सम्पादकीय

सम्पादकीय

असोज–कात्तिक र बाँकी दश

इकागज | कात्तिक १६, २०७९

नेपालीका चाडपर्व दसैँ–तिहार, नेपाल संवत्, म्हःपूजा, छठ आदि लगालग सकिएका छन् । अब नेपालीको अर्काे चाड इद आउँदै छ । 

यो शरद ऋतु । मौसम पनि सफा । यो असोज–कात्तिकमा धेरैले यात्रा गरेका छन् । भेटघाट गरेका छन् । गच्छेअनुसार मीठो मसिनो खाएका छन् । राम्रो लगाएका छन् । बिदा मनाएका छन् । डुलघुम गरेका छन् । 

धेरै नेपाली घरबाहिर बस्ने हुँदा सकेसम्म घर पुगेका छन् । बाआमा, दिदीबहिनी, साथीभाइसँग भेटेका छन् । पर्व बिदामध्ये सबैभन्दा लामो यही हुने हुँदा यी दुई महिना नेपालीहरू एक्लै धेरै भएनन् । 

पारिवारिक मिलनले खुसी ल्याउँछ । आफन्तबीचको आत्मीयताले भाइचाराको अभिवृद्धि हुन्छ । अनेक कारणले घरबाहिर बसेकाहरू आफ्ना आमाबा, अभिभावक, आफन्त भएका ठाउँमा पुग्छन् । वर्र्षैभरि एक्लै एक्लै बसेका आमाबाहरू आफ्ना सन्तान र सन्तति आफूकहाँ आउँदा रमाउँछन् । हजुरबाआमा देखेर नातिनातिना पनि रमाउँछन् । 

परिवारमा सबैका योजना सुनिन्छन् । रुचिहरू पोखिइन्छन् । हाँसोहरू चुहिन्छन् । रमाइला पलहरु आफूसँगै यात्रा गर्छन् । 

तर, यस्तैमा परिवारको सबैभन्दा कमजोर सन्तानले हेपिएको पनि महसुस गर्न सक्छ । कमजोर ? यो आर्थिक रूपमा, शैक्षिक रूपमा, शारीरिक रूपमा, आदि अनेक रूपमा हुन सक्छ । पारिएको हुन सक्छ । 

परिवारबीच धनपैसाको बढी कुरा हुने हुँदा कमाउन नसक्ने वा आर्थिक विषयमा धेरै चासो नराख्ने पात्र दिक्क पनि हुन सक्छ । एक्लो जस्तो पनि हुन सक्छ । घडेरी कति किनिस् ? घर कता बनाइस् ? गाडी कस्तो छ ? छोराछोरी कत्रो स्कुलमा पढ्छन् ? कस्ता लुगा लगाएका छन् ? यस्ता कुराले कसैको मन दुखिरहेको हुन सक्छ । यस्ता प्रश्न गर्नेले तिनको असर पनि वास्ता गरिरहेका हुँदैनन् । तर, यो महत्वपूर्ण सवाल हो । 

परिवार एक हो तर सबै एक होइनन् । सबै सदस्य बराबर रुपमा सक्षम हुन्छन् भन्ने छैन । रुचि र प्राथमिकताहरू फरक फरक हुन सक्छन् । हामीले देशमा, समुदायमा, परिवारमा विविधतालाई स्वीकार गर्न, सम्मान गर्न सिक्नुपर्छ । कसैलाई पनि अनावश्यक दबाब दिनु राम्रो हुन्न । यो जागिर गर् । यो काम गर् । विदेश जा । विदेश नजा । बिहे गर् । अर्काे बिहे गर् । प्रेम नगर् । त्योसँग प्रेम नगर्, जात मिल्दैन, लेभल मिल्दैन । यतिवटा बच्चा पा । छोरा पा । छोरी पा । यता आ । यो सुन् । यो हेर् । त्यो नहेर । यता बस् । उता बस् । 

