हलिउड/बलिउड

हलिउड फिल्मलाई भाउ नदिन कंगनाको आग्रह

इकागज | भदौ २५, २०७८

मुम्बई -  अभिनेत्री कंगना रनावतले भारतबाट हलिउड तथा अंग्रेजी भाषाका फिल्म विस्थापित गर्न आग्रह गरेकी छिन् । ‘थलाइवी’ प्रदर्शनको पूर्व सन्ध्यामा बिहीबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतलाई आत्मनिर्भर बनाउन भारतीय फिल्म उद्योगलाई प्राथमिकता दिनुपर्ने धारणा राखेकी हुन् । 

‘हाम्रो स्क्रिनमा अमेरिकन र अंग्रेजी फिल्मले कब्जा जमाएका छन् । हामीले एक देशको भावनालाई साँच्चिकै हरेक क्षेत्रमा लागू गर्नुपर्नेछ । हामीले यो उत्तर भारत र दक्षिण भारत भनेर छुट्याउन पनि बन्द गर्नुपर्छ । हामीले हाम्रा फिल्ममा मजा लिने बानी बसाल्नुपर्छ चाहे त्यो मलयालम होस् तमिल, तेलगु वा पञ्जाबी,’कंगनाले पत्रकारसँगको साक्षात्कारमा भनेकी छिन् । 

कंगनाले अंग्रेजी फिल्मले जर्मन, फ्रेन्ज र इटालियन फिल्मलाई ध्वस्त गरेको उदाहरण दिँदै भारतमा पनि त्यही अवस्था आउन लागेको बताएकी थिइन् ।  ‘यहाँ पनि त्यही भइरहेको छ । हामी हाम्रै देशको फिल्म हेर्दैनौँ तर जंगलबुक र लायन किंग हिन्दीमा डब गरेर हेर्छौँ । तर हामी मलयालम फिल्मलाई डब गर्ने चुनौती लिन चाहान्नौँ ,’ उनको गुनासो थियो, ‘हामीले हाम्रा मान्छे र हाम्रो उद्योगलाई प्राथमिकतामा राख्नुपर्छ ।’