हिमाल शर्माको चेतावनी : कांग्रेसले काठमाडौँ- ६ मा दम्भ देखाए भोट हाल्दा स्वतन्त्र हुन्छौँ
काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले पार्टीले अन्य क्षेत्रमा गएर उम्मेदवार हुन गरेको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जालबाट शर्माले काठमाडौँ-६ मा प्रतिनिधि सभाको टिकट नपाएपछि माओवादीले अन्य क्षेत्रमा गएर चुनाव लड्‍न गरेको प्रस्ताव अस्वीकार गरेको बताएका हुन् ।
'गठबन्धनमा भागबण्डाको कारण काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधि सभाको लागि मेरो उम्‍मेदवारी रहन सकेन ! यसो भएता पनि यस क्षेत्रमा मेरो राजनीतिक र सामाजिक क्षेत्रको लगाव र सक्रियतामा कुनै हालतमा कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दछु' शर्माले लेखेका छन् 'गठबन्धनको उम्‍मेदवार हुनको लागि अन्य क्षेत्रमा जान गरेको पार्टीको प्रस्तावलाई म आफैले अस्वीकार गरेको हुँ ! यसमा मलाई कुनै दु:ख मनाउ पनि छैन !'
काठमाडौँ- ६ नेपाली कांग्रेसले दम्भ गरे त्यसको परिणाम ठिक नहुने शर्माले चेतावनी दिएका छन् । 'गठबन्धनको केन्द्रीय भागबण्डामा प्रतिनिधी सभामा नेपाली कांग्रेसलाई हामीले स्वीकार गरेपछि पनि यस क्षेत्रको प्रदेश (क) र (ख) दुवैमा गठबन्धनको भावना विपरित कांग्रेसका साथीहरूले दम्भ प्रस्तुत गर्दै उम्‍मेदवारी दिनु भएछ ! समयमै एउटा प्रदेश क्षेत्रको उम्मेदवार फिर्ता गरेर माओवादी केन्द्रका आधिकारिक उम्मेदवार (क)क्षेत्रका रवीन्द्र श्रेष्ठ वा (ख)क्षेत्रका प्रकाश फुँयाललाई सहयोग गरे मात्र क्षेत्र नं. ६ भरी गठबन्धनको सहज सहकार्य बन्न सक्छ ! अन्यथा हाम्रो पार्टी माओवादी केन्द्र क्षेत्र नं ६ ले प्रतिनिधि सभा उम्मेदवारलाई भोट राख्न संस्थागत हिसाबले स्वतन्त्र निर्णय लिन बाध्य हुने छौँ ! चेतना भया !'