आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौँ - सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई सदनमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ भने सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरण बाबु पुनलाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनीत गर्ने र गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।