संगीत

जातीय विभेदको विपक्षमा सुजनको 'नेपाली हाम्रो जात'

इकागज | जेठ ३२, २०८०

काठमाडौँ - संदेशमुलका गीतसंगीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ ल्याएका छन् । आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक संदेश प्रस्तुत गरेका छन् । ‘गीतसंगीतमार्फत चेतना वृद्धि गर्नु हामी सर्जकको दायित्व पनि हो । त्यहिँ कारणले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन्’, सुजनले भने,‘यसमा मैले जातीय भन्दा पनि वर्गीय विभेद विद्यमान छ भन्ने संदेश दिएको छु ।’ 

उनले सार्वजनिक गरेकोे म्युजिकल फिल्ममा सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको बताएका छन् । ‘हामी जुनसुकै जात भएपनि नेपाली हौँ । गीतमा मैले यहिँ भावलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । जातीय वर्गीकरण गर्नुहुदैन भन्ने हाम्रो आशय हो’, उनले भने । 

गीतमा शब्द, संगीत, परिकल्पना, कथा र निर्देशन सुजनकै रहेको छ । यसमा सुजनसँगै हेमन्त कान्छा रसाईली, राजु परियार र धर्म गन्धर्वको स्वर रहेको छ । सार्वजनिक म्युजिकल भिडियोमा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, तारा बहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वरी बराल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । 

यसमा मुकेश नेपालीको नृत्य निर्देशन, किरण चैसिरको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर, रोनिशा अधिकारीको मेकअप रहेको छ । सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेल निर्माता रहनुभएको ‘नेपाली हाम्रो जात’ डि.आर सुजन नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको छ ।