यी र यस्ता विषयमा नजिककै मान्छेले पनि विचार गरेर मात्र भन्नुपर्छ । यो निजी कुरा हुन् । उमेर पुगेकालाई आफैँ निर्णय गर्न दिनु राम्रो हुन्छ । 

अनावश्यक चियोचर्चाे कसैले पनि कसैको धेरै गर्न राम्रो होइन । सानो उमेरमा एक हदको नियन्त्रण र रेखदेख पनि चाहिन्छ तर सधैँ नियन्त्रण गर्दा परिणाम राम्रो हुँदैन । बढी नियन्त्रणले विस्फोट निम्त्याउने सम्भावना बढी हुन्छ । स्वतन्त्रताले मान्छे परिपक्व हुन्छ । सशक्त बन्दै जान्छ । आत्मनिर्णयको क्षमता बढ्दै जान्छ । गल्ती हुँदा गल्ती गरेँ भनेर भन्न सक्ने वातावरण हुनुपर्छ । अन्यथा झुटो बोल्न प्रेरित गरेको ठहरिन्छ । झुटले अपराध निम्त्याउँछ । 

अहिले मोबाइल फोनको अत्यधिक प्रयोगले मानिसको स्वास्थ्य बिग्रिरहेको छ । शारीरिक र मानसिक स्वास्थ्य मात्र होइन, सम्बन्धहरू बिग्रिरहेका छन् । गफगाफ कम हुँदै गएको छ । यसले आत्मीयता कम गराउँदै लैजान्छ । भौतिक रूपमा हामी बाबुआमासँग भए पनि मानसिक रूपमा मोबाइल फोन र सामाजिक रूपमा सामाजिक सञ्जालमा मात्र छौँ भने त्यसको केही अर्थ छ ? हजारौँ पैसा खर्च गरेर, घरमा एक साता बसेर पनि  बाआमासँग एक घण्टा पनि मज्जाले समय बिताउनु भएन भने तपाईं–हामी कुपुत्र-कुपुत्री नै हौँ । पाकालाई माया गरौँ । सानालाई सम्मान गरौँ । सबैले सबैलाई माया र सम्मान गरौँ । 

असोज–कात्तिकका चाडबाडमा जसरी केही बेर भए पनि भौतिक सम्मिलन भयो, सांस्कृतिक सम्मिलन भयो, त्यो सम्मिलन मानसिक र सामाजिक पनि हुन सकोस् । चाडबाडपछि टाढा भए पनि नजिक बनाइराखोस् । प्रेमी-प्रेमिकालाई दिने समय जस्तै बाआमालाई दिने समय पनि निस्कियोस् । बाआमाले पनि धनसम्पत्ति कमाएको छोरा-छोरीलाई मात्र हैन, सबैलाई बराबर माया र समय दिऊन् । 

परिवार परिवार मिलेर देश, संसार बन्ने हो । परिवारमा हार्दिकता बढोस्, आत्मीयता बढोस् । एक्लोपनले कसैलाई नगाँजोस् । सबैलाई परिवारमा ‘मेरो त कोही छ नि’ भन्ने ढाडस मिलोस् । बाँकी १० महिना पनि असोज–कात्तिक जस्तै उल्लासमय हुन सकून् । 

एजेन्टका कमिसनले उत्पन्न गराएको बृहत् राष्ट्रिय स्वार्थको उपेक्षा

इकागज | कात्तिक ४, २०७९

आगामी डिसेम्बर १ देखि मे अन्तिमसम्म नेपाललाई बिजुली अभाव हुने गर्छ । गत वर्ष भारतमै बिजुलीको हाहाकार भ...

नाटकै हो, नौटंकी नै हो

इकागज | असोज ३१, २०७९

आवधिक चुनावहरू नजिकिदै जाँदा नेता तथा उम्मेदवारहरूका नाटक र नौटंकी पनि साथै देखिन्छन् । मतदाताको मन ...