हलिउड/बलिउड

गल्ती गरेको शिल्पाको स्वीकारोक्ति

इकागज | भदौ ११, २०७८

मुम्बई :  अरुका लागि प्रेरणादायी भनाइ पोस्ट गरिरहने बलिउड अभिनेत्री यतिबेला स्वयं यसको खाँचोमा छिन् । श्रीमान् राज कुन्द्राले वयस्क फिल्मको धन्दा गरेको शंकामा प्रहरीले जेल कोचेपछि शिल्पाको इमेजमा ठूलो धक्का लागेको छ ।

प्रहरीसँगको प्रारम्भिक बयानमा भने उनले श्रीमान्ले एडल्ड फिल्म नभइ इरोटिक फिल्म बनाएको बताएकी थिइन् । उनका अनुसार कानुनले कतै पनि इरोटिक फिल्म बनाउन निषेध गरेको छैन । तर, उनको तर्क प्रहरीले पत्याएन ।

राज कुन्द्रालाई अनुसन्धानका लागि भन्दै म्याद थपी थपी थुनामा राखिरहेकै छ । श्रीमान्को धन्दाको बारेमा शिल्पालाई राम्ररी नै जानकारी रहेको पनि वयस्क फिल्म खेलेका मोडलको बयानले पुष्टि गरिसकेको छ । सर्लिन चोपडाले राज कुन्द्राले आफ्नो काम शिल्पाले पनि खुब मन पराएको भन्दै प्रेरित गरेको बयान दिएकी थिइन् ।

 समय घर्कँदै जाँदा भने शिल्पालाई आफू र श्रीमान्बाट गल्ती महसुस भएको हुनुपर्छ । यही कारणले होला उनले इन्स्टा पोस्टमा यही आसय पोस्ट गरेकी छिन् । शिल्पाले सोफियो लोरेनको कोट सेयर गर्दै गल्ती गरेको स्वीकारेकी हुन् । ‘मेड अ मिस्टेक । बट इट्स ओके ।’ उनले पोस्ट गरेकी छिन् । 

शिल्पाले श्रीमान्को काण्ड बाहिर आउनुअघि सुपर डान्सको चौथो च्याप्टर जज गरिरहेकी थिइन् । काण्ड बाहिर आएपछि उनले तीन हप्ता कार्यक्रमबाट छुट्टि लिएकी थिइन् । अहिले भने नियमित सुटिङ गरिरहेकी छिन् ।