हलिउड/बलिउड

२६ वर्षपछि फेरि ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ निर्देशन गर्दै आदित्य चोपडा

इकागज | कात्तिक ६, २०७८

मुम्बई - ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ निर्देशन गर्दा आदित्य चोपडा जम्मा २३ वर्ष थिए । कलिलो उमेरमा नै उनले यस्तो फिल्म बनाए जुन भारतीय फिल्म इतिहासकै सबैभन्दा सफल फिल्मको रुपमा दर्ज हुन सफल भयो ।

यही फिल्म रिलिज भएको शुक्रबार २६ वर्ष पूरा भयो । २६ वर्षपछि यसका निर्देशक आदित्य चोपडाले यसलाई फेरि निर्देशन गर्ने भएका छन् । तर शुक्रबार उनले गरेको घोषणाअनुसार आदित्यले यो फिल्मलाई रिमेक गर्न लागेका होइनन् , उनले म्युजिकल ब्रोडवेको रुपमा यसलाई पुनः विश्वका दर्शक माझ प्रस्तुत गर्न लागेका हुन् ।

उनले यही कथा उही भए पनि उनले यसलाई रंगमञ्चमा गीतको माध्यमबाट प्रस्तुत गर्न लागेका हुन् । तर ब्रोडवेको नाम ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ नभई ‘कम फल इन लभ’ रहनेछ ।

आदित्य चोपडाले शुक्रबार एउटा लामो सूचना जारी गर्दै सानो उमेर बुबा यश चोपडाको साथ लागेर लन्डनमा एउटा ब्रोडवे हेर्न पुगेको र यसको शैली देखेर मन्त्रमुुुग्ध भएको र त्यो दिनदेखि नै यो माध्यममा कथा भन्ने सपना साँचेको खुलासा गरेका छन् ।

यही क्रममा उनले टम क्रुजलाई लिएर ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ बनाउन चाहेको तर टम क्रुजसँग काम गर्न सम्भव नभएपछि अहिलेका कलाकार लिएर काम गरेको पनि बताएका छन् । 

उनले तीन वर्षदेखि यसको तयारी गरिरहेको र ब्रोडवेमा एक भारतीय युवतीको विदेश यात्रा र यात्रामा भेटिने विदेशी युवाबीचको प्रेमलाई प्रस्तुत गर्ने बताएका छन् । ब्रोडवे आउँदो वर्ष मञ्चन हुनेछ । ब्रोडवेमा अभिनय गर्ने कलाकार तय नभएको भए पनि संगीत भने विशाल शेखरले तयार गरिरहेको आधिकारिक विज्ञप्तिमा जनाइएको छ ।