापिएको अवस्थामा भोलिपल्ट फेला परेको थियो ।’
जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारेको हो ।
अनुसन्धान एवं खोजतलास गर्ने क्रममा घटनापश्चात फरार रहेका प्रतिवादीलाई शनिबार पक्राउ गरिएको उनले बताए । ‘ललितपुर जिल्लास्थित गोदावरी नगरपालिका १४ बाट पक्राउ गरिएको हो,’ उनले भने, ‘सम्मानित जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भईरहेको छ ।’